काठमाण्डौ । उद्योगीव्यवसायीहरुले कोभिड–१९ का कारण प्रभावित सबै ऋणीहरुको ब्याज मिनाहा गर्नुपर्ने भाग गरेका छन्। 

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको सभापतित्वमा विद्युतीय माध्यमबाट सम्पन्न प्रदेश नं. १ का उद्योगीव्यवसायीसँगको अन्तक्र्रियामा मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले यस्तो माग गरेका हुन्। उनले ब्याज मिनाहा गरिनुका साथै कर्जा भुक्तानीको म्याद थप गरिदिन पनि आग्रह गरेका छन्।

अध्यक्ष मुन्दडाले सरकारद्वारा घोषित लकडाउनको अवधिकालागि बैंकहरुले लिँदै आएका सेवा शुल्क, नवीकरण शुल्क आदि खारेज गरिनुपर्ने माग गरेका छन्। यसका साथै बैंक ग्यारेन्टी, प्रशासनिक आदि शुल्कहरु न्यूनीकरण गरी उद्योगीव्यवसायीहरुको उधारो एवं पुँजी संरक्षण गर्ने स्रोतहरुको उपयोगितामा जोड दिनुपर्ने उनको भाए थियो।

अध्यक्ष मुन्दडाले उद्योगीव्यवसायीका लागि कर्जा र पुनरकर्जा लिने प्रक्रियालाई सरलीकृत र सर्वसुलभ पहुँचको व्यवस्था गरिनुपर्ने एवं पुनरकर्जाका व्यवस्थाहरुलाई सशक्त रुपले कार्यान्वयनमा ल्याइनुपर्ने सुझाव पनि दिएका छन्।

कोभिड १९ को प्रभावका कारण गम्भीर असर परेका एवं बन्द भएका पर्यटन, यातायात, होटल, पोल्ट्री, रिसोर्ट आदि क्षेत्रका लागि विशेष सहुलियतसहित न्यून दरमा कर्जा नवीकरण गरिनुपर्नेमा अध्यक्ष मुन्दडाले जोड दिएका छन्। ‘लकडाउन तथा निषेधाज्ञाका कारण श्रमिकलाई ऋण भुक्तानी गर्न असहज भइरहेकोले निजहरुको कर्जा भुक्तानी तालिकाको पुनरतालिकीकरण एवं ब्याज मिनाहा गरिनुपर्छ’, उनले भने, ‘बिनाकर्जा सञ्चालनमा रहेका उद्योगव्यवसायलाई सम्बन्धित संघसंस्थाको सिफारिसमा न्यूनतम ब्याजदरमा बिनाधितो कर्जाको व्यवस्था गरिनुपर्छ तथा उद्योगीव्यवसायीले लगानीका लागि आफ्नो सम्पत्ति धितो राखेर लिने व्यक्तिगत कर्जाको सीमा बढाइनुपर्छ।’