काठमाण्डौ । एअर इन्डिया खरिद गर्नका लागि टाटा ग्रुपलाई मन्जुरी दिने निर्णयका विषयमा आएका खबरहरु सत्य नभएको भारत सरकारले स्पष्ट पारेको छ। 

भारत सरकारले यस विषयमा सञ्चारमाध्यमहरुमा आएको खबरहरु गलत भएको दाबी गरेको छ। अहिलेसम्म यस विषयमा कुनै निर्णय भइनसकेको बताइएको र यदि कुनै निर्णय भएमा मिडियालाई जानकारी गराइने पनि भारत सरकारले जनाएको छ।

यसअघि ब्लुमबर्गको रिपोर्टमा टाटा ग्रुपबाट एअर इन्डिया खरिद गर्ने प्रस्ताव भारत सरकारले स्वीकार गरेको दाबी गरिएको थियो। भारत सरकारले एअर इन्डियामा रहेको सतप्रतिशत हिस्सेदारी बेच्नका लागि टेन्डर आह्वान गरेको थियो। एअर इन्डियाको दोस्रो कम्पनी एअर इन्डिया एस्याट्सको ५० प्रतिशत हिस्सेदारी पनि यसका साथ बेच्ने निर्णय भारत सरकारले गरेको छ। 

एअर इन्डिया बिक्रीका लागि बनेको कमिटीमा वित्तमन्त्री निर्मला सीतारमण, वाणिज्यमन्त्री पीयूष गोयर र उड्डयनमन्त्री ज्योतिरादित्य सिन्धिया छन्। 

सूत्रहरुका अनुसार एअर इन्डियाको रिजर्भ प्राइस भारु १५ देखि २० हजार करोड रुपैयाँसम्म तय गरिएको थियो। 

ब्लुमबर्गको रिपोर्टअनुसार टाटा ग्रुपले स्पाइस जेटका चेयरम्यान अजय सिंहभन्दा करिब भारु ३ हजार करोडभन्दा बढीको बोलकबोल गरेको थियो। एअर इन्डिया खरिदका लागि बोलकबोल गर्ने अन्तिम समय सप्टेम्बर १५ सम्म थियो। त्यसपछि नै अनुमान गरिएको थियो कि टाटा ग्रुपले एअर इन्डिया खरिद गर्न सक्छ।

यो डिलअनुसार एअर इन्डियाको मुम्बईस्थित हेड अफिर र दिल्लीका एअरलाइन्स हाउस पनि सामेल थियो। मुम्बई अफिसको मार्केट भ्याल्यू भारु १५ सय करोडभन्दा बढीको छ। 

भारी कर्जामा डुबेको एअर इन्डियालाई धेरै वर्षअघिदेखि ने सरकारले बेच्ने निर्णय गरेको थियो। सरकारले सन् २०१८ मा ७६ प्रतिशत हिस्सेदारी बेच्नेका लागि टेन्डर आह्वान पनि गरेको थियो। अहिले सरकारले सतप्रतिशत हिस्सेदारी बेच्ने निर्णय गरेको हो। 

खासमा भारत सरकारले सन् २००० बाटै एअर इन्डियाको ४० प्रतिशत हिस्सा बेच्ने निर्णय लिएको थियो। त्यतिखेर भारत सरकारले एअर इन्डियाको १० प्रतिशत हिस्सा कर्मचारीहरुलाई र १० प्रतिशत सेयर घरेलु वित्तीय संस्थाहरुलाई दिने निर्णय पनि लिएको थियो। 

त्यसयता एअर इन्डिया बेच्ने थुप्रै कोसिस भएका थिए। तर कुनै न कुनै कारण एअर इन्डिया बेच्ने प्रक्रिया अवरुद्ध हुँदै आएको थियो। – एजेन्सी