काठमाण्डौ । मानव जीवनमा विभिन्न वस्तुहरु आवश्यक पर्छन्। आधुनिक जीवनशैली जिउने प्रयासमा मानिसहरुले पुराना वस्तुहरुलाई नजरअन्दाज गरिरहेका हुन्छन्। विरलैले मात्रै आफ्ना पितापुर्खाले प्रयोग गर्ने वस्तुहरुलाई जतन गरेका राखेका हुन्छन्। तर त्यस्ता पुराना वस्तुहरुले कहिलेकाहीँ हाम्रो जीवनलाई नै परिवर्तन गरिदिन्छन्, जसको हामीले कल्पनासम्म गरेका हुँदैनौँ। 

पुराना वस्तुहरुले जीवन कायापलट भएको दृष्टान्त प्रशस्त भेटिन्छन्। अमेरिकामा पनि एउटा यस्तै पुरानो वस्तुले एक व्यक्तिको जीवनमा ठूलो परिवर्तन ल्याइदिएको छ। 

सरकारले प्रदान गर्ने अपांगता भत्ताको भरमा बाँचिरहेका लोरेन क्रिट्जर थकित मन र बेरोजगारी अवस्थाका साथ क्यालिफोनिर्याको एक बोलकबोल कक्ष (अक्सन रुम) मा प्रवेश गर्छन्। प्रवेश गरेको ७७ सेकेन्डपश्चात उनी त्यहाँबाट करोडपतिका रुपमा बाहिरिन्छन्। यसो हुनुको श्रेय उनीसँग भएको ब्ल्यांकेटलाई जान्छ। 

क्रिट्जरको जीवन त्यति बेला सधैँका लागि परिवर्तन भयो। जब उनले घरमा थन्किरहेको एउटा पुरानो पारिवारिक ब्ल्यांकेट भेटे। सन् १८०० तिरको त्यो ब्ल्यांकेट उनको घरमा विगत ७ वर्षदेखि थन्किरहेको थियो। सात वर्षसम्म उनलाई त्यो ब्ल्यांकेटको मूल्य १.५ मिलियन डलर पर्न सक्छ भन्नेसम्म हेक्का थिएन। 

कार दुर्घटनामा एउटा खुट्टा गुमाएका क्रिट्जर क्यालिफोर्नियाको लियोना भ्यालीमा एउटा झुपडीमा बस्ने गर्थे। अहिले भने उनी २ लाख ५० हजार अमेरिकी डलर मूल्यको आफ्नै घरमा बस्छन्। 

पुस्तौँअघिको ब्ल्यांकेटलाई उनले सर्वप्रथम जोन मोरोन अक्सनर्समा लगेका थिए। जहाँ उनलाई यसको मूल्य २ लाख डलरसम्म पर्ने बताइयो। यसको ६ महिनापछि उनले आफ्नो ब्ल्यांकेट क्यालिफोनिर्यामा लिलामीका लागि राखे। जहाँ उनको ब्ल्यांकेट १.५ मिलियन डलरमा बिक्री भयो। ‘घरमा थन्किरहेको पुरानो ब्ल्यांकेटले मलाई वास्तवमै नयाँ जीवन दिएको छ’, क्रिट्जर भन्छन्। 

तर, यो नयाँ जीवनका लागि उनले करसम्बन्धी झमेला र पारिवारिक किचलोजस्ता अनेपेक्षित चुनौतीहरुको सामना गर्नुपर्यो। 

ब्ल्यांकेट महँगो मूल्यमा बिक्री भएको थाहा पाएपछि क्रिट्जरका आफन्तले त्यहाँबाट हिस्सा दाबी गरेका थिए। उनकी बहिनीले मुद्दा हाल्नेसम्मको धम्की दिएकी थिइन्।   

आफ्नो ब्ल्यांकेट बेच्ने कम्पनीका लागि काम गर्ने सीपीएको सल्लाहबाट यथार्थपरक अपेक्षाहरु प्राप्त गरेपछि पनि क्रिट्जर अझै पनि पैसाको मूल्य कति चाँडो घट्न सक्छ भनेर चकित परेका छन्। ‘यो ४०–५० वर्षअघि जस्तो होइन। यदि मैले ५० वर्षअघि १ मिलियन डलर पाएको भए म वास्तवमै धनी हुने थिए’, क्रिट्जर भन्छन्। 

ब्ल्यांकेटको लिलामीबाट पाएको अधिकांश पैसा उनले सेन्ट्रल क्यालिफोर्नियामा दुईवटा घर र कार खरिद गर्न उपयोग गरेका छन्। यसका साथै उनले बोन्ड र सेयरमा समेत लगानी गरेका छन्। क्रिट्जरले इन्स्योरेन्स र सम्पत्ति करका लागि वार्षिक १० हजार डलर खर्च गर्ने गरेका छन्।

अपांगता भत्ता आउन छाडेपछि र क्यालिफोर्नियाको भारी कर तिर्न नसक्ने भए पनि क्रिट्जर दम्पती घर बेचेर सस्तो जीवनयापन गर्न मिल्ने ठाउँमा सर्ने योजना बनाइरहेका छन्।