काठमाण्डौ । कोरोना संक्रमणको रोकथाम र नियन्त्रणमा जुटेको सरकारले सर्वसाधारणहरुको समस्या टिप्न तथा गुनासो सुन्न अर्को कलसेन्टर समेत थपेको छ । 

यसअघि सर्वसाधारणले १११५ मा कल गरेर कोरोनासँग सम्बन्धित सूचना, गुनासा तथा समस्या सरकारलाई भन्न सक्थे । एउटा मात्र कल सेन्टर हुँदा अत्यधिक कल आएपछि त्यसको सहज व्यवस्थापनका लागि अब ११३३ नम्बरको अर्को कल सेन्टर समेत सुचारु गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । 

फोन गर्दा पैसा नलाग्ने यी कल सेन्टरलाई सरकारले २४ सै घण्टा खुल्ला राख्ने विषयमा समेत तयारी थालिएको उनले खुलाए । 

‘कल सेन्टरमा चिकित्सक सेवा पनि राख्ने तयारी गरिरहेका छौ ।’ मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा उनले भने । 

प्रवक्ता डा. देवकोटाले स्वास्थ्यकर्मीहरुको व्यक्तित सुरक्षा सामाग्री(पीपीई) तथा ल्याब्रोटरी विस्तारका लागि आवश्यक सामान लिन आज १२ः३२ मा वाइडबडीको जहाज चीन गएको र त्यसले सामान ल्याएपछि भोलिदेखि नै वितरण थालिने जानकारी दिए । 

धरानमा आजदेखि मात्र परीक्षण
यसैबीच, प्रवक्ता डा. देवकोटाले धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समेत कोरोना संक्रमणको परीक्षण शुक्रबारदेखि नै सुरु हुने बताइए पनि ल्याबको मेसिन जडान तथा व्यवस्थापनमा समय लागेकोले आजबाट मात्र सुरु हुन लागेको जानकारी दिए । ‘हिजैबाट हुन्छ भनेको भएन, आजबाट चाहि सुरु हुन्छ ।’ उनले भने–‘ल्याबका लागि आवश्यक सबै सामान पुर्याइसकिएको छ । सेटअपमा समय लागेछ ।’

उनका अनुसार सरकारले निकट भविष्यमै हेटौडा, पोखरा, नेपालगञ्ज लगायतका क्षेत्रमा पनि कोरोना संक्रमणको जाँच हुने ल्याब स्थापना गर्नेछ ।

घरभित्र नबसे कोरोनाको नेटवर्क ब्रेक हुन्न
यसैबीच, डा. देवकोटाले मन्त्रालयको कल सेन्टरमा धेरै ठाउँबाट संक्रमणको आशंका गरिएका व्यक्ति वा संक्रमितले भेटेका व्यक्ति समेत क्वारेन्टाइनमा नबसी बाहिर डूलिरहेको गुनासो आएको उल्लेख गर्दै नागरिकहरुलाई घरभित्रै बसिदिन आग्रह गरेका छन् । 

‘तपाईले घरभित्र बसेर सरकारलाई होइन, आफैंलाई सहयोग गर्ने हो । आफ्नो परिवार र समुदायलाई जोगाउने उत्तम विकल्प यही नै हो ।’ डा. देवकोटाले भने–‘घरभित्रै सेल्फ क्वारेन्टाइनमा बस्नु नै अहिलेको रोगको नेटवर्क ब्रेक गर्नु हो, यसमा सहयोग गरिदिनुहोस् । केही समस्या भए टोल फ्रि नम्बरमा फोन गर्न सक्नुहुन्छ ।’ 

परीक्षण बढ्दै
यसैगरी, कोरोना संक्रमणको आशंका गरिएकाहरुको परीक्षण समेत सरकारले तीव्र गतिमा अगाडि बढाइरहेको छ । हालसम्म ८७५ वटा नमूनाको परीक्षण भइसकेको र ३२ वटाको परीक्षण भइरहेकाले कुल परीक्षणको संख्या ९०० माथि पुगेको डा. देवकोटाले जानकारी दिए । उनले टेकू अस्पतालमा राखिएका १० मध्ये ६ क्वारेन्टाइनमा रहेका र ४ जनालाई आइसोलेसनमा राखिएको छ । आइसोलेसनमा रहेकामध्ये २ जना संक्रमित छन् । उनीहरुको अवस्थामा सामान्य छ ।