काठमाण्डौ । एकैदिनमा एउटै कम्पनीको १ अर्ब बढी कारोबारको रेकर्ड कायम भएको छ । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल पुनर्बिमा कम्पनीले यस्तो रेकर्ड बनाएको हो । 

बिहीबार नेपाल पुनर्बिमा कम्पनीको १ अर्ब ११ करोड ४० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको हो । 

नेपालको सेयर बजारमा एउटै कम्पनीको एकैदिन यति धेरै कारोबार कहिल्यै भएको थिएन । यसअघि एकैदिन ६५ करोड र ५८ करोडको कारोबार भएको कीर्तिमान कायम थियो । यो कीर्तिमान पनि पुनर्बिमा कम्पनीको नाममै रहेको थियो । यसरी आफ्नै कीर्तिमानलाई तोड्दै पुनर्बिमाले बिहीबार नयाँ कीर्तिमान बनाएको हो । 

यो दिन पुनर्बिमा कम्पनीका ६ लाख ३५ हजार ८४५ कित्ता सेयर किनबेच भयो । 

बजार खुलेलगत्तै मूल्यमा निकै ठूलो गिरावट आए पनि त्यसपछि सम्हालिएर पुनः बन्द हुने बेलामा प्रतिकित्ता २३ रुपैयाँले घटेको थियो ।

आज दोश्रो धेरै कारोबार हुने कम्पनी नेपाल टेलिकम बन्यो । यो कम्पनीको पनि एकैदिन ४२ करोड १८ लाख बढीको कारोबार भयो । नेपाल लाइफ इन्स्योरेन्सको पनि ३० करोड बढीको कारोबार भयो । 

एनटिसीको कारोबार अवधिभर ३ लाख २६ हजार ९८९ कित्ता तथा नेपाल लाइफको १ लाख ५१ हजार ६२१ कित्ता सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।