काठमाण्डौ । अल अर नन्(एओएन)को व्यवस्था नेप्सेको पूर्ण स्वचालित कारोबार प्रणाली(टिएमएस)बाट हटे पनि सोही प्रकृतिबाट चलखेल गर्ने क्रम भने नहटेको देखिएको छ ।

एओएनको सुविधा हटेपछि छटपटिएका केही ठूला लगानीकर्ताले खुलेआम कर्नरिङ गर्ने उद्देश्यले नसुहाउने गतिविधि गरिरहँदा समेत नियामक धितोपत्र बोर्डले भने आँखा चिम्लिएको पाइएको छ । 

पछिल्लो समय बजार शुद्धिकरणका लागि आक्रामक बनेको भनिएको धितोपत्र बोर्डले कर्नरिङको प्रष्ट प्रमाण नै खुलेआम देखिँदा समेत सम्बद्ध व्यक्तिहरुलाई स्पष्टीकरण सोध्ने र छानबिन गर्ने आँट देखाउन सकेको छैन । 

बिहीबार बजारमा यस्तै घटना भयो । खुलेआम कर्नरिङ भएको बलियो प्रमाणप्रति बेवास्ता गर्दा क्षणभरमै त्यो विषयलाई गुपचुप बनाइयो । 

ब्रोकरहरुले सूचना आदानप्रदान गर्ने सामाजिक सञ्जालको ग्रुपमा स्टक ब्रोकर एशोसिएनका अध्यक्ष सन्तोष मैनालीले एउटा अलर्ट म्यासेज पोष्ट गरे ।

जहाँ उनले २० नम्बर ब्रोकरबाट नेपाल इन्स्योरेन्स खरीदका लागि आएको उच्च चापको स्क्रीन सर्ट नै पठाएका थिए । सो स्क्रीन सर्ट पठाएर अध्यक्ष मैनालीले यस्ता बाई अर्डर राख्दा अर्डर राख्ने ब्रोकरहरुले खरीद बापत आउनसक्ने दायीत्वको २५ प्रतिशत अग्रीम पैसा(वा चेक) लिएको छ कि छैन ? अग्रिम २५ प्रतिशत रकम व्यवस्थापनको विषयमा उनले प्रश्न उठाएका थिए । मैनालीको यो फगत प्रश्न मात्र थिएन, उनले एओएन हटेपछि बजारमा सुरु भएको कर्नरिङ खेल र गलत शैलीप्रति ब्रोकरहरु पनि चनाखो बन्नुपर्ने भन्दै सचेत गराएका थिए । 

भएको के थियो ? 
ब्रोकर नम्बर २० बाट विभिन्न व्यक्तिको नाममा कारोबार गर्ने दीपेन्द्र अग्रवालले नेपाल इन्स्योरेन्सको सेयरमा बाईतर्फ १ लाखको दरले पटक–पटक गरी ६ लाख २२ हजार ५०७ कित्ता अर्डर पोष्ट गरेका थिए । त्यसबेला सेलतर्फ १३ हजार २७४ कित्ता मात्र अर्डर पोष्ट भएको थियो ।  उनले ६ लाख बढी कित्ता खरीद गर्ने उद्देश्यले नभई अत्यधिक माग सिर्जना भएको देखाउने उद्देश्यले पोष्ट गरेका थिए । यसलाई अर्को भाषामा भन्दा कर्नरिङ गरेर मूल्य बढाउन खोजिएको थियो । उनले पोष्ट गरेको ६ लाख कित्ताको बाई अर्डर धेरै समयसम्म बसिरह्यो, ब्रोकरले देखे, तर दुर्भाग्य बोर्ड वा नेप्सेका कुनै पनि अधिकारीले देखेनन् । 

‘अग्रवाल लगायतको समूहले यस्ता कम्पनीमा २० लाख कित्तासम्मको बाई अर्डर राख्दै मूल्य बढाउने नयाँ खेल सुरु गरेका छन् ।’ एक स्रोतले भन्यो–‘यो विषयलाई गम्भीरताका साथ हेर्ने हो भने कर्नरिङ भइरहेको प्रमाण सहजै फेला पर्छ । धितोपत्र बोर्डले यस्तो विषयमा चासो दिनुपर्ने थियो ।’ 

रमाइलो के भइदियो भने जब स्क्रीन सर्टसहित ब्रोकरका अध्यक्षले ग्रुपमा अलर्ट म्यासेज पठाए, तब चोर पक्राउ पर्ने डरले २० नम्बर ब्रोकरकै सक्रियतामा हतार–हतार ६ लाखभन्दा बढी कित्ताको अर्डर हटाएर १ लाखमा झारियो । ‘कर्नरिङ गर्ने उद्देश्यले यो काम भएको थियो भन्ने त प्रष्टै भयो नि ।’ स्रोतले भन्यो–‘एओएन हटेपछि यस्तो फट्याई गरी सोझा लगानीकर्तालाई झुक्याउने, फसाउने र बजारमा नक्कली खरीद र बिक्री सिर्जना गर्नेमाथि कडा कारबाही हुनुपर्छ ।’ 

अग्रवाल र बानियाँ: लामो समयदेखि कर्नरिङमा
यसैबीच, दीपेन्द्र अग्रवाल लामो समयदेखि सेयरको कर्नरिङमा लागेका व्यक्ति हुन् । उनी संचालक समिति रहेको एक बीमा कम्पनीबाट समेत गलत ढंगले सेयरमा लगानी गरिएको भेटिएपछि उनी निलम्बनको कारबाहीमा परिसकेका छन् । उनलाई बीमा समितिले संचालकबाट निलम्बनको कारबाही गर्ने आँट गरे पनि सेयर बजारमा उनका कतिपय अबाञ्छित गतिविधि रोक्ने आँट कसैले गर्न सकेको छैन । उनले खुलेआम कर्नरिङ, इन्साइडर ट्रेडिङ र सर्कुलर ट्रेडिङ गरेका प्रशस्तै प्रमाण सहजै उपलब्ध हुने भए पनि बोर्डले छानबिन गर्न र कारबाही गर्न नसकेको ब्रोकरहरु स्वयम् बताउँछन् । 

पछिल्लो समय दीपेन्द्र अग्रवालले आफ्नो नेतृत्वमा एउटा समूह नै बनाएका छन् । सो समूहले भित्री कारोबार गर्दै आएको छ । यो समूहमा दिक्षान्त बानियाँ नामका एक युवा लगानीकर्ता समेत रहेका स्रोत बताउँछ । बानियाँले मात्र सेयर बजारमा अर्ब रुपैयाँभन्दा माथि लगानी गरेका छन् । उनको लगानीको स्रोत, उनले अग्रवालसँग मिलेर गरिरहेको कर्नरिङ, भित्री कारोबार लगायतका विषयमा छानबिन गरी शुद्धिकरणको असली काम सुरुवात गर्न बिजशालाका स्रोत ब्रोकरहरुले बोर्डलाई सुझाव दिएका छन् । 

शुद्धिकरणको नाममा धितोपत्र बोर्ड साना लगानीकर्ता आतङ्कित गर्ने काममा लाग्नुभन्दा यस्ता ठूला खेलाडीमाथि अनुसन्धान गरी कारबाही गर्नुपर्नेमा उनीहरुको जोड छ । 

अग्रवाल र बानियाँ तथा उनीहरुजस्ता ठूला लगानीकर्ताका यस्तै हर्कतहरुका कारण पछिल्लो समय नेपाल स्टक एक्सचेञ्जका अधिकारीहरु समेत हैरान बनेका स्रोत बताउँछ । ‘उनीहरुमाथि कारबाही गर्न नसक्नुको कारण के हो ? उनीहरुका कारण ब्रोकर पनि हैरान छन् । यस्तालाई बोलाएर स्पष्टीकरणसम्म त लिन सक्नुपर्छ नि बोर्डले ।’ स्रोतले भन्यो–‘बजार वा कुनै कम्पनीको मूल्यमा म्यानुपुलेट गरेको सिधैं देखिन्छ । उनीहरुलाई समाउन पनि सजिलो छ । तर बोर्ड कर्नरिङ मात्र भयो भन्छ, कसैलाई समाउन खोज्दैन ? कर्नरिङ बजारमा भइरहेको छ, बोर्डले कहाँ खोजिरहेको छ ?’

अग्रवाल र बानियाँजस्ता केही ठूला खेलाडीमाथि छानबिन गरी कारोबार रोक्कासम्मको काम गर्ने हो भने बजारमा निकै ठूलो शुद्धिकरणको सुरुवात हुने र यसले सर्वसाधारण तथा सोझा लगानीकर्ता डूब्नबाट बच्ने जानकारहरु बताउँछन् । 

(नोट: ब्रोकरका अध्यक्षले पठाएका स्क्रीन सर्ट र अलर्ट नोटिस तथा अग्रवाल र बानियाँबाट भइरहेका भित्री कारोबारसम्बन्धी केही प्रमाण बिजशालासँग सुरक्षित छन् । स्रोतको अनुरोधमा ती स्क्रीनसर्ट तत्काल यहाँ प्रकाशित नगरिएको हो ।)