– अर्जुन तिमिल्सिना

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)को निर्देशनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आगामी साता आइतबारदेखि एओएन अर्थात ‘कि सबै देऊ कि दिँदै नदेऊ’ दुवै बिक्रीतर्फ पनि हटाउने भएको छ।

केही समयपहिले सेबोनकै निर्देशनमा बजारमा चलखेल भएको आंशका गर्दै खरिदतर्फबाट हटाएर बिक्रीतर्फ मात्रै यस्तो सुविधा राखिएको थियो।

योसँगै आफूहरुले उठाउँदै आएको एउटा माग पनि पूरा भएको केही लगानीकर्ताको भनाइ छ। केही लगानीकर्ताले भने एओएन सुविधा हटाइएकोप्रति असन्तुष्टि पोखेका छन्।

नेपाल इन्भेस्टर्स फोरमकी महासचिव दुर्गा तिवारी एओएन सुविको दुरुपयोग भएको बताउँछिन्।  ‘अप्राकृतिक रुपमा खरिदकर्ता खडा भयो भनेर खरिदतर्फ हाटइयो। अहिले बिक्रीतर्फ पनि हटाइएको छ’, उनले भने, ‘मैले त्यहीबेला नै भनेकी थिएँ कि यो दुवैतर्फ हटाउनुपर्छ। अहिले हटाइयो राम्रै भयो। तर, अब ब्रोकर कमिसन, डीपी फीजस्तै दिनभर कारोबारको एक हुनुपर्छ भन्ने हो। यसले लगानीकर्तालाई भार पर्ने काम हुनुहुँदैन। 

सक्रिय लगानीकर्ता एसपी चौलागाईं यो हाम्रो १९ बुँदे मागकै एउटा बुँदा रहेको दाबी गर्छन्। ‘यस विषयमा लामो छलफलपछि सेबोनले नेप्सेलाई  निर्देशन दिएको हो’, उनले भने, ‘हाम्रो माग के छ भने अब छिट्टै टुक्राटुक्रा गरेर सेयर कारोबार भए पनि एकै कमिसन दर हुनुपर्नेछ। यो विषयमा सेवन सकारात्मक रहेको छ। सम्भवतः आगामी साताबाटै यो पनि कार्यान्वयन पनि हुन सक्छ।’ 

अर्का सक्रिय लगानीकर्ता आदित्य शिवाकोटीको  एओएन हटाइएको विषयमा फरक विचार छ। ‘यो सुविधा हट्नु राम्रो होइन। किनकि एक हिसाबले लगानीकर्ताको सुविधा थियो’, उनले भने, ‘एओएनले बजारमा म्यानुपुलेसन हुन्छ नै भन्ने विषय म मान्न सक्दिनँ। कसैले आफूले चाहे ति सेयर किन्न तथा बिक्री गर्न पाउनुपर्छ। यो लगानीकर्ताको अधिकार नै हो।’