काठमाण्डौ । जनकपुरधाममा मुख्य कार्यालय रहेको सहयोगी विकास बैंक लिमीटेडको अवस्था खराब बनेको छ । यो विकास बैंक चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा घाटामा गएको हो । 

बैंकले बुधबार प्रकाशित गरेको वित्तीय विवरण अनुसार समीक्षा अवधिमा १ करोड १ लाख खूद घाटा भएको छ । अघिल्लो वर्षको यही अवधिमा सहयोगी विकास बैंकले १ करोड ५५ लाख खूद नाफा आर्जन गरेको थियो । 

यो अवधिमा बैंकको खूद ब्याज आम्दानी पनि घटेको छ । व्यवसाय बिस्तारमा व्यवस्थापनले ध्यान नदिंदा यस्तो अवस्था सिर्जना भएको हो । अघिल्लो वर्षको पहिलो त्रैमासमा ४ करोड ६४ लाख खूद ब्याज आम्दानी रहेकोमा समीक्षा अवधिमा घटेर ३ करोड २० लाखमा सीमित बन्न पुुगेको छ । 

समीक्षा अवधिमा संभावित जोखिम व्यवस्थापन कोषबाट मात्रै यो बैंकले ४३ लाख फिर्ता ल्याउँदा समेत नाफा कमाउन सकेन । कर्मचारी खर्च र अन्य संचालन खर्चमा सामान्य मात्र बढोत्तरी हुँदा समेत कम्पनी घाटामा जानुुले संस्थाको दयनीय अवस्था दर्शाउँछ । 

समीक्षा अवधिमा सहयोगी विकास बैंकले ३ अर्ब ३६ करोड निक्षेप संकलन गरी २ अर्ब ७१ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष २ अर्ब ९१ करोड निक्षेप संकलन गरी २ अर्ब ५७ करोड कर्जा परिचालन गरेको थियो । अघिल्लो वर्षको पहिलो त्रैमाससम्म १५ करोड रुपैयाँ रहेको रिजर्ब कोषमा समीक्षा अवधिसम्म १९ करोड ९७ लाख रुपैयाँ जम्मा भएको छ । 

अघिल्लो वर्षको पहिलो त्रैमासमा १.३६ प्रतिशत रहेको निस्क्रिय कर्जा बढेर समीक्षा अवधिमा २.८२ प्रतिशत पुुगेको छ । यो अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १४७.०४ रुपैयाँ, प्रति सेयर कुल सम्पत्तिको मूल्य ९४९.५४ रुपैयाँ र तरलता अनुपात ३६.०५ कायम भएको छ । कम्पनी घाटामा भएको प्रतिसेयर आम्दानी हुनसकेन ।