काठमाण्डौ । नेपालको धितोपत्र दोस्रो बजारमा सेयर कर्नरिङ गर्ने र मूल्य बढाउने खेल चल्दै आएको छ। यो बजारमा पुरानै रोग हो।

यही फोहोरी खेलबाटै कमजोर वित्तीय सूचक भएका कम्पनीहरुको सेयरमूल्य खुलेआम बढाइन्छ। यस्ता कम्पनीहरुको सेयर आपूर्ति निकै कम हुने र त्यसैको फाइदा उठाउँदै गिरोहहरुले सेयर कर्नरिङ गरेर दिन दुईगुणा रात चौगुणाको हिसाबले मूल्य बढाउँदा पनि नियमनकारी निकाय मौन बसिरहेको देखिन्छ। जसका कारण यस्ता गिरोहको मनोबल झनै बढेको देखिन्छ। 

पछिल्लो समय चन्द्रागिरी हिल्सको सेयरमा यस्तै प्रवृत्ति हावी भएको देखिन्छ। त्यही भएर पछिल्लो ३३ दिनदेखि यो कम्पनीको सेयरमूल्य लगातार बढिरहेको छ भने झन्डै २ सातादेखि दैनिकजसो सर्किट लागिरहेको छ। 

धितोपत्र दोस्रो बजारमा न्यूनतम मूल्यमा कारोबार खुलेको यो कम्पनीको सेयरमूल्य आज प्रतिकित्ता २ हजार ७९ रुपैयाँ पुगेको छ। आज पनि यो कम्पनीको सेयरमूल्यमा १० प्रतिशत बढेको छ। 

यो कम्पनीको सेयरमूल्यमा खुलेआम कर्नरिङ भइरहेको प्रस्ट छ तर नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जले छानबिनमा खासै चासो देखाएका छैनन्। 

केही निश्चित लगानीकर्ताहरुको समूहले सुनियोजित ढंगले बजारमा चन्द्रागिरी हिल्सको सेयरमा उच्च माग सिर्जना गरी मूल्य बढाउने खेलमा लागेका छन्। 

बजार मूल्यमा दैनिकजसो उछाल आइरहेको यो कम्पनीको दोस्रो बजार मूल्यलाई कम्पनीको अहिलेसम्मको वित्तीय विवरण तथा सोही कम्पनीले प्रक्षेपण गरेको वित्तीय विवरणले समेत पुष्टि गर्दैन। न आकर्षक वित्तीय विवरण न त कुनै धमाका हुने कुनै सम्भावित स्किम नै। बिनाकारण निश्चित समूहले चन्द्रागिरी हिल्सको सेयरलाई मज्जैले खेलाउने काम गरिरहेको देखिन्छ। 

चन्द्रागिरीको वित्तीय विवरण सरसर्ती हेर्ने हो भने अहिले दैनिकजसो पोजिटिभ सर्किट लाग्नु पछाडि बलियो आधार देखिन्न। जस्तो कम्पनीको २०७६/७७ मा प्रतिसेयर आम्दानी रु. १२.६७ ले ऋणात्मक थियो । चालु आर्थिक वर्षमा समेत कम्पनीको इपीएस रु. ४ मात्र हुने प्रक्षेपण गरिएको छ। प्रतिसेयर नेटवर्थ अघिल्लो वर्ष ८४.८८ रुपैयाँ रहेकोमा यो वर्ष ९०.६९ रुपैयाँ मात्र हुने प्रक्षेपण गरिएको छ।

नेटवर्थमा औसत प्रतिफल अघिल्लो आर्थिक वर्ष  १४.९३ प्रतिशतले ऋणात्मक थियो भने चालु आर्थिक वर्षमा ४.४१ प्रतिशत मात्र हुने प्रक्षेपण गरिएको छ। १ अर्ब ५३ करोड सेयर पूँजी रहेको यो कम्पनीको चालु आर्थिक वर्षको अन्तसम्म ६ करोड १३ लाख रुपैयाँ हाराहारीमा खूद नाफा हुने प्रक्षेपण स्वयम् कम्पनीको देखिन्छ। नाफा रकम सबै लाभांशको रुपमा बाँड्दा पनि कम्पनीले यो वर्ष लगानीकर्तालाई ४ प्रतिशतको मात्र रिटर्न दिनसक्छ। यति न्यून रिटर्न दिने कम्पनीको मूल्य दैनिक रुपले पोजिटिभ सर्किट लाग्नुले समेत दोश्रो बजारमा कुन हदसम्मको खेल हुन्छ भन्ने कुरा प्रष्टिन्छ। 

होटल तथा पर्यटन समूहअन्तर्गतको यो कम्पनीको यो प्रक्षेपित आम्दानी तथा नाफा कोभिडको संक्रमण पुनः बढेसँगै प्रभावित हुनसक्छ। तर, यस्ता विषयमा लगानीकर्ताले ध्यानै नै दिएका छैनन्। बरु आँखा चिम्लिएर कमजोर वित्तीय विवरण र सूचक भएका र कोरोना नियन्त्रणका लागि लकडाउनसम्मको असहज परिस्थिति दोहोरिएको खण्डमा निकै ठूलो प्रभाव पर्ने यही कम्पनीको सेयरमा लगानी खन्याइरहेका छन्। 

यो कम्पनीको विगत ३ वर्षको नेटवर्थमा भएको प्रतिफल शून्य प्रतिशत छ। यो कम्पनीको जगेडा कोष चालु आर्थिक वर्षको अन्तसम्ममा १४ करोड २७ लाखले ऋणात्मक हुने स्वयम् कम्पनीको प्रक्षेपण देखिन्छ । तर, यति कमजोर कम्पनीमा लगानीकर्ता भने छोटो समयमै मोटो रकम कमाउने सपना देख्दै अपहत्ते गरिरहेका छन्। 

यही समूहमा सूचीकृत अन्य कम्पनीको सेयरमूल्य र उसको वित्तीय विवरणको तुलना गरेर हेर्ने हो भने ती कम्पनी लगानीको हिसाबले निकै कम जोखिमपूर्ण देखिन्छन्। 

प्राविधिक तथा आधारभूत पक्ष

मूल्य उचालिएको यो कम्पनीको प्राविधिक तथा आधारभूत दुवै पक्षलाई प्रश्न चिह्न खडा गरिदिएको छ। 

प्रविधिक विश्लेषणमा पनि बोलिंगर ब्यान्डलाई आधार मान्दा यो कम्पनीको सेयरमूल्यले अप्पर ब्यान्डलाई क्रस गरेर माथि जान थालेको र साँघुरिँदै गएकोले आगामी दिनको केही कारोबारबाट करेक्सन अर्थात मूल्य तल झर्ने प्रबल सम्भावना देखाउँछ। प्राविधिक विश्लेषणकै अर्को औजार आरएसआई पनि १०० मा नै पुगेकोले करेक्सनको सम्भावाना उत्तिकै देखिन्छ।