काठमाण्डौ। पछिल्लो १ वर्ष नेप्से परिसूूचक ७३.९ अंकले घटेको छ। 

राष्ट्र बैंकले आज आर्थिक वर्ष २०७८–७९ को वार्षिक तथ्यांकले प्रकाशित गर्दै २०७ असार मसान्तमा २८८३.४ रहेको नेप्से सूचकांक २०७९ असार मसान्तमा २००९.५ कायम भएको जनाएको हो। २०७९ असार मसान्तमा धितोपत्र बजार पुँजीकरण २८ खर्ब ६९ अर्ब ३४ करोड कायम भएको छ। २०७८ असार मसान्तमा बजार पुँजीकरण ४० खर्ब १० अर्ब ९६ करोड रहेको थियो।

राष्ट्र बैंकका अनुसार २०७९ असारमा नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीहरुको संख्या २३४ पुगेको छ। सूचीकृत कम्पनीहरुमध्ये १४६ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ५१ जलविद्युत कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ६ लगानी कम्पनी, ५ होटल, ४ व्यापारिक संस्था र ३ अन्य समूहका रहेका छन्। २०७८ असारमा सूचीकृत कम्पनीहरुको संख्या २१९ रहेको थियो।

सूचीकृत कम्पनीहरुमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ६७.३ प्रतिशत रहेको छ। त्यसैगरी जलविद्युत कम्पनीको हिस्सा ११ प्रतिशत, लगानी कम्पनीको ६.९ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ४.३ प्रतिशत, होटेलको हिस्सा १.६ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.४ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ८.५ प्रतिशत रहेको छ।

नेपाल स्टक एक्सचेन्जमा २०७९ असारसम्ममा सूचीकृत ६ अर्ब ७७ करोड सेयरको चुक्तामूल्य ६६७ अर्ब ७५ करोड रहेको छ भने आर्थिक वर्ष २०७८–७९ मा ९ अर्ब ५० करोडबराबरको विकास ऋणपत्र, ५५ अर्ब ८९ करोडबराबरको बोनस सेयर, ५३ अर्ब २२ करोडबराबरको डिबेन्चर, २३ अर्ब २ करोडबराबरको साधारण सेयर, ११ अर्ब ९७ करोड बराबरको हकप्रद शेयर र ३ अर्ब ७५ करोडबराबरको म्युचुअल फण्ड गरी कुल २३७ अर्ब ६१ करोडबराबरको थप धितोपत्र सूचीकृत भएका छन्।

यस्तै समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले १२ अर्ब ४८ करोडबराबरको डिबेन्चर, ७ अर्ब २० करोडबराबरको साधारण सेयर, ६ अर्ब ९० करोडबराबरको म्युचुअल फन्ड र ४ अर्ब ७९ करोडबराबरको हकप्रद सेयर गरी कुल ३१ अर्ब ३७ करोड बराबरको धितोपत्र सार्वजनिक निष्कासनका लागि अनुमति दिएको छ।