काठमाण्डौ । बजारमा उछाल आएसँगै यसपटक पनि लगानीकर्ताको आकर्षण ‘सेतो सुन’ भनेर चिनिने जलविद्युत कम्पनीहरुमा नै बढेको छ। 

अहिले सामाजिक सञ्जालदेखि ब्रोकर हाउसहरु सबैतिर जलविद्युत कम्पनीकै चर्चा बढी सुनिन्छ। 

यो साताभरको टप १० गेनरमा ९ वटा त जलविद्युत कम्पनीहरु नै छन्। जसअन्तर्गत यो साताको तीन दिनको कारोबारमा लगातार सर्किट लागेर ग्रीन भेन्चर्सका लगानीकर्ता मालामाल भएका छन्। यो एकै साताको अवधिमा ग्रीन भेन्चर्सको सेयरभाउ २९ प्रतिशतले उकालो लागेको छ। 

यो साता पिपुल्स पावरका सेयरधनीहरु पनि मालामाल भएका छन्। यो कम्पनी सेयरभाउ लगभग २८ प्रतिशतले बढेको छ। 

त्यस्तै बाराही हाइड्रोपावरका लगानीकर्ताले २२ प्रतिशत, हिमालयन हाइड्रोपावरका लगानीकर्ताले २१ प्रतिशत, आदर्श लघुवित्तका लगानीकर्ताले पनि २१ प्रतिशत, अप्पर हेवा खोला हाइड्रोका लगानीकर्ताले १८ प्रतिशत, बलेफी हाइड्रोका लगानीकर्ताले पनि १८ प्रतिशत, अप्पर सोलु हाइड्रोका लगानीकर्ताले १६ प्रतिशत, हिमालयन ऊर्जाका लगानीकर्ताले १५ प्रतिशत र श्वेत–गंगा हाइड्रोपावरका लगानीकर्ताले १३ प्रतिशत नाफा कमाउन सफल भएका छन्।