काठमाण्डौ । भारतको अडानी ग्रुपको सेयर मूल्यमा आएको पहिरोका कारण यो समूहका प्रमुख गौतम अडानीको नेटवर्थमा एक हप्ताभित्र १४.१ अर्ब डलर बराबरको भारी गिरावट आएको छ । 

अडानी समूहमा लगानी गर्ने विदेशी लगानीकर्ताहरुको विषयमा आएको एउटा खबरका कारण गत हप्ता अडानी समूहका कम्पनीहरुको सेयरमा भारी गिरावट आएको मिडिया रिपोर्टमा जनाइएको छ । 

अघिल्लो शुक्रबार जब सेयर बजार बन्द भएको थियो, तब गौतम अडानीको कुल नेटवर्थ ब्लुमबर्ग बिलेनियर इण्डेक्स मुताबिक ७७ अर्ब डलर रहेको थियो । तर, यो साताको शुक्रबार सेयर बजार बन्द भएपछि अडानीको कुल नेटवर्थ घटेर ६२.९ अर्ब डलरमा सीमित बन्न पुगेको छ ।

यो साता सोमबारदेखि शुक्रबारसम्म अडानी ग्रुपका कम्पनीहरुको सेयर मूल्यमा अवस्था निकै खराब रहेको रिपोर्टमा जनाइएको छ । 

सोमबार नेशनल सेक्युरिटिज डिपोजिटरी लिमीटेडले तीन विदेशी फण्डको अकाउण्टमाथि रोक लगाएको खबर सार्वजनिक भएको थियो । ती फण्डहरुले अडानी ग्रुपका विभिन्न कम्पनीहरुमा ४३ हजार ५०० करोड भारु लगानी गरेका छन् । यही कारण अडानी ग्रुपको सेयरमा अचाक्ली गिरावट आएको हो । 

हप्ताभर अडानी ग्रुपको कयौं सेयरमा लोअर सर्किट लागेको छ । अडानी पोर्टस् एण्ड स्पेशल इकोनोमिक जोनको सेयर एक हप्ताको अवधिमा १४४ रुपैयाँले घट्यो । अडानी इन्टरप्राइजेजको सेयरमूल्य १२२ रुपैयाँ, टान्समिसनको ३६२ रुपैयाँ प्रतिकित्तामा गिरावट आयो । अडानी पावरको सेयर मूल्य एकहप्तामा ३४ रुपैयाँ, अडानी टोटल ग्यासको मूल्य ३६७ रुपैयाँ तथा अडानी ग्रीन इनर्जीको मूल्य १६४ रुपैयाँले गिरावट आयो । 

योसँगै गौतम अडानी एशियाको दोश्रो धनी व्यक्ति समेत रहेनन् । उनी अब एशियाको तेश्रो धनी व्यक्तिको रुपमा सीमित बन्न पुगेका छन् । अडानीको सेयर मूल्यमा भारी गिरावटसँगै चीनका कारोबारी झोङ सानासान फेरि एशियाको दोश्रो धनाढ्यको रुपमा उक्लिएका छन् ।