काठमाण्डौ । सेयरमूल्यमा लगातार गिरावट आएपछि भारतको नेसनल स्टक एक्सचेन्जले अडानी समूहका तीन कम्पनीलाई एडिसनल सर्भिलेन्स मेजर फ्रेमवर्क (एएसएम) सूचीमा राख्ने निर्णय गरेको छ। 

अंग्रेजी अखबार द इकोनोमिक टाइम्समा प्रकाशित रिपोर्टका अनुसार अडानी समूहको अडानी इन्टरप्राइजेज, अडानी पोर्ट र अम्बुजा सिमेन्टको नाम एएसएम सूचीमा समावेश गरिएको हो। यो निर्णय आज शुक्रबारदेखि लागू हुनेछ।

एएसएम सूचीमा सेयरमूल्य धेरै अस्थिर रहने ती कम्पनीहरु छानबिनका लागि राखिन्छ। एएसएम फ्रेमवर्कको सूचीमा कम्पनीहरु राख्नु भनेको लगानीकर्ताहरुका लागि चेतावनीजस्तै हो। यसले लगानीकर्तालाई ती कम्पनीहरुको सेयरमूल्यमा अप्रत्याशित उतार–चढावका बारेमा चेतावनी दिन्छ।

बजारलाई सम्भावित नोक्सानीबाट जोगाउन यी सेयरको कारोबारसम्बन्धी केही नियमहरु तोकिएको छ। ट्रेडिङलाई पनि १०० प्रतिशत अग्रिम मार्जिन चाहिन्छ। यसले छोटो बिक्रीमा केही अंकुश लगाउनेछ।

यो कदम पछाडिको सबैभन्दा ठूलो कारण अडानी समूहको सेयरमा भइरहेको समाचारको प्रभावलाई कम गर्नु हो। अब नेसनल स्टक एक्सचेन्ज (एनएसई)ले पनि यी सेयरमा निगरानी बढाउने भएको छ।

फ्रेमवर्कको बारेमा एनएसईले आफ्नो आधिकारिक वेबसाइटमा सूचित गरेको छ कि कम्पनीहरुलाई मूल्य, भोल्युम भिन्नता, स्टक उतार–चढ़ाव अनुगमन गर्न अतिरिक्त निगरानी उपायहरुमा राखिएको छ। यससँगै धितोपत्र बजारले एएसएममा कम्पनी राख्ने काम अनुगमनका लागि भएको र त्यसलाई सम्बन्धित कम्पनी तथा निकायलाई कारबाही मानिन नहुने पनि स्पष्ट पारेको छ। 

यसैगरी अंग्रेजी पत्रिका बिजनेस स्ट्यान्डर्डमा प्रकाशित रिपोर्टका अनुसार भारतीय रिजर्भ बैंक (आरबीआई)ले वाणिज्य बैंकहरुलाई सम्भावित जोखिमबाट जोगाउन अडानी समूहलाई दिइएको ऋणको जानकारी मागेको छ।

अमेरिकी सर्ट सेलर रिसर्च फर्म हिन्डनबर्गको प्रतिवेदनपछि अडानी समूहको सेयरमा लगातार गिरावट आएपछि केन्द्रीय बैंकले यस्तो कदम चालेको हो। अखबारले लेखेको छ कि बैंकरहरुका अनुसार बिहीबार आरबीआईले बैंकहरुलाई गत ३१ जनवरी सम्ममा अडानी समूहलाई कति ऋण दिइएको छ भनेर नियामक बैंकलाई विस्तृत जानकारी दिन भनेको थियो।

एउटा ठूलो बैंकका एक अधिकारीले बिजनेश स्ट्यान्डर्डलाई भने, ‘हामीले बुधबार आरबीआईलाई यो जानकारी बुझाएका छौँ।’

ब्लुमबर्गको एक रिपोर्टले देशको सबैभन्दा ठूलो बैंक स्टेट बैंक अफ इन्डियाले अडानी समूहलाई मात्र २१ हजार करोड रुपैयाँ ऋण दिएको खुलासा गरेको छ। यसमध्ये बैंकको विदेश शाखाबाट २० करोड ऋण दिइएको छ।

मिडिया रिपोर्टका अनुसार अर्को सरकारी बैंक पञ्जाब नेसनल बैंकले अडानी समूहलाई ७ हजार करोड ऋण दिएको छ।

कोलकाताबाट प्रकाशित अखबार द टेलिग्राफले आफ्नो पहिलो पृष्ठको समाचारमा लेखेको छ कि एफपीओ फिर्ता लिएपछि पनि बिहीबार अडानी समूहको सेयर रिकभर हुने नाम लिइरहेको छैन।

गत हप्ता अडानी समूहको बारेमा विवादास्पद रिपोर्ट बाहिर आएदेखि नै अडानीले १०० अर्ब डलर घाटा व्यहोरेको छ।

बीएसईमा अडानी इन्टरप्राइजेज २६.५ प्रतिशतले घटेर भारु १५६४.७० मा झरेको छ। जसको अर्थ एफपीओको फ्लोर मूल्य भारु ३११२ बाट सेयरको मूल्य आधा भएको छ।

समूहका अन्य कम्पनीको सेयर पनि तीव्र गतिमा ओरालो लागेको छ। अडानी ट्रान्समिसन, अडानी टोटल ग्यास र अडानी ग्रीन इनर्जी सबैको सेयर १० प्रतिशतले घटेको छ। अडानी पोर्टले ६.१३ प्रतिशत घाटा व्यहोरेको छ। अडानी विल्मर, एनडीटीभी, अडानी पावरको सेयर ५ प्रतिशतले घटेको छ।

अमेरिकाको रिसर्च कम्पनी हिन्डनबर्गले जनवरी २४ मा एक प्रतिवेदन जारी गर्दै अडानी समूहको सेयर ओभरभ्यालुएड भएको दाबी गरेको थियो। यसका साथै अडानी समूहमाथि अनियमितताका धेरै आरोप लगाइएको छ। त्यसपछि अडानी समूहले बजारमा ठूलो घाटा व्यहोर्दै आएको थियो।

सोही कारणले अडानी समूहले पूर्ण रुपमा सब्सक्राइब्ड भएको आफ्नो भारु २० हजार करोडको एफपीओ फिर्ता लिएको थियो। –एजेन्सी