काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ १७ महिनाकै उच्च विन्दुमा पुगेको छ । अमेरिकी डलरको भाउ तीनवर्षकै सस्तो भएपछि सुनको भाउमा उछाल आएको हो । 

समाचार  एजेन्सी रोयटर्सका अनुसार सुनको भाउ सन् २०१६ अगस्टपछिकै उच्च कायम भएको हो । बिहीबार सुनको भाउ प्रति औंस १३६१.१० डलरको उचाईमा पुगेको छ । सन् २०१६ अगस्ट ५ मा सुनको भाउ प्रति औंस १३६१.८७ डलरको  उचाईमा थियो ।

समाचार अनुसार डलरको भाउमा भारी गिरावट आएसँगै यसले सुन हुनेहरुलाई राहात दिएको हो । डलरको भाउ घटेसँगै यसले सुन लगायतका वैकल्पिक उपकरणहरुमा लगानी गर्नेहरुलाई आकर्षित गरेको विज्ञहरुले बताएका छन् ।

विज्ञहरुले सुनको भाउ निकट भविष्यमै प्रति औंस १३८१ डलरको उचाईमा पुग्ने प्रक्षेपण गरेका छन् ।

घरेलु बजारमा पनि उच्च
घरेलु बजारमा समेत सुनको भाउ उच्च विन्दूमा पुगेको छ । बिहीबार सुनको भाउ माघ महिनाकै उच्च विन्दुमा पुगेको छ । यो दिन सुन प्रतितोला ५७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारको तुलनामा सुनको भाउमा एकैदिन ६०० रुपैयाँको  बढोत्तरी भएको हो । बुधबार सुन प्रति तोला ५७ हजार २ सय रुपैयाँको विन्दूमा थियो ।

पुस र माघसम्मको अवस्था हेर्दा सुनको भाउमा ४० दिनको अवधिमा प्रति तोलामा ३५०० रुपैयाँले बढिसकेको छ । 

सुनसँगै चाँदीको भाउ समेत बढेको छ । बिहीबार चाँदी प्रतितोला ७६५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारसम्म चाँदीको भाउ प्रतितोला ७५० रुपैयाँमा सीमित थियो ।