काठमाण्डौ । नेपालको इतिहासमै सबैभन्दा कम कार्यदिन अर्थात ६५ दिनमै मर्जर सम्पन्न गरी एकीकृत कारोबार सुरु गरेका साबिक एनसीसी बैंक र कुमारी बैंकका अध्यक्षहरुले लगानीकर्ताहरुले अब यसअघिको भन्दा आकर्षक रिटर्न पाउने सार्वजनिक घोषणा गरेका छन् । 

एनसीसी र कुमारी मर्जरपछिको संयुक्त कारोबार समारोहलाई उद्घाटन गर्दै साबिक एनसीसी बैंकका अध्यक्ष उपेन्द्रकेशरी न्यौपाने र कुमारी बैंकका अध्यक्ष अमिरप्रताप राणाले त्यस्तो घोषणा गरेका हुन् ।

उनीहरुले यो वर्ष एनसीसी र कुमारी बैंकले घोषणा गरेको लाभांशभन्दा एकीकृत भई बलियो बनेको कुमारी बैंकको लाभांश अझ आकर्षक हुने उद्घोष गरे । 

‘अहिले बैंकहरुको मुद्दती निक्षेपमै पैसा राख्दा समेत १२ प्रतिशतमाथिको रिटर्न पाइन्छ । अब मर्जरपछि बनेको कुमारी बैंकले आफ्नो लगानीकर्तालाई त्यति मात्र रिटर्न दिएर हुँदैन । १२ प्रतिशतभन्दा बढी रिटर्न पाउने गरी म्यानेजमेन्टले काम गर्नेछ। र, यसमा सञ्चालक समितिले आवश्यक सबैखाले सहयोग गर्नेछ ।’ एकीकृत कुमारी बैंकको सञ्चालक समितिका अध्यक्ष समेत चयन भएका राणाले भने–‘म साथीहरुलाई पहिलाभन्दा आकर्षक रिटर्न दिने गरी काम गर्न आग्रह गर्छु । त्यसका लागि सञ्चालक समितिले उठी उठी बैठक बस्नुपर्छ वा आकस्मिक कुनै निर्णय गर्नुपर्छ भने पनि तत्काल हुनेछ ।’ 

उनले एकीकृत कुमारी बैंक नाफा, चुक्तापूँजी तथा विजिनेशको आकारको हिसाबले अब देशको चौथो बलियो बैंक बनेको उल्लेख गर्दै ३–४ वर्षभित्रमा नम्बर वान बन्ने गरी काम थाल्न समेत निर्देशन दिए ।

‘हामी सबै वित्तीय सूचकहरुमा नम्बर वान बन्नेछौं । कुमारी बैंकको सञ्चालक समितिले रिजल्ट आउने गरी काम गर्न प्रत्येक पल खबरदारी गरिरहेको हुनेछ ।’ राणाले भने–‘हामीलाई कुरा होइन, रिजल्ट चाहिन्छ । प्रत्येक त्रैमासमा प्रकाशित हुने वित्तीय विवरण चित्तबुझ्दो हुनुपर्छ ।’ 

एकीकृत कारोबार शुभारम्भ समारोहलाई सम्बोधन गर्दै तत्काली एनसीसी बैंकका अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेले पनि यो वर्ष दुवै बैंकले अलग–अलग वितरण गरेको लाभांशभन्दा बढी रिटर्न आउने गरी काम गरे मात्र मर्जरको औचित्य पुष्टि हुने बताए । ‘पहिला भन्दा रिटर्न क्षमता घट्यो भने यो मर्जरको औचित्य पुष्टि हुनेछैन ।’ न्यौपानेले भने–‘म्यानेजमेन्टका साथीहरुले यही कुरालाई ध्यानमा राखेर काम गर्नुहोला । यसमा हाम्रो आवश्यक सबै सहयोग हुनेछ ।’ 

उनले पनि आगामी दिनमा एकीकृत कुमारी बैंक बलियो र रिटर्न दिने हिसाबले समेत ‘टप थ्री बैंक’मा पर्ने उद्घोष गरे । 

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा एकीकृत कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले पनि विगत भन्दा आकर्षक रिटर्न दिने गरी काम गर्ने र कुमारी बैंकलाई बलियो वित्तीय संस्थाको रुपमा स्थापित गर्ने उद्घोष गरे ।