कठमाण्डौ । मंगलबार सुनको भाउ प्रति तोलामा एकहजार रुपैयाँले बढेको छ । सोमबार फाइन गोल्ड प्रति तोला ५५ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ मंगलबार बढेर ५६ हजार ५ सय कायम भएको हो ।  

अन्तर्राष्ट्रिय क्षेत्रको राजनीतिक वातावरण बिग्रिएका कारण विगत डेढ महिनाको अवधिमा सुनको मूल्य घरेलु बजारमा प्रति तोलामा ३ हजार रुपैयाँले बढिसकेको छ । साउन १ गते प्रति तोला ५३ हजार ५ सयमा सुन किनबेच भएको थियो ।

सुनसँगै चाँदीको भाउ पनि बढेको छ । सोमबारसम्म प्रति तोला ७ सय ५५ रुपैयाँमा कारोबार भइरहेको चाँदीको भाउ मंगलबार बढेर प्रति तोला ७ सय ७० रुपैयाँको उचाईमा पुुगेको छ । साउन १ गते चाँदीको भाउ प्रति तोला ७ सय १५ मात्र थियो । डेढ महिनाको अवधिमा चाँदीमा प्रति तोला ५५ रुपैयाँ भाउ बढिसकेको छ । 

यस्तै, अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ५ महिनाकै उच्च विन्दूमा छ । अन्तर्राष्ट्रिय क्षेत्रका कमोडिटी एक्सपर्टहरुले सुनको पक्षमा यस्ता अन्तराष्ट्रिय तत्व, कारण र परिवेश विकास भएका छन्, जसका कारण आउने दिनमा अन्तराष्ट्रिय बजारमा सुनको मूल्यले २ वर्षकै उच्च विन्दूको रेकर्ड समेत तोडिदिनसक्ने दाबी गरेका छन् । यही अवस्था रहे निकट भविष्यमै सुनको नेपाली मूल्य प्रतितोला ५८ हजार माथि पुुग्नसक्ने पनि कतिपयको प्रक्षेपण छ । 

कतिसम्म महंगो होला ?
बितेका केही महिनाको कुरा गर्ने हो भने अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रति औंस १२०० डलरदेखि बढेर १३०० डलरसम्म पुुगिसकेको छ । अहिले यो मूल्यमा सामान्य गिरावट आएको छ । तर, आगामी दिनमा पुनः सुनको मूल्यले प्रति औंस १३ सय डलरको स्तर ब्रेक गर्यो भने त्यसपछि भने प्रति औंस १३७५ डलरको उचाईसम्म पुुग्नसक्ने आँकलन गरिएको छ । केही छोटो समयका लागि नै भए पनि अन्तराष्ट्रिय बजारमा सुनको मूल्य १३५० माथि जानसक्नेमा धेरै विज्ञहरुको एकमत छ । 

अन्तराष्ट्रिय तनावमा किन बढ्छ सुनको मूल्य ?
विज्ञहरुका अनुसार लगानीकर्ताको जोखिम बहन गर्ने क्षमतामा परिवर्तन आएको छ । ग्लोबल टेन्सन(तनाव)को माहौलमा सेयर बजारमा अनिश्चितताको बादल मडारिन थाल्छ र लगानीकर्ताले इक्वीटीको साटो सुनमा लगानी बढाउन चाहन्छन । विगत केही वर्षहरुको तथ्यांकले यो पनि पुष्टि गरेको छ कि सुनमा लामो समयसम्म गरिने लगानीले सधैं राम्रो रिटर्न नै दिएको छ । यहीकारण पछिल्लो समय अमेरिका र उत्तर कोरियाबीच तनाव बढेकै कारण डेढ एकमहिनाको अवधिमा सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमा ७ प्रतिशतले वृद्धि भइसकेको छ ।