काठमाण्डौ । पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीमा लगानीकर्ता अभ्यस्त बन्न थालेपछि नेप्सेमा सर्वाधिक ६ अर्ब बढीको कारोबार भएको भन्दै नेप्से प्रमुख चन्द्रसिंह साउदले सबै सरोकारवालाहरुलाई धन्यवाद ज्ञापन गरेका छन् । 

बिजशालासँग कुरा गर्दै उनले स्वदेश र विदेशमा रहेर अनलाइन कारोबार गर्ने लगानीकर्ता, मिडिया, ब्रोकर र नियामक निकायप्रति धन्यवाद ज्ञापन गरेका हुन् । 

साउदको बुझाईमा नेपालको सेयर बजारमा एकैदिन ६ अर्ब बढीको सेयर कारोबार हुनु पछाडिको मुख्य कारण अनलाइन नै हो । 'अहिले लगानीकर्ताले प्रयोग गरेपछि अनलाइनमा विश्वास भयो, हिजोको दिनमा नचलाएरै समस्या आएको थियो । अब चलाउन थालेपछि समस्याहरु पहिचान भई समाधान पनि हुँदै गयो ।' उनले भने-'ब्रोकरका एकदुईजना कर्मचारीले अर्डर राखेर यति ठूलो कारोबार संभव नै थिएन । अनलाइन नभएको भए १ अर्बको कारोबार हुन पनि मुश्किल थियो ।' 

उनकाअनुसार अहिले बजारमा ८४ प्रतिशतभन्दा बढी लगानीकर्ताले अनलाइन प्रणाली चलाइरहेका छन् । यसकारण समेत बजारमा उत्साह आएको र कारोबार रकमले नयाँ रेकर्ड बनाएको साउदले प्रष्ट्याए । 

उनले बजारको प्रवृति यस्तै रहे आइतबारदेखि थप नयाँ रेकर्डहरु बन्नसक्ने संभावना समेत व्यक्त गरे । 'मैले केही दिनअघि तपाईकै मिडियामा भनेको थिएँ कि अहिले त बजारको सुरुवात मात्र हो, खास दिन आउनै बाँकी छ ।' उनले थपे-'त्यस्तै भइरहेको छ । अझै राम्रा दिन आउँदैछन् ।' 

उनले बजारले ऐतिहासिक रेकर्डहरु बनाएको र अलटाइम हाई नजिक पुगेको उपलक्ष्यमा लगानीकर्ताहरुलाई आपसमा खुशी साटासाट गर्न समेत आह्वान गरेका छन् । 'तपाई लगानीकर्ताकै कारण यो संभव भएको हो ।' उनले थपे-'त्यसकारण सुरक्षित ढंगले आ आफ्नो ठाउँमा बसेर खुशी साटासाट गर्नुहोस्, चियापान गर्नुहोस् ।'