काठमाण्डौ । मंगलबार नाडा एशोसिएशनका अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य तथा राजश्व समितिका उपसभापति कृष्णप्रसाद दुलालले भन्सार विभागका महानिर्देशक सुमन दाहालसँग भेटी एक्जीम कोड नवीकरणको म्याद २०७७ साल असोज मसान्तसम्मका लागि थप गर्न अनुरोध गरेका छन् । 

नेपालमा ३०००० व्यवसायिक कम्पनीहरु एक्जीम कोडमा दर्ता रहेका छन् । हालसम्म पनि बन्दाबन्दी कायम रहेको, सडकमा जोरबिजोर प्रणालीका आधारमा सवारी साधन सञ्चालनमा रहेका, सर्वोच्च अदालतले जिरोआवरको घोषणा गरेको स्थितिमा सो नवीकरण गर्ने कम्पनीहरु १५०० को संख्यामा मात्र रहेका छन् । यही सन्दर्भमा सबै कम्पनीहरुले निर्धारित समयवधिभित्र नवीकरण गर्न नसक्ने अवस्था रहेकोले म्याद थप गर्न नाडाको तर्फबाट दुलालले अनुरोध गरेका हुन्।

सो एक्जीम कोड नवीकरण गर्ने म्याद यहि २०७७ आषाढ मसान्तसम्म मात्र रहेको छ । 

उक्त छलफलमा दुलाल लगायत नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य तथा रोजगारदाता समितिका उपसभापति भरतराज आचार्य, नाडाका एशोसिएशन सचिव सुरेन्द्र प्रधान तथा नेपाल उद्योग वाणिज्य महासंघका अधिकृत लोकराज जोशी समेतको उपस्थिति रहेको नाडाका महासचिव सुनिल रिजालले जनाएका छन् ।