काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंकको वार्षिक साधारणसभाबाट लाभांश अनुमोदन भएको छ। 

झापाको बिर्तामोर्डमा बैंकको आज सम्पन्न १६ औँ वार्षिक साधारणसभाले गत आर्थिक वर्ष २०७७/७८ का प्रस्तावित लाभांश अनुमोदन गरेको हो। सभाले चुक्तापुँजीको ८.५ प्रतिशतले हुन आउने १ करोड ७९ लाख २ हजार ३३१.८२ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.४५ प्रतिशतले हुन आउने ५१ लाख ५२ हजार ७५४.३१ रुपैयाँबराबरको नगद लाभांश पारित गरेको छ। 

बोनस सेयर वितरणपछि बैंकको जारी तथा चुक्तापुँजी वृद्धि गरी १ अर्ब २४ करोड ९६ लाख ९४ हजार ४७०.९३ रुपैयाँ कायम गर्ने र सोहीअनुसार प्रबन्धपत्रमा संशोधन गर्ने अर्को विशेष प्रस्ताव पनि सभाले अनुमोदन गरेको छ। 

अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु आपसमा गाभ्ने, गाभिने र प्राप्ति प्रयोजनका लागि गर्नुपर्ने सम्पूर्ण प्रक्रिया अगाडि बढाउने अख्तियारी पूर्ण रुपमा सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गरेको छ। सभाले गत आर्थिक वर्षको वार्षिक, लेखापरीक्षकको प्रतिवेदनलगायतका महत्वपूर्ण दस्तावेजहरु अनुमोदन गर्नेछ।

सञ्चालक समितिका अध्यक्ष महेन्द्र कुमार गोयलबाट उद्घाटन गरिएको कार्यक्रममा स्वागत मन्तव्य सञ्चालक राजन शर्माले र सभामा सहभागीलाई सहभागिताका लागि धन्यवाद मन्तव्य संचालक पर्शुराम दाहालले राखेका थिए। कार्यक्रम सञ्चालन कम्पनी सचिव श्यामबहादुर बोहोराले गरेका थिए। 

सभामा बैंकका प्रमुख कार्यकारी अधिकृत डा. इन्द्रकुमार कट्टेलले बैंकका वर्तमान गतिविधिहरुका बारेमा मन्तव्य राखेका थिए।

कार्यक्रममा संस्थापक सेयरधनीहरु डा. रुपक खनाल र सुरेशकुमार अग्रवालका साथै बैंकका पूर्वअध्यक्ष हेमराज ढकालले बैंकको उन्नति तथा प्रगतिको शुभकामना व्यक्त गरेका थिए।