काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले ३ कम्पनीमा रहेको आफ्नो स्वामित्वको संस्थापक सेयर लिलामीमा राख्ने भएको छ।

बैंकले आरएमडीसी लघुवित्त, ग्रामीण विकास लघुवित्त र युनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडमा रहेको कुल १ लाख २५ हजार ६०९ कित्ता संस्थापक सेयर यही वैशाख १६ गतेबाट लिलामीमार्फत बेच्ने भएको हो। लिलामीमा राखिने सेयरमा आरएमडीसी लघुवित्तको ५ हजार ७७० कित्ता, ग्रामीण विकास लघुवित्तको २५ हजार २०० र युनाइटेड इन्स्योरेन्सको ९४ हजार ६३९ कित्ता रहेका छन्।

आरएमडीसीको न्यूनतम प्रतिकित्ता ४९८ रुपैयाँ, ग्रामीण विकासको ४०० रुपैयाँ र युनाइटेड इन्स्योरेन्सको ३२१ रुपैयाँ तोकिएको छ। लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। 

यसैगरी लिलामी सेयरमा न्यूनतम १०० कित्ता र अधिकतममा १० ले भाग जाने गरी सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ। बोलपत्र धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलको काठमाण्डौ कमलादीस्थित कार्यालय र एक्सेल डेभलपमेन्ट बैंकको केन्द्रीय कार्यालयमा पेस गर्नुपर्नेछ।

बोलपत्र पेस गर्ने अन्तिम मिति जेठ ५ गतेसम्म तोकिएको छ।