काठमाण्डौ । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत(सीइओ)हरुको छाता संगठन नेपाल बैंकर्स एशोसिएसन(एनबीए)का पदाधिकारीले केही बैंकले आक्रामक ढंगले ब्याज बढाउनु पछाडि उनीहरुको बाध्यता रहेको निश्कर्ष निकालेका छन् । 

उनीहरुले स्रोतको चरम अभाव हुने अवस्थाका कारण अहिले बढेको ब्याजदर सबै क्षेत्रको सहयोग भए एक–डेढ महिनाभित्रैबाट घट्न थाल्ने विश्लेषण समेत गरेका छन् । 

वाणिज्य बैंकहरुमध्ये केहीले निक्षेपको ब्याजदर ह्वात्तै बढाएर १२ प्रतिशत नजिक पुर्याएपछि यसले सीइओहरुको कार्यक्षमतामाथि नै प्रश्न उठाएको छ । बैंकरहरुको सर्वत्र आलोचना भएपछि वाणिज्य बैंकको छाता संगठन एनबिएका अध्यक्ष भूवन दाहाल, उपाध्यक्ष अनिलप्रसाद उपाध्याय लगायतका बैंकरहरुले आज बसेर छलफल र विश्लेषण गरेका थिए । 

'निक्षेपको ब्याजदर ह्वात्तै बढेको देखिए पनि यसले कर्जाको ब्याजदरमा सामान्य मात्र प्रभाव पार्ने देखियो । त्यसकारण अहिले नै अवस्था बिग्रिहाल्यो भन्ने कुरा होइन ।' एनबिएका उपाध्यक्ष तथा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलप्रसाद उपाध्यायले बिजशालासँग भने-'सबै बैंकर मिलेर लोनको ग्रोथलाई नियन्त्रण गरेर जानुपर्ने विषयमा समेत हाम्रो सहमति बन्यो । त्यसो भयो भने मात्र सीडी रेसियो मेन्टेन हुनसक्ने अवस्था देखियो ।'

चालु आर्थिक बर्षयता निक्षेप ५३ अर्ब ९५ करोडले बढेको, यही अवधिमा ऋण भने २ खर्ब ६२ अर्ब ४७ करोडले बृद्धि भएको छ । यहीकारणले पनि तरलता अभाव चर्किएको हो । 

डिमाण्ड र सप्लाईले नै प्राइस निर्धारण गर्ने तर्क पेश गर्दै उनले लोनको ग्रोथ २.६२ खर्ब बढी हुँदा निक्षेप चाहि ५४ अर्ब हाराहारी मात्र व्यवस्थापन भएको र यही नमिल्दो अवस्थाले कतिपय बैंक समस्यामा परेका बताए । 'हामीले अग्रेसिभ ग्रोथ गरेका बैंकहरुले कर्जा बेचेरै भए पनि आफ्नो पोर्टफोलियो मिलाउनेसम्मको विकल्पमा जानसकिने विश्लेषण गरेका छौं ।' उपाध्यायले भने-'अब बैंकहरुले कर्जातर्फ अग्रेसिभ होइन, नियन्त्रित ग्रोथ मात्र गर्नुपर्छ भन्ने कुरामा पनि हामी एकमत भयौं ।' 

आफ्नो स्रोतलाई मेन्टेन गर्न पनि कतिपयले ब्याजदर अनपेक्षित रुपमा बढाएका उल्लेख गर्दै उनले थपे-'आफूले बढाएन भने आफ्नो स्रोत अरुले खोसिदिन्छ । यस्तो भयो भने ती बैंकलाई सीडी रेसियो मेन्टेन गर्न झनै समस्या परिदिन्छ, त्यही भएर बढाए ।' 

आजै एनबिएका अधिकारीहरुले राष्ट्रबैंकका केही अधिकारीहरुसँग ब्याजदर बढोत्तरीपछि आउनसक्ने समस्या लगायतका विषयमा अनौपचारिक छलफल समेत गरेका छन् । एनबिएकै अर्का एक अधिकारीका अनुसार सो क्रममा बैंकरहरुले राष्ट्रबैंकलाई रिफाइनान्सिङलाई छिट्टै खोलिदिन, तरलता व्यवस्थापनका लागि हरसंभव सहयोग गरिदिन आग्रह गरेका छन् । 'तिहार र छैठमा तराईमा बढी रेमिटान्स आउँछ भन्ने पनि हामीले विश्लेषण गरेका छौं ।' ती बैंकरले भने-'यही बेला सरकारको खर्च पनि बढिदियो भने त्यसले केही सहज अवस्था बनाउँछ । तरलता व्यवस्थापनका लागि सबैतिरबाट प्रयास भयो भने आउने दिनमा ब्याजदर बढ्ने अवस्थै रहन्न ।' 

राष्ट्रबैंकका अधिकारीहरुले पनि समस्यामा रहेका केही बैंकहरुले स्रोत व्यवस्थापन र रक्षाका लागि निकै छोटो अवधिका लागि मात्र ब्याजदर बढाएका आफूहरुको बुझाई रहेको सो क्रममा सुनाएका थिए । 'ब्याजदरको अहिलेको बढोत्तरीले फिक्स्ड रेटलाई खासै असर गर्दैन ।' राष्ट्रबैंकका भनाई उद्धृत गर्दै स्रोतले भन्यो-'हामी तपाईहरुलाई सबैखालका सहयोग गर्न तयार छौं, तर तपाईहरु पनि संयमित भइदिनुपर्यो । कर्जा लगानीमा आक्रामक नभइदिनुस् ।'