– अर्जुन तिमिल्सिना

काठमाण्डौ । नेपालमा जलविद्युत आयोजनालाई ‘सेतो सुन’ पनि भनेर चिनिन्छ। जलविद्युत आयोजनाहरुले सञ्चालनमा आएको १५ वर्षसम्म सरकारलाई तिर्ने करमा सहुलियत पाउने हुँदा पनि लगानीकर्ता जलविद्युतमा आकर्षित हुन्छन्। त्यसका अलवा जलविद्युत कम्पनीहरुको प्रतिफल पहिले नै निश्चित तथा नियमित हुने हुँदा पनि लगानीकर्ताको रोजाइमा यो क्षेत्र परेको हुन सक्छ। 

अप्पर तामाकोशी देशका जलविद्युत आयोजनामध्ये एकमात्रै राष्ट्रिय गौरवको आयोजना हो। आज हामीले अप्पर तामाकोशीलाई प्राविधिक तथा आधारभूत पक्षबाट केलाउने प्रयत्न गरेका छौँ।

आधारभूत पक्ष 

यो कम्पनीको हालको सेयरपुँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ। चालु आर्थिक वर्षको  तेस्रो त्रैमाससम्म कम्पनीको दीर्घकालीन ऋण ४१ अर्ब रुपैयाँ रहेको छ भने ५ अर्ब १० करोड रुपैयाँ अल्पकालीन ऋण रहेको छ। समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ जम्मा ७४.३७ रुपैयाँमात्रै छ। ईपीएस १५.५९ रुपैयाँले ऋणात्मक रहेको छ भने प्रतिसेयर कुल सम्पत्ति ८४९.१४ रुपैयाँ छ।

प्राविधिक पक्ष

इलिअट वेभका आधारमा 

यो कम्पनीको सेयरमूल्यलाई चार्टमा राखेर हेर्दा १२ अगस्ट २०२० मा न्यून विन्दु २२४ रुपैयाँमा कारोबार भएको देखिन्छ भने त्यसको ठीक एक वर्षपछि ११ अगस्ट २०२१ मा  बढोत्तरीका साथ कम्पनीको सेयर मूल्य ९६० रुपैयाँसम्म पुगेको देखिन्छ। यो हिसाबले यो कम्पनीको सेयरमूल्य एकै वर्षमै चारगुणाले बढोत्तरी आएको देखिन्छ। 

इलिअट वेभअन्तर्गत हेर्दा एकै वर्षमा १–५ सम्मको चक्र पूरा गरेको देखिन्छ। त्यसपछिको ९–१० महिनाको समयमा ए, बी र सीको वेभ चल्दै कम्पनीको सेयरमूल्यमा करेक्सन भएर लगभग ४८० रुपैयाँसम्म आएको छ। जसलाई फिवोनासीमार्फत हेर्दा ०.६१ प्रतिशतको गिरावटका साथ हालका लागि करेक्सन पूरा भएर अब नयाँ वेभका साथ कम्पनीको सेयरमूल्यमा पुनः बढोत्तरी आउन सक्ने देखिन्छ। 

नयाँ चक्रअन्तर्गत कम्पनीको सेयरमूल्यलाई इन्टरमिडियट डिग्रीअन्तर्गत अबको डेढदेखि २ वर्षमा वेभ १ देखि ५ सम्मको चक्र पूरा गर्दै  वेभ १ मा ६४० रुपैयाँसम्म, वेभ २ मा ५८० रुपैयाँसम्म, वेभ ३ मा बढोत्तरीका साथ १००० रुपैयाँसम्म पुग्न सक्ने र वेभ ४ मा करेक्सन भएर ८५० रुपैयाँसम्म र वेभ ५ मा बढोत्तरीका साथ पुनः हालको मूल्यमा तीनगुणाको वृद्धिका साथ १३०० रुपैयाँसम्म अबको डेढदेखि २ वर्षमा यो कम्पनीको सेयरमूल्यले नयाँ उचाइ लिन सक्छ। योबीचमा बजारमा धेरैपटक सेयरभाउमा उतारचढाव आउन सक्ने देखिन्छ। (माथि मुख्य तस्बिरमा हेर्नुहोस्)

फिवोनासी सिद्धान्तका आधारमा

फिवोनासी एक्सटेन्सन एउटा यस्तो टुल हो, जसले एकपटक बढेपछि बजार घट्दा कतिसम्म तल आउन सक्छ र कति–कतिमा टेवा लिन्छ भन्ने विषय अनुपातका आधारमा संकेत गरेको हुन्छ। बढ्दा पनि कति–कति प्रतिशतमा प्रतिरोध गरेको हुन्छ भन्ने यी अनुपातबाट अनुमान लगाउन सकिन्छ। यस्ता अनुपातलाई फिवोनासी गोल्डेन अनुपातहरु पनि भनिन्छ। ती अनुपातहरु २३.६, ३८.२, ५०, ६१.८ र १०० प्रतिशत हुन्। यदि यो कम्पनीको सेयरभाउ घटेमा ०.२३ प्रतिशतको टेवामा ७८५ रुपैयाँसम्म, ०.३८ प्रतिशतको टेवामा ६७७ रुपैयाँस्म्म, ०.५ प्रतिशतको टेवामा ५९० रुपैयाँसम्म र ०.६१ प्रतिशतको टेवामा ५०५ रुपैयाँसम्म हुन सक्ने देखिन्छ।

एमएसीडी लाइनका आधारमा

सेयर प्राविधिक विश्लेषणमा प्रयोग हुने यो औजार गेराल्ड अपीले प्रतिपादन गरेका हुन्। एमएसीडी लाइन भनेको सेयर अर्थात बजार परिसूचकको अन्तिम मूल्यको २६ दिन र १२ दिनको एक्सपोनियल मुभिङ एभरेज हो। यसमा एमएसीडी लाइन र सिग्नल लाइन गरी दुई लाइन हुन्छन्। यदि एमएसीडी लाइनले सिग्नल लाइनलाई तलबाट काट्छ भने बुलिस क्रसओभर र माथिबाट काट्छ भने बियरिस क्रसओभर हुन्छ। 

यो लाइनलाई आधार मान्ने हो भने गत ९  मेमा एमएसीडी लाइनले सिग्नल लाइनलाई तलबाट काटेको र बुलिस सिग्नल बनेको देखिन्छ (हेर्नुहोस् हरियो एरो)। जसले बुलिस  सिग्नल भर्खरै बनेको छ र हिस्टोग्राम पोजेटिभ भएका छन् (हेर्नुहोस् कालो एरो)। यसले केही समय सेयरमूल्य वृद्धि हुन सक्ने बुझिन्छ।

बोलिंगर ब्यान्डका आधारमा 

यो सिद्धान्त सन् १९८० को दशकमा जोन बोलिंगरले प्रतिपदान गरेका हुन्। यो औजार सेयर, डेरिभेटिभ तथा विदेशी मुद्राको मूल्यमा हुने उतारचढावको  विश्लेषणलाई मध्यनजर गरी तयार पारिएको हो। यसमा ३ वटा ट्रेन्ड लाइन हुन्छन्। पहिलो (बीचको) सामान्य चलायमान औसत रेखा, दोस्रो अप्पर ब्यान्ड र तेस्रो लोअर ब्यान्ड। यो ब्यान्डको सामान्य नियम भनेको मूल्य माथिल्लो र तल्लो ब्यान्डमा सीमित हुन्छ भन्ने हो। अर्थात् अझ सरल भाषामा भन्नुपर्दा जब मूल्य रेखाले माथिल्लो रेखालाई छुन्छ तब बजारमा करेक्सन  हुन्छ र जब तल्लो रेखालाई छुन्छ तब बजार स्वाभाविक रुपमा फेरि माथितिर जान थाल्छ भन्ने हो। 

यो औजारअन्तर्गत यो कम्पनीको मूल्यरेखाले मध्यब्यान्डलाई ब्रेक गरेको छ र हरियो मारुबुजु क्यान्डल बनेको छ। यसले सेयरमूल्यमा उच्च माग आएको बुझिन्छ। अन्तिम कारोबारले रातो लामो मारुबुजु बनाएकोले केही समय करेक्सन हुन सक्ने सम्भावना देखिन्छ। बोलिंगर ब्यान्डको मध्यब्यान्डभन्दा माथि कारोबार भएकोले सेयरमूल्य अप ट्रेन्डमा देखिन्छ।

आरएसआईका आधारमा 

आरएसआई विन्दुअन्तर्गत १४ दिनको मूल्यलाई आधार मानेर भविष्यमा हुने मूल्य परिर्वतनको भविष्यवाणी गरिन्छ। यसमा ५० को जोनलाई सेन्ट्रल जोन, ३० भन्दा तल ओभर सोल्ड जोन र ७० भन्दा माथिलाई ओभर बट जोन भनेर छुट्याइन्छ। 

यो कम्पनीको हालको आरएसआई बढ्दो गतिमा ४८ को विन्दुमा रहेको छ। अघिल्लोपटक यो न्यून  विन्दु २२ को तहमा पुगेपछि सेयरमूल्य उकालो लागेको थियो भने उच्चतम विन्दु ७३ को तहमा पुगेपछि सेयरभाउ ओरालो लागेको थियो। यसलाई आधार मान्दा सेयरमूल्यमा बुलिस सिग्नल देखिन्छ।

पिभट विश्लेषणका आधारमा 

पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको  अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ।

बढेमा प्रतिरोध 

  • प्रतिरोध १– ५३५
  • प्रतिरोध २– ५७५
  • प्रतिरोध ३– ६२९

पिभट प्वइन्ट : ५३५

घटेमा सपोर्ट 

  • सपोर्ट १– ४८१
  • सपोर्ट २– ४४१
  • सपोर्ट ३– ३८७

निष्कर्ष

अप्पर तामाकोशीको तेस्रो त्रैमाससम्म ब्याज खर्च र डिप्रिसिएसन कट्टीका कारण खुद नाफामा केही गिरागट देखिन्छ भने प्रतिसेयर आम्दानी ऋणात्मक नै रहेको छ। कम्पनीको दीर्घकालीन तथा अल्पकालीन दुवै ऋण बढ्दो क्रममा देखिन्छ। पूर्ण क्षमताअनुसार अझै विद्युत उत्पादन नभएका कारण पनि कम्पनीको नाफामा सुधार हुन नसकेको देखिन्छ। आयोजना पूर्ण क्षमतामा चल्दा तथा भागिनी आयोजना निर्माण सम्पन्न हुँदा वार्षिक आम्दानी ११ अर्ब रुपैयाँसम्म हुन सक्ने कम्पनीको आँकलन रहेको छ। 

प्राविधिक रुपमा पनि कम्पनीको सेयरमूल्य हाल लगभग बढेको मूल्यबाट ६१ प्रतिशत खसेका कारण र बोलिंगर ब्यान्डको मध्यब्याण्डभन्दा माथि नै सेयर कारोबार भएका कारण कम्पनीको सेयरमूल्य अप ट्रेन्डमै रहेको र अबका डेढ–दुई वर्षमा पुनः एकपटक हालको ४३० रुपैयाँको सेयरमूल्यमा लगभग ३ गुणाको वृद्धिले १३०० रुपैयाँसम्म पुग्न सक्ने इलिअट वेभको चित्रका आधारमा बुझ्न सकिन्छ।

नोट : सेयर बजारमा प्राविधिक विश्लेषण एक औजारमा आधारित अनुमानित विश्लेषण हो। यसको अर्थ सेयर बजारमा हामीले यही नै हुन्छ भनेर ठोकुवा गरेका होइनौँ। लगानीकर्ताले लगानी गर्दा आफ्नो जोखिम लिन सक्ने क्षमता र कम्पनीको वित्तीय अवस्था हेरेर लगानी गर्नुपर्छ। यो कुनै कारोबारका लागि सिफारिस भने होइन।