काठमाण्डौ । तरलता संकट भोगिरहेका वाणिज्य बैंकहरुको कात्तिकको पहिलो साता निक्षेप संकलन घटेको छ भने कर्जा परिचलन स्थिर देखिएको छ। 

नेपाल बैंकर्स एसोसिएसन (एनबीए) का अनुसार कात्तिकको पहिलो साता वाणिज्य बैंकहरुको निक्षेप २० अर्ब रुपैयाँले घटेको छ। गत असोज ३१ गतेसम्म कुल निक्षेप ४२ खर्ब ६९ अर्ब रुपैयाँ रहेकोमा कात्तिक ५ गतेसम्म घटेर ४२ खर्ब ४९ अर्ब रुपैयाँमा सीमित बनेको छ। पहिलो अन्तिम साता भने वाणिज्य बैंकहरुको निक्षेप १४ अर्ब रुपैयाँले बढेको थियो भने असोज महिनाभरि ९८ अर्ब रुपैयाँले बढेको थियो।

उता कात्तिकको पहिलो साता वाणिज्य बैंकहरुको कर्जा परिचालन स्थिर देखिएको छ। गत असोज ३१ गतेसम्म कुल कर्जा लगानी ३९ खर्ब ९८ अर्ब रुपैयाँ रहेकोमा कात्तिकको पहिलो सातासम्म पनि ३९ खर्ब ९८ अर्ब रुपैयाँ नै रहेको छ। 

असोजको अन्तिम साता भने वाणिज्य बैंकहरुको कर्जा लगानी १५ अर्ब रुपैयाँले बढेको थियो। असोज महिनाभरि वाणिज्य बैंकहरु १ खर्ब २६ अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए।