-भक्तराज रसाइली 
काठमाण्डौ । नेपालको सेयर बजारमा मारवाडी समुदायको दरिलो उपस्थिति छ । भनिन्छ मारवाडी समुदायले जुन सेयर छोयो, त्यसैको मूल्य बढ्छ । मारवाडी समुदायको बलियो उपस्थिति भएको नेपालको सेयर बजारमा दीपेन्द्र अग्रवालको नाम नौलो होइन । 

लगानीकर्ताले पछिल्लो समय गरेको आन्दोलन र आमरण अनसनसम्म अग्रवालको भूमिकाका कारण पछिल्लो समय लगानीकर्तामाझ उनी चर्चाको विषय बनेका छन् । 

अग्रवाल त्यस्ता पात्र हुन्, जो दीर्घकालीन लगानी रणनीतिमा बढी विश्वास गर्छन् र आफूले गरेको सेयर लगानीबाट वार्षिक लाभांश मात्रै ७ करोडको हाराहारीमा बुझ्ने गर्छन् । 

राजपा केन्द्रीय सल्लाहकार रहेका र ईम्पोर्ट बिजनेसमा जमेका दीपेन्द्र नेपाल इन्भेस्टर्स फोरमका पूर्व सदस्य, मेगा बैंकको निवर्तमान डाईरेक्टर र हालै गठित सेयर लगानीकर्ता दबाब समूहमा वरिष्ठ उपाध्यक्ष समेत हुन् ।

पोखराको अन्नपूर्ण बेसक्याम्प नजिकै सिकलेसमा ४.५ मेगावाटको हाइड्रोपावरको निर्माण गरिरहेका अग्रवालले फिल्म निर्माणमा पनि हात हालेका छन् । 

नाबालक हुँदादेखि नै आफ्ना पिता जयप्रकाश अग्रवालले नै आफ्नो नाममा आइपीओ भरिदिने गरेको र हाल पनि उनको आईपीओ घरबाटै भरिदिने गरेको बताउँछन् । दोश्रो बजारमा चाहिँ १७ वर्ष अघि नेप्सेको ओपन क्राई सिस्टममा ब्रोकर नम्बर ६ लाई खरिदबिक्रीको अर्डर दिएर प्रवेश गरेको उनले बताए । 

दोश्रो बजारमा प्रवेश गर्दा उनी स्नातक पढ्दै थिए र त्यसबेला उनको उमेर १८ वर्ष मात्र थियो । बीओके र कुमारी बैंकको २–३ सय कित्ता रु. २८५ हाराहारीमा खरिद गरेको उनी सम्झन्छन् ।

सेयर बजार एउटा डाईनामिक्स क्षेत्र भएको र मध्यम परिवारको भए  पनि कम्पनीको हिस्सेदार बन्ने तीव्र चाहनाले सेयर बजारसम्म आएको दीपेन्द्रले बताए ।

बिराटनगर ७ मेनरोडका स्थायी निवासी अग्रवाल आफ्ना पिता जयप्रकाश अग्रवालको अभिप्रेरणाका कारणले पार्टटाईम बिजनेसका रुपमा सेयर बजार छिरेका रहेछन् । उनले स्नातकोत्तरसम्म अध्ययन गरेका छन् । 

एक सफल कपडा व्यापारीका छोरा अग्रवालले नाफाको ५० प्रतिशत सेयरमा लगानी गर्ने पारिवारिक चलनलाई आफूले पनि निरन्तरता दिएको दाबी गरे । 

पहिले बुबाको बिजनेसमा मद्धत गर्ने क्रममा आम्दानीको हिस्सालाई ४ भाग लगाई एक भाग सेयर बजार,  अर्को सुन, यस्तै जग्गा र चौथो भाग व्यापारमा लगाउनुपर्ने अवधारणालाई मूर्त रूप दिंदै दीपेन्द्रले समेत त्यही सूत्रलाई पछ्याए ।

हाइड्रोपावर उत्पादन, फिल्म निर्माण, इम्पोर्ट बिजनेस र सेयर बजारलाई नै आफ्नो कर्मथलो बनाएकामा अग्रवाल खुशी छन् । 

मारवाडी समुदायको भूमिका निकै महत्वपूर्ण हुन्छ नि सेयर बजारमा भन्ने जिज्ञासामा दीपेन्द्र भन्छन्–‘बजार विस्तारमा ठूलो हिस्सा लगभग २० प्रतिशत नै छन् र नेप्सेमा सूचीकृत कम्पनीमध्ये १० प्रतिशत लगानी मारवाडी समुदायले गरिरहेका छन् ।’

मारवाडी समुदाय हाल सेयर बजारमा सक्रिय छैनन् भन्ने हल्ला छ नि भनी अर्को प्रश्न तेस्र्याउँदा एक्सन स्पीक्स लाउडर देन वड्र्स भन्ने उक्ति सान्दर्भिक रहेको अग्रवाल बताउँछन् । 

‘सरकारले ल्याएको नीतिबाट मारवाडी समुदायलाई सशंकित बनाएको पक्कै हो ।’ उनले भने–‘सेयर बजार जस्तो संवेदनशील क्षेत्रमा सरकारकै भूमिका र कम्युनिस्टको विगतको कदम नै उल्टो भएर अहिले सेयर बजारले विश्वास गुमाइरहेको छ । अनि कसरी लगानी जुट्छ ?’

मारवाडी समुदाय मात्र नभई समग्र व्यापारी वर्ग नै सरकारको नीतिबाट सशंकित बनेका र यो अवस्था दुर्भाग्यपूर्ण भएको उनको ठम्याई छ ।

बजार सुधारका लागि अर्थमन्त्रीबाट गठित कार्यदलको प्रतिवेदन कार्यान्वयमा नेपाल राष्ट्रबैंक इमानदार देखिए पनि धितोपत्र बोर्डले झारा टार्ने काम मात्र गरेको उनको बुझाई छ । 

बोर्डले निर्देशनमाथि निर्देशन दिने काम गरेर लगानीकर्तालाई अलमल्याउन खोजेको उनको आरोपछ । ‘तत्काल गर्नुपर्ने काम भनेको त्यही हो, अब कतिञ्जेल पर्खने ? यो त फेरि धोका भयो । फेरि आन्दोलनको ज्वाराभाटा नल्याई धितोपत्र बोर्डको नियत सुध्रिनेवाला छैन । उनीहरुको काम गर्ने मनाशय नै देखिएन ।’ 

आम लगानीकर्तालाई एउटा कोठामा थुनेर सीमित वर्गले मात्रै बजारबाट कमाएको उनको दाबी छ । 

हिजोको भन्दा सेयर बजार कछुवा गतिमा घस्रिरहेको उल्लेख गर्दै उनले भने–‘विश्वका सेयर बजारसँग तुलना गर्ने हो भने हामी द्वापरयुगमा छौं, कलियुग त आउन बाकी नै छ ।’

तर नेपाली सेयर बजारको भविष्य सुनौलो रहेको उनले जिकिर गरे । ‘घामलाई हत्केलाले छेकेर केही हुने वाला छैन ।’ उनले थपे–‘सेयर बजारको विकास भए मात्र देशको विकास सम्भव छ ।’

२५ खर्बको लेन्डिङ्ग क्यापासिटी बैंकहरुको भए तापनि  उनीहरुले देशको विकासका लागि काम नगरेका उनको दाबी छ । बैंक नाफामुखी मात्र भएका उनको भनाई छ । 

ब्याजदरको कारणले इकोनोमिमा क्र्यास आउनसक्ने दाबी गरेका अग्रवालले भने–‘फरेन इन्स्िटच्युसनल इन्भेस्टर र फरेन पोर्ट्फोलियो इन्भेस्टर भित्र्याउनुपर्नेमा कसैको ध्यान गएको छैन । यस्ता कम्पनीलाई भित्र्याएर सूचीकृत कम्पनीमा अधिकतम २५ प्रतिशत लगानी गर्न पाउने नियामवली बनाउनेतर्फ ध्यान दिइनुपर्छ । यो एक दिनको काम हो, तर सय वर्षसम्म पनि गर्ने छाटकाट देखिएन ।’

मारवाडी समुदायको दीर्घकालीन लगानी रणनीति अर्थात् होल्डिङ्ग क्यापासिटीले सेयर बजार क्र्यास हुनबाट जोगिएको दाबी गर्ने अग्रवालले सेयर बजारको साईकलमा सही समयको प्रतिक्षा गर्नसक्ने क्षमता हुनेले सावाब्याज भन्दा धेरै माथिको प्रतिफल प्राप्त गर्ने दाबी गर्छन् ।

उनले यसलाई थप प्रष्ट पार्दै भने–‘हाम्रो बुवाले हामी ३ जना छोराछोरीको नाउँमा सीआईटीको ३०/३० कित्ताका दरले भविष्यका लागि भनेर ५० रुपैयाँ प्रतिकित्ता लगानी गर्नु भएको थियो । गतवर्ष मैले ३ वटा चिट लिएर जाँदा १०८४ कित्ता जम्माजम्मी भएछ, जुन मैले ३६ सय प्रतिकित्ताले बेचेर ४० लाख आम्दानी गरेँ । यही नियम अहिले सेयर बजारमा लागू गरौं ।’ 

कत्ति लगानी गर्नु भएको छ भन्ने बिजशालाको प्रश्नमा आफू ट्रेडर नभएको र केवल लगानीकर्ता मात्रै भएको उनले बताए । ‘५० करोड बढेर, १ सय करोड घटेर दीपेन्द्र अग्रवाललाई फरक पर्दैन, मैले मेरो पोर्टफोलियोलाई राम्रोसँग व्यवस्थापन गर्न जानेको छु ।’ उनले भने ।

उनले आफ्नो पोर्ट्फोलियो भन्न नचाहे पनि वार्षिक ७ करोड सम्म लाभांश बुझ्ने गरेको दाबी समेत गर्न भ्याए ।

अहिले वर्तमान समय जागरूक लगानीकर्ताको समय भएको बताउँदै नियामक निकायहरुको बखेडा र आलटाले काम गरेमा डण्डा हानेर गराउने युग आईसकेको उनले चेतावनीसमेत दिए । 

अनलाइन लगईन आफूले नलिएको रहस्य बताउँदै अग्रवाल भन्छन्–‘प्रविधिको गल्ती भए पनि ग्राहक वा लगानीकर्ता दोषी रहने नियमले म विश्वस्त हुन सकेको छैन । यसलाई सच्याईसकेपछि मात्र नयाँ अनलाइन ट्रेडिङमा म अग्रसर हुन्छु ।’

२९ करोड खर्चिएर ल्याएको अनलाइन सफ्टवेयरको काम छैन भन्दै अग्रवालले यसमा खर्चिएको लागतमा ‘दालमा कालो’ भएको सबैलाई थाहा हुदाँहँुदै पनि यसको बिषयमा छानबिन गर्ने तदारुकता नदेखाइनु आश्चर्यको विषय भएको बताए । 

विश्वासिलो सफ्टवेयर भएमा मात्र विश्वास कायम हुने र पारदर्शिता बढ्ने भन्दै नेप्सेले राम्रो काम गर्नुपर्नेमा उनको जोड छ ।