काठमाण्डौ । स्वावलम्बन लघुवित्त विकास बैंक र समता माइक्रोफाइनान्स बित्तीय संस्थाले वार्षिक साधारणसभा(एजीएम) आह्वान गरेका छन् । 

स्वावलम्बनले आगामी मंसिर १५ गते शुक्रबार आफ्नो १६औं र समताले मंसिर १६ गते शनिवार चौथो वार्षिक साधारणसभा आह्वान गरेको हो । 

काठमाण्डौको लैनचौर ब्यांक्वेटमा हुने स्वावलम्बनको वार्षिक साधारणसभाले यसअघि संचालक समितिबाट प्रस्ताव भए बमोजिम २० प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव पारित गर्नेछ । 

आर्थिक वर्ष २०७३/७४ को खूद नाफाबाट ८ करोड ३७ लाख ९२ हजाार ६ सय रुपैयाँ बराबरको बोनस सेयर वितरणको प्रस्ताव पारित हुने बताइएको छ । यस्तै, गत वर्षको नाफाबाट ११.५७८९ प्रतिशतको दरले कायम हुने आउने कुल ४ करोड ८५ लाख ११ हजार ५ सय ५ रुपैयाँ बराबरको नगद लाभांश वितरणको प्रस्ताव समेत एजीएमले पारित गर्नेछ । त्यसबाहेक संचालक समितिका अध्यक्षले प्रस्तुत गर्ने गत आर्थिक वर्षको संचालक समितिको प्रतिवेदन, वासलात समेत पारित गर्नेछ । 

यो बैंकले वार्षिक साधारणसभा प्रयोजनका लागि कात्तिक २८ गतेदेखि मंसिर १५ गतेसम्म बुक क्लोज गर्नेछ । यसको अर्थ कात्तिक २७ गतेसम्म स्वावलम्बन लघुवित्तको सेयर खरीद गर्नेहरुले मात्र साधारणसभामा सहभागी हुने अवसर पाउनेछन् । 

यसैबीच, बाराको सिमरास्थित होटल इच्छा प्रालिमा आह्वान समता माइक्रोफाइनान्सको चौथो वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७३/७४ को खूद नाफाबाट २० प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव पारित गर्नेछ । यो प्रस्ताव पारित भएपछि कम्पनीले ६३ लाख २० हजार रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्नेछ । यस्तै, बोनस सेयर बाँडफाँडपछि कायम हुने ३ करोड ७९ लाख चुक्तापुँजीको २ बराबर १ कित्ताको अनुपातले हकप्रद सेयर जारीका लागि स्वीकृति प्रदान गर्ने एजेण्डा समेत राखिएको कम्पनीले जारी गरेको सूचनामा उल्लेख छ । यस्तै, आर्थिक वर्ष २०७३ ७४ को नाफाबाट ११.५८ प्रतिशतले हुन आउने ३६ लाख ५८ हजार ९ सय ४७ रुपैयाँ बराबरको नगद लाभांश वितरणको प्रस्ताव समेत एजीएमले पारित गर्नेछ । 

यो कम्पनीले साधारणसभा प्रयोजनका लागि मंसिर १ गतेदेखि १६ गतेसम्म बुक क्लोजको मिति तोकेको छ । यसको अर्थ कात्तिक ३० गतेसम्म यो कम्पनीको सेयर खरीद गर्ने वा आफ्नो नाममा नामसारी गर्नेहरुले मात्र वार्षिक साधारणसभामा सहभागिताको अवसर पाउनेछन् ।