काठमाण्डौ । एशियन डेभलपमेन्ट बैंक (एडिबि) को ट्रेड फाइनान्स प्रोग्राम (टि एफ पि) तथा नेपालको अग्रणी बैंक लक्ष्मी बैंक लिमिटेड बीच कर्जा तथा ट्रेड सहयोगको लागि एक सम्झौतामा हस्ताक्षर  भएको छ । 

एडिबिको ट्रेड फाइनान्स प्रोग्राम नेपालमा सन् २००९ देखि सञ्चालित रहदैं आएको छ भने यसले नेपालका दुई स्थानीय बैंकहरुसँग सहकार्य समेत गर्दै आएको छ । 

आजसम्म यस कार्यक्रमले २०० भन्दा बढी वित्तीय कारोबार गरिसकेको छ । यसबाट ८२ मिलियन अमेरिकी डलरको सहयोग प्राप्त भएको छ । यसबाट कृषि कमोडिटी, निर्माण सामग्री तथा मेसिनरी, सोलार प्यानल तथा टेक्सटायल जस्ता विभिन्न ८० क्षेत्रका साना तथा माझौला व्यवसायहरु प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् ।  

सम्झौता हस्ताक्षर पछि लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाहले “एडिविको यस कार्यक्रममा सहभागी हुन पाउँदा लक्ष्मी बैंक गौरवान्वित भएको बताए । 

एडिबिको ट्रेड मेम्बर बैंकका रुपमा सहभागी भई अन साइट तथा अफ साइट कार्यहरु प्रति लगनशील रहेका कारणले हामी यस परियोजनामा सहभागी भएको समेत उनको भनाई थियो । 

लक्ष्मी बैंक नेपाली साना तथा मझौला व्यवसाय, कर्पोरेट, इन्स्टिच्युसनल तथा इन्फ्रास्टक्चर प्रोजक्टहरुमा ट्रेड फाइनान्स सेवा प्रदान गर्दै आइरहेको र यसबाट अन्तर्राष्ट्रिय बजारमा हाम्रा ग्राहकहरुले फाइदा लिनसक्ने उनले जानकारी दिए । 

नेपालका लागि एडिवि इन्भेष्टमेन्ट स्पेसलिस्ट एण्ड रिलेसनसिप म्यानेजर ज्यानेट हाइडले लक्ष्मी बैंकसँग गरिएको ट्रेड फाइनान्स प्रोग्रामले नेपालको वर्तमान आर्थिक वृद्धिमा विशेष सहयोग पुग्ने दाबी गरे । यो नयाँ सुविधाले पुननिर्माणको कार्यले देशमा आर्थिक क्रियाकलाप हुनगई साना तथा मझौला व्यवसायको विकासमा सहयोग पुग्ने उनको भनाई थियो ।