काठमाण्डौ । शाखा बिस्तार र ब्राण्डिङमा आक्रामक बनेको एनआइसी एशिया बैंकले आफ्ना प्रमुख वित्तीय सूचकहरुमा समेत आक्रामक प्रगति गर्न थालेको छ । 

यो बैंकको आक्रामक रणनीतिका कारण नकारात्मक टिप्पणी गर्नेहरुलाई बैंक व्यवस्थापनले वित्तीय विवरणमा चमात्कारिक प्रगति गर्दै गतिलै पाठ सिकाइदिएको छ । उच्च संचालन खर्चका बाबजुद बैंकले गत वर्ष चमात्कारिक प्रगति गरेको हो । 

यो बैंकले खूद नाफा १३१ प्रतिशतले बढाएर १ अर्ब ३२ करोडबाट ३ अर्ब ५ करोडको उचाईमा पुर्याएको छ । बैंकले खूद नाफातर्फ मारेको छलाङले अन्य प्रमुख वित्तीय सूचकमा झै नाफामा समेत यो बैंक टप बन्ने दौडमा रहेको देखिन्छ । बैंकको प्रत्येक वर्षको चमात्कारिक प्रगति हेर्दा खूद नाफामा पनि यो बैंक टप बन्न धेरै समय नलाग्ने देखिन्छ । 

अघिल्लो वर्ष १ अर्ब ६२ करोडमा सीमित वितरणयोग्य मुनाफा बढाएर यो बैंकले समीक्षा अवधिमा २ अर्ब  १५ करोडको उचाई चुमाएको छ ।

यस्तै, १ अर्ब ९१ करोडमा सीमित संचालन मुनाफामा १३९ प्रतिशतको छलाङ मार्दै ४ अर्ब ५७ करोड पुगेको छ भने ४ अर्ब २० करोडमा सीमित ब्याज आम्दानी बढेर ६ अर्ब ९८ करोड पुगेको छ । 

अघिल्लो वर्षको तुलनामा कर्मचारी खर्च र संचालन खर्चमा ३० प्रतिशत भन्दा बढीको बढोत्तरी हुँदा समेत बैंकले सन्तुलित वित्तीय विवरण बनाउने सफलता पाएको हो । 

समीक्षा अवधिमा बैंकले १ खर्ब ७६ अर्ब निक्षेप संकलन गरी १ खर्ब ४२ अर्ब बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको तुलनामा निक्षेप २६.६८ प्रतिशतले बढेको देखिएको छ भने कर्जातर्फ २३.१२ प्रतिशतको वृद्धि देखिएको छ । बैंकको निक्षेप र कर्जातर्फको बढोत्तरी निकै सन्तुलित समेत देखिएको छ । 

अघिल्लो वर्ष २ अर्ब ६९ करोड रहेको जगेडाको आकार बढेर ३ अर्ब ८८ करोड पुगेको छ भने सेयरधनी कोषमा १३९ प्रतिशतको प्रगति भएको देखिएको छ । 

बैंकको निस्क्रिय कर्जा अनुपात ०.४६ प्रतिशत मात्र रहेको छ भने कोषको लागत समेत घटेर ७.८४ प्रतिशतबाट ६.९७ प्रतिशतमा सीमित बन्न पुगेको छ । 

अघिल्लो वर्ष ११.५ प्रतिशत रहेको आधार दरलाई घटाएर बैंकले एकल विन्दू अर्थात ९.४८ प्रतिशतमा सीमित बनाउने सफलता पाएको देखिएको छ भने पूँजीकोष अनुपात १३.४८ प्रतिशत पुगेको छ । 

समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ३४.५६ रुपैयाँ रहेको छ । यो भनेको अघिल्लो वर्षको तुलनामा १०८ प्रतिशतले बढी हो । 

प्रतिसेयर नेटवर्थ  १६१ रुपैयाँ, मूल्य आम्दानी अनुपात १२.९६ गुणा कायम भएको देखिएको छ । 

बैंकले जारी गरेको एक विज्ञप्ति अनुसार चालु आर्थिक वर्षको चौथो त्रैमाससम्म कुल आम्दानी वार्षिक विन्दुगत आधारमा ७७ प्रतिशत अर्थात् रु ४ अर्ब १५ करोडले वृद्धि गरी रु ९ अर्ब ५१ करोड आर्जन गर्न सफल भएको छ । सोही अवधिमा बैंकले खुद ब्याज आय ६५ प्रतिशत अर्थात् रु.२ अर्ब ७५ करोडले वृद्धि भई रु.६ अर्ब ६९ करोड आर्जन गर्न सफल भएको छ । 

बंैकले यस आर्थिक वर्षमा वार्षिक विन्दुगत आधारमा २७ प्रतिशत अर्थात् रु. ४६ अर्ब ७६ करोडको वृद्धिसहित वासलातको आकार रु. २१७ अर्ब ७० करोड पुर्याउन सफल भएको छ । 

कर्जा प्रवाहमा यस बैंक अन्य सम्पूर्ण वाणिज्य बैंकहरु भन्दा शीर्ष स्थानमा रहन सफल भएको छ भने निक्षेप संकलनतर्फ सम्पूर्ण निजी स्तरका वाणिज्य बैंकहरुमध्ये शीर्ष स्थानमा रहन सफल भएको छ । बैंकको वार्षिक विन्दुगत आधारमा प्रतिशेयर आय १०८ प्रतिशतले वृद्धि भई रु. ३४.५६ तथा स्वपूँजीमा प्रतिफल १०८ प्रतिशतले वृद्धि गरी २५.१६ प्रतिशत कायम भएको छ ।