काठमाण्डौ। लघुवित्त कम्पनीमध्येकै ठूलो एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाको आईपीओमा तेस्रो दिन शुक्रबारसम्म मागभन्दा ३.६ गुुणा बढी कित्ताका लागि आवेदन परेको छ।

आईपीओ निश्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार आईपीओ निश्कासनको आज दिउँसो साढे ३ बजेसम्म २ लाख ९० हजार आवेदनबाट करिब १६ करोड २७ लाख कित्ता खरिदका लागि आवेदन परेको हो। 

यो कम्पनीले निश्कासन गरेको १०० रुपैयाँ अंकित दरका कुल ४७ लाख ५५ हजार कित्तामध्ये ०.५ प्रतिशत अर्थात ७४ हजार कित्ता साधारण सेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात् २ लाख ३७ हजार ८०० कित्ता साधारण सेयर सामूहिक लगानी कोषका लागि छुट्याई बाँकी रहेको ४४ लाख ४३ हजार २०० कित्ता सेयर सर्वसाधारणमा निष्कासन गरिएको हो। 

एनआइसी एशिया लघुवित्त एनआइसी एशिया बैंकको सहायक कम्पनी हो । यो कम्पनीले करिब ३ महिनाअघि धितोपत्र बोर्डबाट आइपीओ निश्कासनको स्वीकृति पाएको थियो । 

यो कम्पनीको आइपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आइपीओमा असार १४ गतेसम्म आवेदन दिन सकिनेछ । 

लघुवित्त कम्पनीको आइपीओ भएकोले पहिलो दिन नै ओभरसब्स्क्राइब्ड भएको छ । यसकारण यो कम्पनीको आइपीओमा १० देखि ५० कित्तासम्मका लागि आवेदन दिनु उचित हुने देखिन्छ ।  

आइपीओ खरिदका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सिआस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन गर्न सकिनेछ। साथै प्रयोगकर्ताले ‘मेरो सेयर’मार्फत पनि आवेदन गर्न सक्नेछन्।

यो वित्तीय संस्थाको दुई महिनाअघि सम्पन्न दोश्रो वार्षिक साधारणसभाले आइपीओ निश्कासन गरी सर्वसाधारणबाट पूँजी जुटाउने निर्णय गरेको थियो। 

यो कम्पनीले जारी गर्न लागेको आइपीओको आकार नेपालका माइक्रोफाइनान्स कम्पनीहरुले हालसम्म जारी गरेका आइपीओमध्येकै ठूलो हो। 

यो आइपीओलाई केयर रेटिङ्स नेपालले औसतभन्दा कम आधार जनाउने ग्रेड ४ प्लस रेटिङ दिएको छ। 

यस लघुवित्त वित्तीय संस्थाले स्थापनाको छोटो समयमै दुर्गम जिल्ला जाजरकोटमा रजिष्टर्ड कार्यालय स्थापना गरी वित्तीय पहुँच नपुगेका स्थानहरुलाई प्राथमिकता दिई मुलुकको १९ जिल्लाहरुमा ६१ शाखा कार्यालय स्थापना गरी विपन्न वर्गहरुलाई सहज वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ।