काठमाण्डौ । दोश्रो बजारमा एनआइसी एशिया बैंक चम्किएर बजार मूल्यको हिसाबले वाणिज्य बैंकहरुमध्येकै दोश्रो स्थानमा पुगेको छ । योसँगै एनआइसी एशियाको सेयरमूल्य एकवर्षकै सर्वाधिक समेत कायम भएको छ । 

एक वर्षअघिको परिदृश्य भने फरक थियो । केही महिना र केही साताअघिसम्म मात्र पनि एनआइसी एशिया बैंकको सेयर मूल्य एभरेष्ट बैंक र हिमालयन बैंकभन्दा कम थियो। तर, अहिले अवस्थामा पूरै परिवर्तन भएको छ । बुधबार(आज)देखि दोश्रो बजारमा एनआइसी एशिया बैंक दोश्रो धेरै सेयरमूल्य हुने वाणिज्य बैंक बन्न सफल भएको छ । 

एनआइसी एशिया बैंकले अब नवील बैंकलाई टक्कर दिनसक्ने आधार बनाएको छ । 

बुधबार दिउँसो करिब २ बजे यो समाचार तयार पार्दै गर्दा एनआइसी एशिया बैंकको सेयरमूल्य बढेर प्रतिकित्ता ६६४ रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष अर्थात सन् २०१९ को नोभेम्बर १९ मा एनआइसी एशियाको दोश्रो बजार मूल्य प्रतिकित्ता ४११ रुपैयाँ कायम भएको थियो । यसरी हिसाब गर्दा एक वर्षको अवधिमा एनआइसी एशिया बैंकको दोश्रो बजार मूल्य ६१.५५ प्रतिशतले बढिसकेको छ।

यो बैंकको वित्तीय विवरणहरु उत्साहजनक रहेका र कोभिडको कहरका बीच पनि २० प्रतिशत लाभांश घोषणा कारण लगानीकर्ता यसको सेयरप्रति आकर्षित बन्दै गएका छन् । आक्रामक व्यापार नीतिका कारण छोटो समयमै राम्रो प्रगति गरेका कारण एनआइसी एशिया छोटो समयमै वाणिज्य बैंकहरुमध्येको ब्लुचिप कम्पनी बन्न सफल बनेको छ । 

एनआइसी एशिया बैंकको सेयरमूल्यको बढोत्तरीको यो गति कायमै रहे केही महिनाभित्रै नवीललाई भेट्ने अवस्था देखिएको विश्लेषकहरु बताउँछन् । 
तर, नवील आफैं पनि निजी क्षेत्रको सबैभन्दा बलियो वाणिज्य बैंक भएका कारण उसलाई उछिन्न उति सजिलो भने छैन । दोश्रो बजार मूल्यकै हिसाबले  पनि नवील बैंक वाणिज्य बैंकमध्येकै पहिलो नम्बरमा छ र दोश्रो नम्बरमा रहेको एनआइसी एशिया बैंकसँगको मूल्यको अन्तर निकै फराकिलो छ । 

एक वर्षको अवधिको मूल्यको तुलना र विश्लेषण गर्दा नवीलको बढ्ने गति एनआइसी एशियाको जस्तो तीव्र भने छैन । जस्तो, नोभेम्बर १९, २०१९ मा नवील बैंकको दोश्रो बजार मूल्य ७५३ रुपैयाँ रहेको थियो। यो समाचार तयार पार्दासम्मको दोश्रो बजार मूल्य ८९७ रुपैयाँ रहेको छ । यसरी हेर्दा एक वर्षको अवधिमा नवीलको सेयरमूल्य १९ प्रतिशतले बढेको देखिन्छ । यो एक वर्षको अवधिमा नवीलको मूल्य पनि फेब्रुअरी २७ कै दिन ९५५ रुपैयाँको उचाईमा पुगेको थियो। 

एक वर्षअघिसम्म नवील र एनआइसी एशिया बैंकको दोश्रो बजार मूल्य बीचको अन्तर ३४२ रुपैयाँ रहेको थियो, जुन अहिले २३३ रुपैयाँमा सीमित भएको छ । यसको अर्थ एनआइसी एशिया बैंकले नवील बैंकसँगको मूल्यको अन्तर साँघुरो बनाउँदै लगेको छ भन्ने हो। 

लामो समयसम्म नवीलपछि र एनआइसी एशिया बैंकभन्दा अगाडि देखिएका एभरेष्ट बैंक र हिमालयन बैंकको दोश्रो बजार मूल्य भने घट्न थालेको छ । यो समाचार तयार पार्दासम्मको अवस्थामा एभरेष्ट बैंक र हिमालयन बैंक एनआइसी एशियाभन्दा पछाडि परेका छन् । 

एभरेष्ट बैंकको आजको बजार मूल्य प्रतिकित्ता ६५७ रुपैयाँ रहेको छ । यो मूल्य फेब्रुअरी २७ मा ८८० पुगेको थियो भने अघिल्लो वर्षको नोभेम्बर १९ मा ५५१ रुपैयाँ रहेको थियो। अघिल्लो वर्ष नोभेम्बर १९ मा एनआइसी एशियाको भन्दा एभरेष्ट बैंकको मूल्य १४० रुपैयाँले बढी थियो, तर अब भने एनआइसी एशियाको दोश्रो बजार मूल्य एभरेष्टभन्दा माथि पुगेको छ । 

यस्तै, वाणिज्य बैंकमध्ये महंगो मूल्य कायम हुने हिमालयन बैंकको मूल्य समेत घटेको छ । आज ५८० रुपैयाँमा यो बैंकको दोश्रो बजार मूल्य सीमित भएको छ । अघिल्लो वर्षको नोभेम्बर १९ मा यसको मूल्य ४८६ रुपैयाँ थियो भने फेब्रुअरी २७ मा ६९८ पुगेको थियो । अघिल्लो वर्षको नोभेम्बर १९ मा हिमालयन बैंकको सेयरमूल्य एनआइसी एशियाको भन्दा ७५ रुपैयाँले बढी थियो । तर, आज २ बजेसम्मको अवस्थामा एनआइसी एशिया बैंकको मूल्य हिमालयनको भन्दा ८४ रुपैयाँले बढी छ । 

कुनै बेलाको बजारको निकै राम्रो स्क्रीप्ट मानिने नेपाल इन्भेष्टमेन्ट बैंकको मूल्य भने अघिल्लो वर्षको नोभेम्बर १९ को भन्दा पनि कम देखिएको छ ।

अघिल्लो वर्ष नोभेम्बर १९ मा यो बैंकको दोश्रो बजार मूल्य प्रतिकित्ता ४२२ रुपैयाँ रहेको थियो, जुन यो समाचार तयार पार्दासम्म ४१९ रुपैयाँमा सीमित भएको छ । फेब्रुअरी २७ मा यो बैंकको मूल्य ४८४ रुपैयाँ रहेको थियो। 

यसरी कुनै बेला एनआइसी एशिया बैंकभन्दा अगाडि रहेको नेपाल इन्भेष्टमेन्ट बैंकको अहिलेको दोश्रो बजार मूल्य एनआइसी एशियाको भन्दा २४५ रुपैयाँले कम छ । 

दोश्रो बजार मूल्य बढेसँगै एनआइसी एशियाले बजार पूँजीकरणमा समेत तीव्र सुधार गरेको छ । आज कारोबार हुनुभन्दा अगाडि अपडेट तथ्यांकअनुसार एनआइसी एशियाको कुल बजार पूँजीकरण बढेर ६२ अर्ब ५८ करोड रुपैयाँभन्दा माथि पुगेको छ । 

बजार पूँजीकरणको हिसाबले एनआइसी एशियाभन्दा नवील बैंक धेरै माथि छ । नवील बैंकको कुल बजार पूँजीकरण ८९ अर्ब ४५ करोडभन्दा बढी छ ।

यस्तै, एभरेष्ट बैंकको बजारपूँजीकरण घटेर ५५ अर्ब ९८ करोडमा सीमित भएको छ भने हिमालयन बैंकको ५६ अर्ब १३ करोड रहेको छ । नेपाल इन्भेष्टमेन्ट बैंकको कुल बजार पूँजीकरण चाहिँ ६० अर्ब ९८ करोड रुपैयाँ रहेको छ । यसरी हेर्दा बजार पूँजीकरणमा पनि एनआइसी एशिया बैंक दोश्रो ठूलो वाणिज्य बैंक बन्न सफल भएको छ।