एनआईसी एसिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने गरी एनआईसी एसिया डाइनामिक डेप्ट फन्डका इकाइहरु यही मंसिर १२ गतेबाट बिक्री खुला हुँदैछ । यो फण्ड बिल्कुलै फरक प्रकृतिको खुल्लामुखी म्युचुअल फण्ड हो । 

एनआईसी एसिया बैंक लिमिटेड कोष प्रवद्र्धक तथा एनआईसी एसिया क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेका यो खुलामुखी म्युचुअल फन्डका १० रुपैयाँ अंकित दरका ५० करोड रुपैयाँबराबरको ५ करोड इकाइ निष्कासन गर्न लागिएको हो। बीजपुँजीबापत कुल निष्कासन गरिने इकाइको जम्मा १५ प्रतिशत अर्थात ७५ लाख इकाइ कोष प्रबद्र्धक एनआईसी एसिया बैंकलाई सुरक्षित राखी अधिकतम ४ करोड २५ लाख इकाइ सार्वजनिक रुपमा बिक्री लागि खुला गरिनेछ।

लगानीकर्ताहरुले न्यूनतम १०० इकाइदेखि अधिकतम ५० लाख इकाइसम्म खरिदका लागि आवेदन पेस गर्न सक्नेछन्। यो योजनाको निष्कासन बन्द छिटोमा मंसिर १६ गते र ढिलामा मंसिर २६ गते बैंकिङ समयपछि हुनेछ।

एनआइसी एशिया क्यापिटलले ल्याउन लागेको खुल्लामुखी फण्ड, यसको विशेषता, नेपालका म्युचुअल फण्ड र यस्ता उपकरणमा लगानी गर्दा हुने फाइदा लगायतका विषयमा केन्द्रीत रही एनआइसी एशिया क्यापिटलका प्रमुख कार्यकारी अधिकृत रामेन्द्र रायमाझीसँग गरिएको कुराकानीको सम्पादित अंश:

खुलामुखी योजना भर्खरै नेपालमा सुरु भएको छ, तर किन यसमा खासै आकर्षण देखिएन नि ?
नेपालको सन्दर्भमा खुलामुखी योजनाका बारेमा त्यति धेरै जानकारी नभएकोले यसमा लगानीकर्ताहरुको आकर्षण नदेखिएको हुनसक्छ । हाल नेपालमा अधिकाशं बन्दमुखी योजनाहरु मात्र संचालन भएकोले यस्ता प्रकृतिको फण्डको बारेमा आम जानमानसमा जानकारी नहुनु स्वभाविक हो । खुलामुखी योजना तथा यसको विशेषता र फाइदाहरुको बारेमा आम जनमानसमा जानकारी गराउन सकियो भने यस्ता प्रकृतिका फण्डमा विस्तारै आकर्षण बढ्दै जाने कुरा निश्चित छ । 

यसअघि पनि नेपाली बजारमा एउटा खुलामुखी योजना संचालनमा छ। खुलामुखी योजनामा किन लगानी गर्ने ? र तपाईँकै खुलामुखी योजनामा चाहिँ किन सहभागी हुने ? यसले कुन कुन क्षेत्रमा लगानी गर्दछ ?
हो । यो हाम्रो खुलामुखी योजना संचालनमा आउनुभन्दा पहिला एउटा खुलामुखी योजना संचलानमा आइसके पनि यस प्रकारको खुलामुखी योजना नेपालमा संचालनमा आएको पहिलोपटक हो । 

लगानी गर्नुको मुख्य उद्देश्य भनेको उक्त लगानीबाट भविष्यमा राम्रो प्रतिफल प्राप्त होस र आफूलाई आवश्यक परेको बेलामा सहजै रुपमा उक्त लगानी गरेको रकम बिनाझञ्झट निकाल्न सकियोस् भन्ने हुन्छ । खुलामुखी योजनामा लागनी गर्दा लगानीकर्ताहरुले आफूले चाहेको बेलामा आफ्नो लगानी गरेको रकम सहजै रुपमा झिक्न सकिने हुँदा यस प्रकारको योजनाको इकाईमा आजको मितिमा लगानी गर्दा लगानीकर्ताहरुले दुवै फाइदा लिन सक्ने देखिन्छ । 

हाम्रो योजनाको नाम नै डाईनामिक डेप्ट फण्ड छ । यसको अर्थ हो गतिशील प्रकृतिको योजना । जसले समय सापेक्षा लगानी रणनीति गराई लगानी सम्बन्धी निर्णय गर्दछ । यस योजनाको इकाई बिक्रीबाट संकलित रकमको ७५ प्रतिशतभन्दा बढी रकम निश्चित आम्दानी हुने उपकरणहरुमा लगानी गरिने हुँदा यस योजनामा लगानी गर्दा प्रतिफल सुनिश्चित रहेकोले आम लगानीकर्ताहरुलाई ढुक्क भएर यस “एनआईसी एशिया डाईनामिक डेप्ट फण्ड” को इकाईमा लगानी गर्न सक्नुहुनेछ । 

तपाईहरुको खुल्लामुखी योजनाका इकाई कहिलेदेखि बजारमा आउँछ रु लगानीकर्ताले कसरी लगानी गर्ने ?
योजनाको इकाईहरु यही मिति २०७७ साल मंसिर १२ गते शुक्रबार देखि १६ गते मंगलबारसम्म सार्वजनिक रुपमा निष्काशन तथा बिक्री खुल्ला गरिएको छ । यस योजनामा लगानी गर्नका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सि–आस्वा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुमार्फत आवेदन दिन सकिनेछ । यसका साथै 'मेरो शेयर' प्रयोगकर्ताहरुले सहजै रुपमा 'मेरो शेयर'मार्फत आवेदन दिन सक्नुहुनेछ । 

योजनाका अन्य विशेषता के के हुन् रु लगानीकर्ताहरुले पाउने रिटर्नको प्रक्षेपण कस्तो छ ?
हामीले मिति २०७७ साल मंसिर १२ गते देखि सर्वसाधारमा जारी गर्न लागिएको सामूहिक लगानी कोष योजनाको नामले नै धेरै कुरा गरे जस्तो लाग्छ मलाई । यस योजनाको नाम नै डाईनामिक डेप्ट फण्ड भएकोले यस योजनाको अधिकाशं रकम निश्चित आय हुने लगानीका क्षेत्रहरुमा लगानी गरिने यसको मुख्य विशेषता हो । 

योजनाको सम्पत्तिको बाँडफाँड गर्दा निश्चित आम्दानी हुने उपकरणहरु अर्थात योजनाको आकारको आधारमा स्थिर आय हुने क्षेत्रमा १५ प्रतिशत, बण्ड डिबेन्चर तथा मुद्रा बजार उपकरण माग तथा अल्प सूचनामा प्राप्त हुने रकममा ६५ प्रतिशत र बाँकी २० प्रतिशत सार्वजनिक निष्कासनमार्फत जारी गरिने साधारण शेयर तथा सूचिकृत कम्पनीहरुको शेयरमा लगानी गरिने हुँदा लगानीबाट उचित मुनाफा आर्जन हुने हुदाँ लगानीकर्ताहरुले समेत नियमित रुपमा लाभाँश तथा चाहेको बेलामा कायम न्याभमा आफूले होल्ड गरेको इकाई बिक्री गर्न सक्नेछन् । यस योजनाको सम्पत्ति मूल्यमा (न्याभ) पहिलो वर्ष नै १०.८३ कायम हुने प्रक्षेपण गरिएको छ ।  

मर्चेण्ट बैंकरहरुले आफ्ना म्युचुअल फण्डको योजनाअन्तर्गत खासै कमाउन नसकेको आरोप छ, यस्तो बेलामा खुल्लामुखी फण्डले के प्रभाव पार्छ ? राम्रो रिटर्न नदिएका कारण म्युचुअल फण्डहरुप्रति लगानीकर्ताको मोह भंग भइरहेको बेला तपाईहरुको खुल्लामुखी फण्डको प्रभाव कस्तो होला ?
विगत लामो समयदेखि धितोपत्रको दोश्रो बजार निरन्तर घट्दो क्रममा रहेको बेला बजारमा संचालित अधिकाशं सामूहिक लगानी कोष योजनाहरुबाट सोचेको जस्तो प्रतिफल नआएको हुनसक्छ । तर हाम्रो हकमा हेर्ने हो भने हामीहरुले संचालन गरिरहेको दुईवटा नै फण्डमा लगानी गर्ने इकाईधनीहरुलाई उचित मुनाफा वितरण गर्न सफल भइरहेका छौं । यहाँहरुलाई थाहै 
छ हाम्रो पहिलो सामूहिक लगानी कोष योजना एनआईसी एशिया ग्रोथ फण्ड हो, जुन फण्ड संचालनमा आउँदा नेप्से परिसूचक १३ सय ५० को हारहारीमा थियो र उक्त फण्ड संचालनमा आएको पहिलो बर्षको अन्तमा नेप्से परिसूचक घटेर १२ सयको हाराहारीमा आउँदा समेत इकाईधनीहरुलाई १० प्रतिशत लाभाँश खुवाउन सफल भएको थियौं भने उक्त फण्ड संचालनको दोश्रो बर्षमा १२ प्रतिशत लाभाँश वितरण गर्न सफल भइसकेका छौं । 

यसैगरी, हाम्रो दोश्रो योजना एनआईसी एशिया ब्यालेन्सड् फण्ड संचालन गरेको पहिलो ९ महिनामै ८ प्रतिशत लाभाँश वितरण गर्न सफल भएका छौं । हालसम्म ग्रोथ फण्डबाट २२ प्रतिशत लाभाँश वितरण गरिसकेपछि पनि हाल यसको न्याभ १२.९१ भन्दा माथि कायम गर्न सफल भएका छौं भने दोश्रो ब्यालेन्सड् फण्डको ८ प्रतिशत लाभाँश वितरण गरेपश्चात् उक्त फण्डको न्याभ १२ भन्दा माथि कायम गर्न सफल भएका छौं । त्यसैले हाम्रो हकमा हामीले संचालन गरेको सामूहिक लगानी कोष प्रति बजारमा त्यस्तो आरोप नलाग्नु पर्ने हो । 

हाल नेपालमा अधिकाशं बन्दमुखी योजनाहरु मात्र संचालनमा रहेका छन । जुन विश्वभरी नै अप्रचलित (फेजआउट) हुने चरणमा रहेका छन् भने संचालनमा रहेको फण्डहरु पनि खुलामुखी योजनामा परिणत गरिरहेको पाइन्छ । त्यसैले विस्तारै नेपालमा पनि खुलामुखी संचालनमा आउने मेरो विश्वास रहेको छ । खुलामुखी योजनाको विशेषता तथा यसका फाईदाको बारेमा आम लगानीकर्ताहरुलाई जानकारी गराउन सकिएको अवस्थामा खुलामुखी योजना प्रति लगानीकर्ताको आकर्षण बढ्ने देखिन्छ । 

गत आर्थिक वर्षको मुनाफाबाट अधिकाशं सामूहिक लगानी कोष योजनाहरुले समयमै केही न केही लाभाँश घोषणा गरी इकाईधनीहरुलाई वितरण समेत गरिसकेका छन् । अधिकाशं योजनाहरुले लाभाँश वितरण गर्नसक्ने क्षमता हुँदाहुँदै पनि कम लाभांश वितरण गरेको देखिन्छ । कम लाभांश वितरण गर्नुको मुख्य कारण भनेको लाभांश दिने रकमलाई समेत पुनः लगानी गर्दा आगामी वर्षहरुमा अझ बढी लाभांश वितरण गर्न सकिने सम्भावना भएकोले यस्तो निर्णय गरेको देखिन्छ । कार्तिक मसान्त, २०७७ मा बजारमा संचालित सम्पूर्ण योजनाहरुको न्याभ हेर्दा सम्पूर्ण म्युचुअल फण्डको न्याभ उच्च दरमा बढेकोले विस्तारै लगानीकर्ताहरुमा म्युचुअल फण्डप्रति आर्कषण बढ्दै जानेमा म विश्वस्त छु । हाम्रो हकमा भन्ने हो भने विगतमा संचालित योजनाको प्रदर्शन तथा संचालन गर्न लागिएको खुलामुखी योजनाको आफैंमा छुट्टै विशेषता भएको सहजै रुपमा बिक्री हुने विश्वास लिएको छु । 

खुलामुखी योजनामा लगानीकर्ताहरुले पाउने फाइदाहरुबारे प्रकाश पारिदिनुहोस् ।
खुलामुखी योजनाको प्रमुख फाइदा भनेको आफूले लगानी गरेको रकम सहज रुपमा योजना व्यवस्थापक तथा तोकिएका वितरकहरुमार्फत खरिदबिक्री गर्न सकिने हो । हाम्रो फण्डमा संकलित अधिकांश रकम डेप्ट मार्केटमा लगानी गरिने हुँदा यस फण्डमा लगानी गर्दा लगानीकर्ताहरुले स्थिर र नियमित आय प्राप्त हुने, लगानीमा कम जोखिम, लगानीे विविधिकरण, इकाईको खरिद बिक्री गर्दा कारोवार शुल्क नलाग्ने, नियमित रुपमा निश्चित रकम थप गर्दै जान सकिने व्यवस्था तथा कारोवारको राफसाफ तुरुन्तै हुने जस्ता धेरै फाइदाहरु रहेका छन् । 

अन्तमा, म्युचुअल फण्डहरु सूचना,प्रविधि र प्राविधिक संयोजनमा अब्बल हुन्छन् भन्ने सुनिन्छ तर, नेपालमा म्युचुअल फण्डहरु केबल सामान्य लगानीकर्ताकै रणनीतिमा चलिरहेका र अपेक्षित रिटर्न हासिल गर्न पनि सकिरहेका छैनन् । यस्तो किन भएको होला ?
हो म्युचुअल फण्डहरु सूचना, प्रविधि र प्राविधिक संयोजनमा अब्बल हुन्छन् । तर बजारमा त्यसको अनुभव नगर्नुको प्रमुख कारण भनेको नेपालमा म्युचुअल फण्डहरुको सुरुवाती चरणमा बैंक तथा वित्तीय क्षेत्रका कम्पनीहरुको मात्र बाहुल्यता रहेको थियो । दोश्रो बजारमा सीमित कम्पनीहरुको शेयरको कारोवार गर्नुपर्ने बाध्यता थियो । त्यसैले सर्वसाधारणहरुमा त्यस प्रकारको बुझाई हुनु स्वभाविक हो । तर हाल समय फेरिएको छ । धितोपत्रको दोश्रो बजारमा विस्तारै अन्य क्षेत्रका कम्पनीहरु धमाधम सूचिकृत हुँदै गइरहेका छन् । बैंक तथा वित्तीय संस्थाहरुले जारी गरेको ऋणपत्रहरु समेत विस्तारै धितोपत्रको दोश्रो बजारमा कारोवार हुन थालेको देखिन्छ । 

नेप्सेमा सूचिकृत कम्पनी बढ्दैं जानु, समग्र बजारको मार्केट क्यापिटलाइजेसन तथा दायरा बढ्दो क्रममा रहेको छ र यो अझै बढ्दो क्रममा देखिन्छ । त्यसैले आगामी दिनमा धितोपत्रको दोश्रो बजारमा लगानी गर्दा निकै नै सुझबुझ तरिकाले लगानी गर्नुपर्ने देखिन्छ । म्युचुअल फण्डहरुले लगानी गर्दा सम्बन्धित कम्पनी विगत वर्तमान र भविष्य तथा देशको समग्र आर्थिक स्थिति र अन्य सम्बन्धित पक्षयको राम्रोसँग अध्ययन गरेर मात्र लगानी सम्बन्धी निर्णय लिने हुँदा आगामी दिनहरुमा म्युचुअल फण्डहरुमा लगानी गर्ने लगानीकर्ताहरुले उचित मुनाफा लिनसक्ने छन् ।  सामान्यतया सर्वसाधारण लगानीकर्ताहरुले धितोपत्रको दोश्रो बजार बढ्दो क्रममा मात्र रिटर्न गरिरहेको देखिन्छ, तर म्युचुअल फण्डहरुले समग्र स्थितिको राम्रोसँग अध्ययन अनुसन्धान गरेर मात्र लगानी गर्ने हुँदा धितोपत्रको दोश्रो बजार घट्दा समेत उचित मुनाफा आर्जन गरी इकाईधनीहरुलाई लाभाँश वितरण गर्ने सक्दछन् भन्ने कुरा हाम्रो यस अगाडि संचालन रहेका फण्डहरुबाट वितरण गरेको लाभाँश हेरेरै यकिन पाउन सक्नुहुनेछ ।