काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एनआइसी एशिया बैंकले कमालको प्रगति गरेको छ । यो बैंकको लाभांश क्षमता करिब १०९ प्रतिशतले बढेको छ भने खूद नाफा र संचालन मुनाफामा झनै ठूलो छलाङ मारेको छ । 

अघिल्लो वर्षको पहिलो त्रैमासमा बैंकको वितरणयोग्य मुनाफा २७ करोड ८६ लाखमा सीमित रहेकोमा बढेर समीक्षा अवधिसम्म ५८ करोड २२ लाख पुगेको छ।

यस्तै, २७ करोड ८६ लाखमा सीमित खूद नाफा १७०.०९ प्रतिशतले बढी ७५ करोड २६ लाखको  उचाईमा पुगेको छ भने ३७ करोड ८२ लाखमा सीमित संचालन मुनाफामा १८१ प्रतिशतको हाराहारीमा वृद्धि भई १ अर्ब ६ करोड पुगेको छ । 

बैंक व्यवस्थापन शाखा बिस्तारसँगै व्यवसाय बिस्तारमा समेत आक्रामक बन्दै गएको देखिएको छ । यहीकारण खूद ब्याज आम्दानी अघिल्लो वर्षको पहिलो त्रैमासको तुलनामा २१२.०७ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष ५९ करोड ६९ लाख रुपैयाँ रहेको यस्तो आम्दानी बढेर १ अर्ब ८६ करोडको उचाईमा पुगेको हो।

बैंकले समीक्षा अवधिमा १ खर्ब ६१ अर्ब निक्षेप संकलन गरी १ खर्ब ३९ अर्ब बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको तुलनामा यो बैंकले निक्षेप करिब ५६ प्रतिशतले बढाएको छ भने कर्जातर्फ ६०.५५ प्रतिशतको फड्को मारेको छ । 

बैंकले रिजर्बकोषतर्फ पनि निकै राम्रो छलाङ मारेको छ । अघिल्लो वर्षको यही अवधिसम्म २ अर्ब ३६ करोड रहेको कोषको आकार बढी ५ अर्ब ९ करोडको उचाईमा पुगेको छ । 

अधिकांश सूचकमा उत्साहजनक वृद्धि देखिए पनि खराब कर्जाको अनुपात भने बढेको छ । अघिल्लो वर्ष ०.०६ प्रतिशत रहेको यस्तो कर्जाको अनुपात बढेर ०.२६ प्रतिशत पुगेको हो । 

समीक्षा अवधिमा यो बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी पनि १७०.०९ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष १३ रुपैयाँ ८८ पैसा रहेको इपीएस बढेर ३७ रुपैयाँ ४९ पैसा पुगेको हो । 

यो अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १६३.४६ रुपैयाँ पुगेको छ ।