-सचिन्द्र ढुंगाना, सहायक महाप्रबन्धक- एनआईबिएल एस क्यापिटल

एनआईबिएल एस क्यापिटलले नयाँ म्युचुअल फन्ड योजनाका इकाइहरु निष्कासन गरेको छ । यो कस्तो खालको योजना हो ?

-हो, हामीले एनआईबिएल समृद्धि फन्ड २ नामको नयाँ म्युचुअल फन्ड योजनाको इकाइहरु सर्वसाधारणमा यही वैशाख १३ गते(आज)देखि १६ गतेसम्मका लागि बिक्री खुला गर्दैछौँ। हाम्रो पहिलो योजना एनआईबिएल समृद्धि फन्ड १ आउँदो पुसमा अवधि सकिँदैछ र सोही योजनाको मोडालिटीमा हामीले यो योजना बजारमा लिएर आएका हौँ। यो एक प्रकारको बन्दमुखी म्युचुअल फन्ड हो। यसको आकार १ अर्ब २० करोड रुपैयाँ र समयावधि १० वर्षको रहनेछ। यसलाई हामी ब्यालेन्सड् स्किम पनि भन्न सकिन्छ।

बजारमा आएका अधिकांश म्युचुअल फन्डले सेयरमा लगानी गरिरहेका छन्। यो म्युचुअल फन्डले पनि सेयरमा मात्र लगानी गर्ने हो वा अन्य उपकरणमा पनि लगानी गर्छ ?
-बजारमा आएका अधिकांश म्युचुअल फन्डले सेयरमा मात्र लगानी गरिरहेका छन् भन्दा यसको नीतिगत व्यवस्थालाई अलिकति ध्यान दिनुपर्ने हुन्छ। नेपाल धितोपत्र बोर्डले जारी गरेको म्युचुअल फन्डसँग सम्बन्धित ऐन, नियमावली र निर्देशिकाहरुमा नै म्युचुअल फन्डले लगानी गर्ने क्षेत्रहरुको दायरा र सीमा निर्धारण गरेको छ। जसमा विभिन्न सूचीकृत कम्पनीहरुको सेयर, बोन्ड, डेबेन्चर र बैंक निक्षेपजस्ता क्षेत्रमात्र छन् र सोहीअनुरुप गर्ने गरिन्छ। हाम्रो यस योजनाले पनि सोहीअनुरुप लगानी गर्ने गर्छ।

आम लगानीकर्ताले बुझ्ने गरी यो म्युअुल फन्डका बारेमा प्रकाश पारिदिनुहुन्छ कि ?
-नेपाल इन्भेस्टमेन्ट बैंक कोष प्रवर्द्धक र हामी एनआईबिएल एस क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको एनआईबिएल म्युचुअल फन्डअन्तर्गत सञ्चालन हुने यो चौथो म्युचुअल फन्ड योजना हो। प्रतिइकाइ रु. १० को दरले १२ करोड इकाइबराबरको रु. १ अर्ब २० करोडबराबरको १० वर्षे ब्यालेन्सड् स्किमका रुपमा यस योजनालाई हामीले बजारमा लिएर आएका हौँ र सार्वजनिक निष्कासनपश्चात यसका सम्पूर्ण इकाइ स्टक एक्सचेन्जमा सूचीकृत भई दोस्रो बजारमा कारोबार हुने व्यवस्था मिलाइनेछ।

खुलस्त रुपमा भन्नुपर्दा यो म्युचुअल फन्डका उद्देश्यहरु के–के छन् ?
-हाम्रो यस योजनाको प्रमुख उद्देश्य भनेको नै लगानीकर्तालाई यस योजनाको अवधिभर उत्कृष्ट प्रतिफल दिने नै रहेको छ र यसका बाबजुद योजनामा संकलित रकमलाई केही प्रतिशत संस्थागत बोन्ड डेबेन्चरमा, केही प्रतिशत बैंक मुद्दति निक्षेप, केही प्रतिशत बैंक मौज्दातमा र बाँकी सेयर मार्केटमा लगानी गरेर ब्यालेन्सड् पोर्टफोलियो निर्माण गर्दै लगानी जोखिमलाई सन्तुलित गरी निरन्तर प्रतिफल दिने उद्देश्य रहेको छ र बजारमा एउटा दीर्घकालीन लगानीको उपकरणका रुपमा स्थापित गर्ने योजनासमेत रहेको छ।

हाल बजारमा खुला र बन्दमुखी गरी २१ वटा म्युचुअल फन्डहरु आइसकेका छन्। लगानीकर्ताले यो म्युचुअल फन्डमै किन लगानी गर्ने ?
-बजारका सबै फन्डहरुको प्रमुख उद्देश्य भनेकै लगानीकर्ताहरुको जोखिम कम गरेर उच्च प्रतिफल दिने नै हुन्छ। हाम्रो पनि दृढ संकल्प त्यही नै हो। अर्को पक्ष चाहिँ नेपालमा सञ्चालन भइरहेका म्युचुअल फन्डका योजनाहरु मैले सुरुमा भनेझैँ नेपाल धितोपत्र बोर्डमार्फत जारी भएका सामूहिक लगानी कोष नियमावली तथा निर्देशिकाबमोजिम नै सञ्चालन हुने हुन्छन्। जसले गर्दा योजनाहरुले लगानी गर्ने क्षेत्रहरु लगभग सबै योजनाका उस्तै नै हुने गर्दछन् तर फन्डको पुँजी परिचालन गर्ने प्रक्रिया, लगानी गर्ने कम्पनीहरुको छनौटजस्ता विभिन्न व्यवस्थापकीय र रणनीतिक कुशलता साथै अनुसन्धानमूलक लगानीको दक्षताका आधारमा योजनाहरुले बजारमा आफ्नो स्थान निर्धारण गर्ने गर्दछन्। जसमा हामी अग्रणी स्थानमा नै छौँ जस्तो लाग्छ। जसका लागि हामीले अहिले सञ्चालन गरिरहेका अन्य योजनाहरुको प्रगतिलाई आधार मान्न सकिन्छ । यसका अलावा एनआईबिएल समृद्धि फन्ड २ मा पनि हामीले लगानीकर्तालाई १० वर्षे अवधिमा न्यूनतम २१.४३ प्रतिशतका दरले वार्षिक प्रतिफल वितरण गर्ने लक्ष्यका साथ योजना लिएर आएका छौँ र हामी आमलगानीकर्तालाई निर्धक्क भएर यस योजनामा दीर्घकालीन रुपमा लगानी गर्नसमेत आग्रह गर्न चाहन्छौँ।

यो म्युचुअल फन्डबाट लगानीकर्ताले प्रतिफल छिटोमा कहिले पाउँछन् ?
-यो आर्थिक वर्ष समाप्त हुन अब केही महिनामात्र बाँकी रहेको छ। त्यसैले आउँदो आर्थिक वर्षदेखि निरन्तर लाभांश वितरण गर्ने उद्देश्य रहेको छ।

एनआईबीएल एस क्यापिटलले हालसम्म कतिवटा म्युचुअल फन्ड ल्याएको छ ? ती म्युचुअल फन्ड र यो म्युचुअल फन्डमा फरक के–के छन् ?
-एनआईबिएल समृद्धि फन्ड–१ र एनआईबिएल प्रगति फन्ड साथै नेपालकै पहिलो खुलामुखी योजना एनआईबिएल सहभागिता फन्ड गरेर हाल जम्मा तीनवटा योजनाहरु सञ्चालनमा रहेका छन्। पहिलो योजना एनआईबिएल समृद्धि फन्ड–१ कै प्रकृतिको वा भनौँ सोही योजनालाई रेप्लिकेट गर्न एनआईबिएल समृद्धि फन्ड–२ लिएर आएका हौँ र एनआईबिएल प्रगति फन्ड एउटा इक्विटी बेस्ड योजना हो। जसको अर्थ यसमा हामीमात्र सेयरमा लगानी गर्छौ र अर्को खुलामुखी योजनाका रुपमा एनआईबिएल सहभागिता फन्ड रहेको छ।

यो क्यापिटलका अन्य नयाँ–नयाँ प्रडक्ट, स्किम र योजनाहरु के–के आउँदैछन् ?
-हाम्रो सधैँको उद्देश्य भनेको बजारलाई केही न केही नयाँ प्रडक्टहरु र केही नयाँ गर्नुपर्छ भन्ने सोचका साथ सम्बन्ध पक्षहरुसँग समन्वय र परामर्श गर्दै अघि बढिरहेका हुन्छौँ। यहीअनुरुप म्युचुअल फन्डमा पनि फरक–फरक किसिमको योजनाहरु सञ्चालन गरिरहेका छौँ र पहिलोपटक खुलामुखी योजना हामीले नै लिएर आएका हौँ। बुक बिल्डिङमा पनि काम गरिरहेका छौँ ।

त्यस्तै, संस्थागत परामर्श सेवालाई व्यावसायिक हिसाबले एउटा ठूलो लक्ष्य लिएर अघि बढिरहेका छौँ। त्यसैगरी भेन्चर क्यापिटल र प्राइभेट इक्विटीको कामलाई तीव्रताका साथ अघि बढाइरहेका छौँ र छिट्टै यसका लागि फन्ड ल्याउने योजना रहेको छौँ। अहिले सञ्चालनमा रहेका सेवाहरुलाई थप गुणस्तरीय बनाएर बजारमा अग्रणी रहेने कुरा त छँदैछ।

हाल एनआईबीएल एस क्यापिटलबाट आम लगानीकर्ताहरुले के–कस्ता सेवाहरु पाइरहेका छन् ?
-हामीले अहिले डिपि, म्युचुअल फन्ड व्यवस्थापन, सेयर रजिस्ट्रार, संस्थागत परामर्श सेवा, पोर्टफोलियो व्यवस्थापन सेवा, निष्काशन तथा बिक्री प्रबन्धक सेवा जस्ता विभिन्न सेवाहरुमार्फत निरन्तर सेवा प्रदान गर्दै आइरहेका छौँ र थप अन्य सेवाहरु निकट भविष्यमा प्रवाह गर्दै लगिनेसमेत प्रतिबद्धता जनाउन चाहन्छौँ।

अन्त्यमा प्राथमिक र दोस्रो बजारमा प्रवेश गरिरहेका नयाँ लगानीकर्तालाई कस्तो सुझाव वा सल्लाह दिन चाहनुहुन्छ ?
-बजारमा प्रवेश गर्नुपूर्व राम्रोसँग बजारको आधारभूत पक्षहरुका बारेमा जानकारी लिएरमात्र लगानी गर्नुहुन आग्रह गर्न चाहन्छु। साथै, बजारको जोखिमलाई मध्यनजर गरी आफूले लगानी गर्ने कम्पनीहरुको राम्रो अध्ययन गरेरमात्र र कसैको लहैलहैमा नलागी लगानी गर्नुहुन अनुरोध गर्न चाहन्छु।