काठमाण्डौ । गत आर्थिक वर्षको लाभांश अनुमोदन गर्दै एनआईबिएल एस क्यापिटल लिमिटेडको १० औँ वार्षिक साधारणसभा आज शुक्रबार सम्पन्न भएको छ। 

काठमाण्डौको लाजिम्पाटस्थित क्यापिटलको रजिस्टर्ड कार्यालय भएको सभाले सामान्य प्रस्तावअन्तर्गत आर्थिक वर्ष २०७८–७९ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०७९ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायत वार्षिक वित्तीय विवरणउपर छलफल गरी पारित गरेको छ।

सभाले सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम चुक्तापुँजीको २० प्रतिशत (करसहित) का दरले हुन आउने रु. ५ करोड ४० लाख नगद लाभांश वितरण गर्ने प्रस्तावसमेत पारित गरेको छ।

सभामा प्रस्तुत विशेष प्रस्तावअन्तर्गत मुख्य कम्पनी नेपाल इन्भेस्टमेन्ट बंैक हाल गाभ्ने र गाभिने प्रक्रियामा रहेको र मुख्य कम्पनी नेपाल इन्भेस्टमेन्ट बैंक अन्य मर्चेन्ट बैंकिङ व्यवसाय सञ्चालन गरिरहेका बंैक तथा वित्तीय संस्थाहरुसँग गाभिएमा धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) नियमावली, २०६४ को नियम २९(क) बमोजिम सो कम्पनीसँग गाभ्ने र गाभिने तथा अन्य मर्चेन्ट बैंकिङ व्यवसाय सञ्चालन गरिरहेका कम्पनीहरुसँग गाभ्ने र गाभिने सन्दर्भमा समेत प्रचलित कानुन तथा निर्देशनहरुबमोजिम अपनाउनुपर्ने तथा गर्नुपर्ने सम्पूर्ण आवश्यक कार्य, प्रक्रियाहरु पूरा गरी अख्तियार प्राप्त निकायबाट अन्तिम स्वीकृति लिने तथा सो सन्दर्भमा नियामक निकायहरुबाट निर्देश गरेबमोजिमका विवरण उपलब्ध गराउनेलगायतका कार्य गर्न गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने तथा सञ्चालक समितिको भत्ता वृद्घि गर्ने प्रस्तावसमेत पारित गरेको छ।

क्यापिटलको एकमात्र सेयरधनी नेपाल इन्भेस्टमेन्ट बैंकका प्रतिनिधि तुलजंग पाण्डेले बैंकका तर्फबाट प्रतिनिधित्व गरेका थिए। सभाको सभापतित्व सञ्चालक समितिका अध्यक्ष सचिन टिवडेवालले गरेका थिए। 

सभामा सञ्चालक समिति सदस्य दीपककुमार श्रेष्ठ, सिर्जना पाण्डे, रवीन्द्र भट्टराई र आनन्दकुमार भट्टराईको समेत उपस्थिति थियो। 

त्यसैगरी नियमन निकायका प्रतिनिधीहरु, लेखापरीक्षक तथा कम्पनीका प्रमुख कार्यकारी अधिकृत, कम्पनी सचिव लगायत अन्य पदाधिकारीहरुको समेत उपस्थितिमा सभामा थियो। 

अत्याधुनिक प्रणालीको व्यावसायिक उपभोग गर्ने रणनीतिअनुरुप क्यापिटलले प्रदान गर्ने सेवाहरुसमेत अनलाइनमार्फत गर्न सकिने व्यवस्था मिलाएको छ। क्यापिटलले प्रदान गर्ने सेवाहरुलाई छिटोछरितो बनाई ग्राहकको आवश्यकता र चाहनाअनुसार सेवा उपलब्ध गराउने मुख्य उद्देश्यका साथ सेवालाई थप परिस्कृत गर्दै आगामी दिनमा शाखा सञ्जालको विस्तार गर्नेसमेत जनाएको छ। 

क्यापिटलले हाल सेयर रजिस्ट्रार, निष्कासन तथा बिक्री प्रबन्ध, सेयर प्रत्याभूति, लगानी व्यवस्थापन, निक्षेप सदस्य, संस्थागत परामर्शलगायतका मर्चेन्ट बैंकिङसम्बन्धी सम्पूर्ण सेवाहरु प्रदान गर्दै आइरहेको छ। यसका साथै समूहिक लगानी कोषतर्फ एनआईबिएल म्युचुअल फन्डअन्तर्गत हाल दुई बन्दमुखी योजना तथा एक खुलामुखी योजनासमेत सञ्चालनमा रहेको छ। 

एनआईबिएल म्युचुअल फन्डअन्तर्गत सञ्चालित एनआईबिएल सहभागिता फन्डमा नेपालकै पहिलो खुलामुखी योजनासमेत रहेको छ।

क्यापिटलले नेपाल धितोपत्र बोर्डबाट विशिष्टीकृत लगानी कोष ब्यवस्थापकको अनुमतिपत्रसमेत प्राप्त गरिसकेको र यथाशीघ्र विशिष्टीकृत लागनी कोष सञ्चालन गर्नेसमेत जनाएको छ।