काठमाण्डौ । एनआईबीएल म्युचुअल फन्डअन्तर्गत सञ्चालित एनआईबीएल सहभागिता फन्डको प्रतिइकाइ खुद मूल्य (न्याभ) भदौ मसान्तसम्म ११.२० रुपैयाँ पुगेको छ।

एनआईबीएल एस क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित यो म्युचुअल फन्डको न्याभ गत साउनको तुलनामा ६४ पैसाले बढेको हो । गत साउनमा यो फन्डको न्याभ १०.५६ रुपैयाँ रहेको थियो। 

यो फन्डले गत भदौसम्म १९.०६ प्रतिशतले लगानी बढाएको छ। गत साउनसम्म १५ करोड ६ लाख रुपैयाँ लगानी गरेको यो फन्डले भदौ मसान्तसम्म बढाएर १७ करोड ९३ लाख रुपैयाँ लगानी गरेको छ। 

यो फन्डले भदौ मसान्तसम्म सूचीकृत सेयरमा १३ करोड ११ लाख रुपैयाँ, ऋणपत्र तथा बन्डमा १ करोड २५ लाख रुपैयाँ, सार्वजनिक निष्कासन, हकप्रद सेयर र बोनस सेयरमा ६७ लाख ३१ हजार रुपैयाँ तथा बैंक मुद्दति निक्षेपमा ३ करोड ५० रुपैयाँ लगानी गरेको छ। गत साउनसम्म सूचीकृत सेयरमा १० करोड ६९ लाख रुपैयाँ, ऋणपत्र तथा बन्डमा १ करोड २५ लाख रुपैयाँ, सार्वजनिक निष्कासन, हकप्रद सेयर र बोनस सेयरमा ११ लाख ४३ हजार रुपैयाँ तथा बैंक मुद्दति निक्षेपमा ३ करोड रुपैयाँ लगानी गरेको थियो।

यो म्युचुअल फन्डको भदौ मसान्तसम्म कुल आय २ करोड ३ लाख रुपैयाँ रहेको छ। गत महिनासम्म कुल आय ६५ लाख ७७ हजार रुपैयाँ रहेको थियो। 

यस म्युचुअल फन्डले सूचीकृत भएका १६ वटा वाणिज्य बैंक, ३ वटा विकास बैंक, २ वटा वित्तीय संस्था, एउटा जलविद्युत् कम्पनी, ३ वटा जीवन बीमा कम्पनी, २ वटा निर्जीवन बीमा कम्पनी, १० वटा लघुवित्त कम्पनी, म्युचुअल फन्ड र अन्य समूहका एउटा÷एउटा कम्पनीमा लगानी गरेको छ।