काठमाण्डौ । एनआईसी एसिया बैंक लिमिटेडले लिलामीमा राखेको आफ्नो स्वामित्वमा रहेका तीन कम्पनीका संस्थापक सेयरमा बोलपत्र पेस गर्ने आज बुधबार अन्तिम दिन रहेको छ।

बैंकले सिटिजन इन्भेस्टमेन्ट ट्रस्ट, सूर्या लाइफ इन्स्योरेन्स कम्पनी र एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा रहेका कुल ५ लाख ३६ हजार ५५४ कित्ता संस्थापक सेयर गत मंसिर ७ गतेदेखि लिलामीमा राखेको छ। लिलामीमा राखिएका सेयरहरुमध्ये सिटिजन इन्भेस्टमेन्टको २ लाख २ हजार ५६० कित्ता, सूर्या लाइफ इन्स्योरेन्सको १ लाख ९३ हजार १९४ कित्रा र एसियन लाइफ इन्स्योरेन्सको १ लाख ४० हजार ८०० कित्ता रहेका छन्।

लगानीकर्ताले आज बैंकिङ समयसम्म बोलपत्र पेस गर्न सक्नेछन्।लगानीकर्ताले गोप्य शिलबन्दी बोलपत्र काठमाण्डौको बबरमहलस्थित एनआईसी एसिया क्यापिटल लिमिटेड, काठमाण्डौको थापाथलीस्थित एनआईसी एसिया बैंकको कर्पोरेट कार्यालय र शाखा कार्यालयहरु विराटनगर, वीरगन्ज, महेन्द्रपुल पोखरा, बुटवल, धनगढी र सुर्खेतमा पेस गर्न सक्नेछन्। 

लिलामीमा राखिएको सिटिजन इन्भेस्टमेन्टको संस्थापक सेयर खरिदका लागि बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीबाहेकका अन्य कम्पनी तथा व्यक्तिहरु सहभागी हुन सक्ने छैनन्। 

यसैगरी सूर्या लाइफ र एसियन लाइफको सेयरमा प्रचलित कानुनबमोजिम योग्य लगानीकर्ताहरुले बोलपत्र पेस गर्न सक्नेछन्। 

बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्ता वा सोभन्दा माथि १० ले भाग जाने गरी अधिकतम सम्पूर्ण कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ। आवेदकले आफूले लिन चाहेको सेयर कित्ता संख्या, प्रतिकित्ताको दररेट अंक र अक्षरमा स्पष्ट लेख्नुपर्नेछ।