काठमाण्डौ । एनआईसी एसिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने एनआईसी एसिया डाइनामिक डेप्ट फन्डका ३ करोड ७० लाख इकाइ हालसम्म बिक्री भइसकेको छ।

गत शुक्रबार (मंसिर १२ गते) देखि यो खुलामुखी म्युचुअल फन्डका १० रुपैयाँ अंकित दरका ५० करोड रुपैयाँबराबरको ५ करोड इकाइ बिक्री खोलिएको थियो। हालसम्म ६० हजार आवेदकबाट ३७ करोड रुपैयाँबराबरका इकाइ खरिदका लागि आवेदन परिसकेको योजना व्यवस्थापक एनआईसी एसिया क्यापिटल लिमिटेडले जनाएको छ। 

एनआईसी एसिया बैंक लिमिटेड कोष प्रबद्र्धक रहेको यो योजनाका इकाइहरुको बिक्री बन्द छिटोमा भोलि (मंसिर १६ गते) र ढिलामा मंसिर २६ गते बैंकिङ समयपछि हुनेछ। भोलिसम्म बाँकी इकाइहरु पनि बिक्री भइसक्ने सम्भावना रहेको एनआईसी एसिया क्यापिलले जनाएको छ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुका साथै मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्। आवेदकले न्यूनतम १०० इकाइ र अधिकतम ५० लाख इकाइका लागि खरिद आवेदन दिन सक्नेछन्।

यो योजनालाई नेपाल धितोपत्र बोर्डले गत कात्तिक २१ गते निष्कासनको अनुमति दिएको थियो। बीजपुँजीबापत कुल निष्कासन गरिने इकाइको जम्मा १५ प्रतिशत अर्थात ७५ लाख इकाइ कोष प्रबद्र्धक एनआईसी एसिया बैंकलाई सुरक्षित राखी अधिकतम ४ करोड २५ लाख इकाइ सार्वजनिक रुपमा बिक्री खुला गरिएको हो।

नेपालमा खुलामुखी म्युचुअल फन्ड निश्कासनको सुरुवात एनआइबिएल एस क्यापिटलले गरेको हो। तर, खुलामुखी म्युचुअल फन्ड भनेर सुरुवात गरिएको फण्डले बन्दमुखी प्रकृतिकै व्यापार गरेपछि नेपाली बजारमा खासै चल्न सकेन। 
खुलामुखी म्युचुअल फन्डकै अनुभूत गराउन एनआइबिएल एस क्यापिटलले नसकिरहेको बेला एनआइसी एसिया क्यापिटलले भने खुलामुखी फन्ड ल्याउन लागेको हो। 

क्यापिटलको यो फन्डमार्फत ऋणपत्र, निश्चित रिटर्न आउने लगानीका अन्य औजारहरुमा लगानी गरी इकाईधनीलाई रिटर्न दिनेछ। 

खुलामुखी म्युचुअल फन्डका इकाई बन्दमुखीजस्तो नेप्सेमा सूचीकृत हुँदैनन्। योजना व्यवस्थापकमार्फत नै खरीदबिक्री हुन्छ। लगानी गर्दै जाँदा त्यसबाट आउने रिटर्नका आधारमा यस्ता फन्डको न्याभ हेरफेर हुँदै जान्छ र रियल टाइममा कायम न्याभमै लगानीकर्ताले चाहेको समयमा बिक्री गर्न सक्छन्। 

यसैबीच एनआइसी एसिया क्यापिटलले सेलेक्ट थर्टी नामको १ अर्ब रुपैयाँबराबरको बन्दमुखी फन्डका लागिसमेत धितोपत्र बोर्डमा आवेदन दिएको छ। यो फन्डले चाहि सेयर बजारका टप ३० कम्पनीमा मात्र लगानी गर्नेछ।