काठमाण्डौ । एनआईसी एसिया बैंकले आफ्नो मोबाइल बैंकिङमार्फत ग्राहकलाई आफैँ मुद्दति खाता खोल्न सक्ने सुविधाको थालनी गरेको छ।

डिजिटल बैंकिङको प्रवद्र्धनका साथै आफ्ना ग्राहकलाई अनलाइन माध्यमबाट मुद्दति खाता खोल्ने सुविधा दिई सहज बैंकिङको प्रत्याभूति गराउन बैंकले यो नवीन सेवा सुरु गरेको हो। बैंकका ग्राहकले एनआईसी एसिया मोबैंक एपमा रहेको फिक्स्ड डिपोजिट आइकनमा ट्याप गरी जुनसुकै स्थान तथा समयमा मुद्दति खाता खोल्न सक्नेछन्। 

यस बैंकमा ग्राहकले कम्तीमा तीन महिनादेखि अधिकतम १० वर्षभन्दा बढी समयका लागि व्यक्तिगत मुद्दति निक्षेप गर्न सक्नेछन् भने वार्षिक ब्याजदर सुविधा क्रमशः ७.२५ देखि ९.७५ प्रतिशतसम्म प्राप्त गर्न सक्नेछन्। 

मोबाइल बैंकिङमार्फत मुद्दति खाता खोल्ने ग्राहकलाई प्रोत्साहनस्वरूप बैंकले प्रकाशित सम्पूर्ण किसिमका मुद्दति निक्षेपको ब्याजदरमा ०.५ प्रतिशत थप गर्ने व्यवस्था गरेको छ।

‘सोच बदलौँ’ भन्ने नारालाई आत्मसात गर्दै आइरहेको एनआईसी एसियाले ल्याएको यो सुविधाअन्तर्गत स्वचालित पद्धतिअनुरूप ग्राहकले क्षणभरमै मुद्दति खाता खोली बिना कुनै झन्झट उच्चतम ब्याजदरले भरिपूर्ण मुद्दति निक्षेपको फाइदा लिन सक्नेछन्। बैंकले हाल शाखा कार्यालयहरू तथा वेबसाइटमार्फत मुद्दति खाता खोल्ने सुविधा दिँदै आएकोमा एनआईसी एसिया मोबैंकमार्फत थालनी गरिएको यस सुविधाबाट ग्राहकले अझ सहज रुपमा मुद्दति खाता खोल्न सक्नेछन्। 

‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीतिअनुरुप बैंकले आफ्ना विभिन्न सेवा, कारोबार तथा सुविधाहरू प्रविधिमैत्री बनाउने क्रममा ल्याएको यस अनलाइन माध्यमबाट मुद्दती निक्षेपकर्ताहरूले थप सहज रुपमा सुविधा उपभोग गर्न सक्ने बैंकले विश्वास लिएको छ। स्मार्टफोन प्रयोगकर्ताको संख्या उल्लेख्य बृद्धि भएसँगै डिजिटल कारोबार गर्ने महानुभावहरूको संख्यामा समेत तीव्र रुपमा बृद्धि भइरहेको अवस्थाबीच डिजिटल माध्यमबाट भरपर्दो कारोबार गरी नेपाल सरकारको डिजिटल नेपाल फ्रेमवर्क अभियानलाई सहयोग गर्ने र नगद कारोबारको सट्टा डिजिटल कारोबारतिर ग्राहकलाई आकर्षित गरी मुलुकको अर्थतन्त्रलाई क्यासलेस इकोनोमी बनाउन यो योजनाले सहयोग पुर्याउने बैंकले लक्ष्य लिएको छ।