काठमाण्डौ । एनआईसी एशिया क्यापिटल लिमिटेडले प्रविधिको प्रयोगमार्फत तुरुन्त डिम्याट खाता नम्बर उपलब्ध गराउने प्रमुख उद्देश्यका साथ ‘एनआईसी एशिया अनलाइन डिम्याट’ सेवा सञ्चालन गरेको छ।

पछिल्लो समयमा डिम्याट खाता खोल्ने सर्वसाधारणको संख्या बढ्दो क्रममा रहेको र डिम्याट खाता प्राप्त गर्न लामो समय लाग्ने भन्ने आम जनगुनासो बारम्बार आइरहेको हुँदा यस्तो सेवा सञ्चालनमा ल्याइएको क्यापिटलले जनाएको छ। हाल एनआईसी एशिया क्यापिटलले आम जनता माझ डिम्याट खाताको पहुँच बढाउन विभिन्न कार्यक्रम सञ्चालन गरी ‘एक नेपाली, एक डिम्याट’ अभियान सञ्चालन गरिरहेको छ।   

क्यापिटलले यो सेवा सञ्चालन गरेको उपलक्ष्यमा यस माघ मसान्तसम्म अनलाइनमार्फत डिम्याट खाता खोल्ने सर्वसाधारणलाई डिम्याट खाता नि–शुल्क उपलब्ध गराउने व्यवस्था मिलाएको छ। हाललाई यो सेवा काठमाण्डौ उपत्यकाभित्र मात्र उपलब्ध हुने क्यापिटलले जनाएको छ। साथै निकट भविष्यमा काठमाण्डौ उपत्यकाबाहिरबाट समेत अनलाइनमार्फत डिम्याट खाता खोल्न मिल्ने व्यवस्था मिलाइने क्यापिटलले जानकारी दिएका छ। 

अनलाइनमार्फत डिम्याट खाता खोल्नका लागि क्यापिटलको वेबसाइट www.nicasiacapital.com वा सोझै https://onlinedemat.nicasiacapital.com/#/ मा क्लिक गरी रितपूर्वक विवरण भरी उक्त विवरण सक्सेसफुल्ली सबमिसन भएको १ घन्टाभित्र डिम्याट खाता नम्बर उपलब्ध गराइने क्यापिटलले जनाएको छ। यो सुविधा आइतबारदेखि बिहीबारसम्म दिनको ४ बजे र शुक्रबार दिनको १ बजेसम्म उपलब्ध हुने क्यापिटलले जनाएको छ।

एनआईसी एशिया क्यापिटलले हाल म्युचुअल फन्ड, सेयर रजिष्ट्रार, निष्काशन तथा बिक्री प्रबन्ध, सेयर प्रत्याभूति, लगानी व्यवस्थापन, निक्षेप सदस्य, संस्थागत परामर्शलगायतका मर्चेन्ट बैंकिङ तथा इन्भेस्टमेन्ट बैंकिङसम्बन्धी सम्पूर्ण सेवाहरु प्रदान गर्दै आइरहेको छ।