काठमाण्डौ । एनआईसी एसिया बैंक लिमिटेडले २ कम्पनीमा रहेको आफ्नो स्वामित्वका संस्थापक सेयर आज आइतबारबाट लिलामीमा राखेको छ। 

बैंकले नेसनल लाइफ इन्स्योरेन्स र नागरिक लगानी कोषमा रहेका कुल ७५ हजार कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो। जसमा नेसनल लाइफ इन्स्योरेन्सको २५ हजार कित्ता र नागरिक लगानी कोषको ५० हजार कित्ता रहेका छन्।

लिलामीमा राखिएको सेयरमा प्रचलित कानुनबमोजिम योग्य लगानीकर्ताहरुले बोलपत्र पेस गर्न सक्ने धितोपत्र बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलले जनाएको छ। लगानीकर्ताहरुले न्यूनतम कित्ता वा सोभन्दा माथि १० ले भाग जाने गरी अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन्।

लिलामीमा राखिएको नागरिक लगानी कोषको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १ हजार ५०४ रुपैयाँ र नेसनल लाइफ इन्स्योरेन्सको प्रतिकित्ता ४०४ रुपैयाँ तोकिएको छ। यसको मतलब लगानीकर्ताहरुले न्यूनतम मूल्य वा सोभन्दा बढी कित्ताका लागि आवेदन पेस गर्नुपर्नेछ। 

लगानीकर्ताहरुले काठमाण्डौको बबरमहलस्थित एनआईसी एसिया क्यापिटलको कार्यालय वा एनआईसी एसिया बैंकको काठमाण्डौ थापाथलीमा रहेको ट्रेड टावरस्थित कर्पोरेट कार्यालय तथा शाखाहरु विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, धनगढी र वीरेन्द्रचोक सुर्खेतमा आवेदन दिन सक्नेछन्। बोलपत्र पेस गर्ने अन्तिम मिति भने यही चैत ६ गतेसम्म तोकिएको छ।