काठमाण्डौ । एनआईसी एसिया बैंक लिमिटेडले आज मंगलबार नागरिक लगानी कोष र नेसनल लाइफ इन्स्योरेन्समा आफ्नो स्वामित्वमा रहेको १ लाख ११ हजार कित्ता बढी संस्थापक सेयर लिलाममा राखेको छ। 

बैंकले नागरिक लगानी कोषको ५० हजार कित्ता र नेसनल लाइफ इन्स्योरेन्सको ६१ हजार ३६६ कित्ता संस्थापक सेयर लिलाममा राखेको हो। लिलामीमा राखिएको नागरिक लगानी कोषको संस्थापक सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १ हजार ५४० रुपैयाँ र नेसनल लाइफ इन्स्योरेन्सको प्रतिकित्ता ४६६ रुपैयाँ तोकिएको छ। लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। 

लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतममा १० ले भाग जाने गरी सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन्। बोलपत्र धितोपत्र बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलका साथै एनआईसी एसिया बैंकको काठमाण्डौ थापाथलीस्थित ट्रेड टावरमा रहेको कर्पोरेट कार्यालय तथा शाखाहरु विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, धनगढी र वीरेन्द्रनगरबाट बोलपत्र पेस गर्न सक्नेछन्। 

बोलपत्र पेस गर्ने अन्तिम दिन चैत १८ गते बैंकिङ समयसम्म तोकिएको छ।