काठमाण्डौ। एनआईसी एशिया बैंकले विभिन्न विदेशी अनलाइन माध्यमहरूबाट खरिद गरिने सामग्री तथा सेवाको खरिद रकम स्वदेशबाटै भुक्तानी गर्न सकिने सुविधा भएको प्रिपेड डलर कार्ड अनलाइनबाटै आवेदन दिन सकिने सुविधा ल्याएको छ। 

यो सुविधा ग्राहकले जुनसुकै स्थानबाट एवं जुनसुकै समयमा आफ्नो मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गरी बैंकको वेबसाइट तथा मोबाइल बैंकिङ (NIC ASIA MoBank) एपमा रहेको आई–सर्भ प्लेटफर्ममार्फत उपभोग गर्न सक्नेछन्। भिजा नेटवर्कमा आधारित हुने यस कार्डमार्फत ग्राहकले वार्षिक अधिकतम ५०० अमेरिकी डलरबराबरको अनलाइन खरिदमा भारत र भुटान बाहेक विश्वका अन्य मुलुकमा भुक्तानी गर्न सक्नेछन्। 

बैंकका ग्राहकले बैंकको ‘सेल्फ हेल्प बैंकिङ प्लेटफर्म आई–सर्भ’ भित्र ‘कार्ड सर्भिसेज’ मा क्लिक गरी ‘डलर कार्ड रिक्वेस्ट’ मा गई आफ्नो नाम, खाता नम्बर, मोबाइल नम्बर एवं ई–मेल आइडी र प्यान नम्बर उल्लेख गर्नुपर्नेछ। उक्त विवरण भरेपछि ग्राहकको मोबाइल नम्बरमा ‘ओटीपी’ प्राप्त हुनेछ। उक्त ओटीपी राखेर ग्राहकले आफ्नो आवेदन भेरिफिकेसन गर्न सक्ने बैंकले जनाएको छ। 

त्यसपछि ग्राहकले आफूलाई आवश्यक परेको डलर रकम न्यूनतम २५ डलरदेखि अधिकतम ५०० डलरबराबरको रकम कार्डमा लोड गर्न सक्नेछन्। यसरी रकम लोड गरेपछि आफूलाई पायक पर्ने यस बैंकको शाखा छनौट गरी कार्डका लागि आवेदन पूरा हुनेछ। 

यसरी प्राप्त आवेदनका आधारमा बैंकले डलर कार्ड तयार गरी सम्बन्धित ग्राहकलाई एसएमएसमार्फत जानकारी गराउनेछ। उक्त कार्ड ग्राहकले छनौट गरेको शाखा कार्यालयबाट बिना अतिरिक्त कागजी प्रक्रिया लिन सक्ने बैंकले जनाएको छ। यद्यपि कोरोना कहरको यस विषम परिस्थितिमा बैंकले सीमित शाखामार्फत आफ्नो सेवा प्रवाह गरिरहेको अवस्थामा प्रिपेड डलर कार्ड लिन इच्छुक ग्राहकले बैंकको वेबसाइट अथवा सामाजिक सञ्जालमा राखिएको शाखा खुल्नेसम्बन्धी सूचना हेरी वा बैंकमा सम्पर्क गरी आफूले रोजेको शाखा खुल्ने दिनमात्र सरकारले जारी गरेको निषेधाज्ञाकोे पालना गरी बैंकको शाखा कार्यालयबाट उक्त कार्ड लिन पनि बैंकले आग्रह गरेको छ। 

ग्राहकलाई यस कार्ड सुविधा अझ बढी सुलभ बनाउनका लागि बैंकले हाल शुल्क रू. ३५० कायम गरेको छ।

बैंकले हाल देशभर ३५२ शाखा कार्यालय, ४७१ एटीएम, ७५ वटा विस्तारित काउन्टर एवं ८० वटा शाखारहित बैंकिङमार्फत २७ लाख बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ।