काठमाण्डौ । एनआईसी एसिया बैंकले विभिन्न ३ कम्पनीमा रहेको आफ्नो स्वामित्वको संस्थापक सेयर आज असार १५ गतेबाट लिलामीमा राखेको छ। 

बैंकले नागरिक लगानी कोष, नेसनल लाइफ इन्स्योरेन्स र महुली लघुवित्त वित्तीय संस्था लिमिटेडमा रहेको आफ्नो स्वामित्वको सवा ४ लाख ३१ हजार ४३५ कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो। जसमा नागरिक लगानी कोषको ३ लाख ५० हजार ३६९, नेसनल लाइफको २५ हजार ९९६ र महुली लघुवित्तको ५५ हजार ७० कित्ता संस्थापक सेयर छन्। 

लिलामीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता नागरिक लगानी कोषको १ हजार २०० रुपैयाँ, नेसनल लाइफको ४१० रुपैयाँ र महुलीको ७३० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। 

लिलामीमा राखिएका सेयरमध्ये नागरिक लगानी कोष र नेसनल लाइफमा कम्तीमा १०० कित्ता र महुलीमा कम्तीमा ५०० कित्ता तथा अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ। लिलामी सेयरमा विद्यमान संस्थापक वा जोकोही व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन पेस गर्न सक्नेछन्।

महुलीको संस्थापक सेयरका लागि काठमाण्डौको बबरमहलस्थित एनआईसी एसिया क्यापिटलमा बोलपत्र पेस गर्नुपर्नेछ। नागरिक लगानी कोष र नेसनल लाइफका लागि भने एनआईसी एसिया क्यापिटलका साथै काठमाण्डौको थापाथलीस्थित एनआईसी एसिया बैंकको कर्पोरेट कार्यालय र शाखा कार्यालयहरु विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, धनगढी र वीरेन्द्रचोक सुर्खेतमा बोलपत्र पेस गर्न सकिनेछ।

यी ३ कम्पनीको सेयरमा बोलपत्र पेस गर्ने अन्तिम मिति भने असार २१ गते बैंकिङ समयसम्म तोकिएको छ।