काठमाण्डौ । एनआईसी एशिया बैंकले ल्याएको न्यु प्रिमियम सुपर चमत्कारिक बचत खाता योजनाअन्तर्गत दुईजना खातावालालाई जनही रु. १०÷१० लाख गरी कुल रु. २० लाख बीमा रकम भुक्तानी गरेको छ। 

बैंकको काठमाण्डौस्थित कमलादी शाखामा न्यु प्रिमियम सुपर चमत्कारिक बचत खाता ‘डायमण्ड श्रेणी’ को खाता खोलेका टोखा नगरपालिका–५ बसुन्धारानिवासी ५८ वर्षीय अमरनाथ श्रेष्ठलाई घातक रोगको उपचार बीमाबापत रु. १० लाख बीमा रकम भुक्तानी गरिएको छ। श्रेष्ठकी पत्नी रुकमती श्रेष्ठलाई बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष् कुमार राठीले उक्त रकमबराबरको चेक हस्तान्तरण गरेका छन्। 

यसैगरी बैंकको कञ्चनपुर जिल्लास्थित पुनर्बास शाखामा न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता ‘प्राइम श्रेणी’ को खाता खोलेका पुनर्बास–६ निवासी रमेश अर्यालको दुर्घटनापश्चात् मृत्यु भएकोमा उनकी पत्नी विनिता सुवेदीलाई दुर्घटना बीमाबापत रु. १० लाख बीमा रकम भुक्तानी गरिएकोे छ। सुवेदीलाई बैंकको पुनर्बास शाखा प्रमुख एमपौस चौधरीले उक्त रकमबराबरको चेक हस्तान्तरण गरेको छ। 

बैंकको यस सुविधाबाट घरको मुख्य मान्छे नै गुमाएका परिवारजनले ठूलो लाभ प्राप्त गर्ने विश्वास सुवेदीले व्यक्त गरिन्। उनले भनिन्, ‘मेरो परिवारलाई सहयोग गरेबापत यस बैंकका सम्पूर्ण परिवारलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।’ 

दुवै लाभदायीलाई नेको इन्स्योरेन्ससँगको सहकार्यमा बीमा रकम भुक्तानी गरिएको हो। यस बैंकको बीमासहितको निक्षेप योजनाअन्तर्गत हालसम्म देशभरका ५५० जना भन्दा बढी ग्राहकले बीमाबापतको रु. ३ करोड ५८ लाखभन्दा बढी रकम प्राप्त गरिसकेका छन्। 

बैंकले मुलुकभर रहेका ३५६ शाखा कार्यालय, ४७२ एटीएम, ७० वटा विस्तारित काउण्टर एवं ८१ वटा शाखारहित बैंकिङमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ।