काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आयोजनामा सुर्खेत जिल्लाको सिम्ता गाउँपालिकामा वित्तीय साक्षरता तथा बीउबिजन वितरण कार्यक्रम सम्पन्न भएको छ। 

एनआईसी एशिया लघुवित्त सल्लीबाजार उपक्षेत्रीय प्रमुख भगतराज सुवेदी,  उपक्षेत्रीय कर्जा असुली प्रमुख दिलीप पुन र जामुनेबजार शाखा कार्यालयका शाखा प्रमुख वीरबहादुर खत्रीलगायतको उपस्थितिमा शाखा कार्यालयका करिब ६० जना सेवाग्राही सदस्यको सहभागिता थियो। 

कार्यक्रममा शुभ दिपावली, छठ पर्वको शुभकामना आदान प्रदान तथा वित्तीय साक्षरता कार्यक्रमअन्तर्गत बचत, कर्जा, खर्च व्यवस्थापन, उद्यमशीलता, पैसाको महत्व, वित्तीय साक्षरताको महत्व, कर्जा सदुपयोगिता, सफलताको कथा, कर्जा कारोबार गर्दा ध्यान दिनुपर्ने कुराहरु, असल तथा खराब ऋणीको परिचय, भाखा नाघेका कर्जा व्यवस्थापनलगायतका विषयमा छलफल तथा भिडियो सामग्रीसमेत प्रस्तुत गरिएको थियो। 

त्यस्तै कार्यक्रममा उपस्थित सदस्यहरुलाई वैज्ञानिक तरिकाबाट मौसमअनुसारको तरकारी खेती गर्नेबारे स्थानीयस्तरकै कृषि प्रविधिकबाट प्रशिक्षण दिई उपस्थित सम्पूर्ण सदस्यलाई प्याज, मूला तथा तरकारीको बीउबिजनसमेत वितरण गरिएको थियो। 

कार्यक्रमको समापनमा सल्लीबाजार उपक्षेत्रीय प्रमुख भगतराज सुवेदीले कर्जा सदुपयोगिता गर्न साथै उत्पादनशिल क्षेत्रमा लिएको कर्जा उपभोग गर्न सुझाएका थिए। उनले सम्पूर्ण सहभागीलाई बचत गर्ने बानीको विकास, सामूहिक भावनको महत्व, साक्षी र जमानी बिचको फरक बारे जानकारी गराएका थिए। 

यसका साथै सदस्यहरुले लिएको कर्जाको सम्बन्धमा कुरा राख्दै समयमै कर्जाको साँवा तथा ब्याजको भुक्तानीका नगर्दा आई पर्ने विभिन्न कानुनी समस्याका बारेमा बुझाउँदै त्यसो नगर्न सुवेदीले सुझाएका थिए।