काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। 

लघुवित्त क्षेत्रमा शाखा सञ्जाल विस्तारमा पहिलो स्थान ओगटी सकेको यस संस्थाको अधिकांश वित्तीय परिसूचक उत्साहजनक रहेको छ। संस्थाले छोटो समयमै उल्लेखनीय कर्जा विस्तार गर्दै समीक्षा अवधिको १ वर्षको दौरानमा करिब १३ अर्ब ५८ करोडको थप कर्जा लगानी गर्दै करिब १५८.८४ प्रतिशतको वार्षिक विन्दुगत वृद्धि हासिल गरेको छ। संस्थाले दोसो त्रैमाससम्ममा कुल लघुकर्जा रकम रु. २२ अर्ब १३ करोड ४१ लाख पुर्याउन सफल भएको छ। 

त्यस्तै दोस्रो त्रैमासमा संस्थाको स्व–पुँजीमा प्रतिफल (आरओई) वार्षिक २४.२२ प्रतिशत रहेको छ भने वार्षिक रु. ४०.७७  प्रतिसेयर आम्दानी (ईपीएस) आर्जन गर्न सफल रहेको छ। जुन गत वर्षको सोही अवधिको तुलनामा लघुवित्तको ईपीएस ८८.८४ प्रतिशतले बढी हो। 

समीक्षा अवधिमा संस्थाले रु. ३५ करोड ४८ लाख ६५ हजार खुद मुनाफा आर्जन गरेको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२२.०८ प्रतिशतले बढी हो। 

यो त्रैमाससम्ममा संस्थाले बचत परिचालनतर्फ रु. ३ अर्ब २० करोड ८० लाख पुर्याउन सफल भएको छ। यस बिषम परिस्थितिमा समेत संस्थाले लघुकर्जा असुलीमा निकै आक्रमक भई उत्साहजनक नतिजा हासिल गर्न सफल भई निष्क्रिय कर्जालाई ०.९७ प्रतिशतमा सीमित राख्न सफल भएको छ।

समीक्षा अवधिमा लघुवित्तको गत वर्षको सोही अवधिको तुलनामा खुद ब्याज आम्दानी ९९.१२ प्रतिशत, अन्य सञ्चालन आम्दानी ११०.३४ प्रतिशत र सञ्चालन मुनाफा १८३.७३ प्रतिशतले बढेको छ। त्यसैगरी लघुवित्तको चुक्तापुँजी समीक्षा अवधिमा १७.५३ प्रतिशत, जगेडा कोष १७१.१६ प्रतिशत, बैंक तथा वित्तीय संस्थाबाट सापटी १३१.३८ प्रतिशतले बढेको छ। 

नाफा र चुक्तापुँजीसँगै लघुवित्तको प्रतिसेयर आम्दानी पनि बढेको छ।