काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को अर्धवार्षिक समीक्षा बैठक र व्यवस्थापन विकास तालिम सम्पन्न गरेको छ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण चालिसे, कम्पनी सचिव प्रह्लाद चन्द्र निरौला, प्रमुख व्यपार अधिकृत अर्जुन श्रेष्ठ र उपप्रमुख व्यापार अधिकृत राजन मगरको आतिथ्यमा चितवनको सौराहस्थित होटेल ल्याडमार्क सम्पन्न कार्यक्रममा संस्थाका सम्पूर्ण प्रदेश प्रमुख, उपप्रदेश प्रमुख, असुली अधिकृत, उपप्रदेश असुली प्रमुखलगायत सम्पूर्ण विभागीय प्रमुखहरुको उपस्थिति थियो।

दुईदिने कार्यक्रममा हालसम्मको लक्ष्यअनुसारको प्रगति, आगामी दिनहरुका लागि रणनीतिक योजनाहरु, जोखिम व्यवस्थापनका विविध पक्षहरु, भाखा नाघेका कर्जा व्यवस्थापन, गुण्स्तरीय कर्जा लगानी, बचत वृद्धि, हालको वित्तीय बजारमा रहेको तरलताको समस्याहरुलगायतका विषयमा छलफल साथै प्रशिक्षण गरिएको थियो। 

कार्यक्रममा नापी विभागका सञ्जय मान्नधरले नक्सा हेर्ने तरिका, कित्ता पहिचान, जग्गा नापने तरिका, डिजिटल माध्यमबाट जग्गाको पहिचान र इन्जिनियर रुपेश भट्टले धितो मूल्यांकन, धितो कर्जा प्रबाह गर्दा ध्यान दिनुपर्ने कुराहरुका बारेमा सहजीकरण गरेका थिए। 

संस्थाले २०७८ पुस मसान्तको भाघा नाघेको कर्जा उत्कृष्ट व्यवस्थापन गर्ने प्रदेश प्रमुख, उपप्रदेश प्रमुख, असुली अधिकृत, उपप्रदेश असुली प्रमुख, कर्पोरेट कार्यालयका निरीक्षण अधिकारीलगायतलाई हासिल उपलब्धिका आधारमा सम्मानितसमेत गरेको थियो। 

कार्यक्रमको समापनमा संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण चालिसेले अहिलेको वित्तीय बजारको अवस्थालाई मध्यनजर गरी उच्च प्रतिफलसहित गुणस्तरीय सेवा प्रवाह गर्न कर्मचारीहरुलाई निर्देशन दिएका थिए । हालसम्म हासिल उपलब्धिका लागि सम्पूर्ण कर्मचारीलाई धन्यवाद दिँदै उनले समाजमा आर्थिक तथा सामाजिक क्रियाकलापबाटनै सकारात्मक परिवर्तन गर्ने कामको जिम्मा सम्पूर्ण कर्मचारीको रहेको बताए। उनले कर्मचारी परिवर्तनको राजदूत भएकाले उच्च मनोबलसहित कार्य गर्न सुझाव पनि दिए।