काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न मितिमा गरी तीनदिने ‘एनआईसी एशिया डीएनए’ र कार्य सञ्चालन जोखिम व्यवस्थापन तालिम सम्पन्न गरेको छ।

सल्लीबजार र चपरगौडी उपप्रदेश कार्यालयअन्र्तगतका सम्पूर्ण कर्मचारीको उपस्थितिमा संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण चालिसे, प्रमुख व्यापार तथा कर्जा असुली अधिकृत अर्जुन श्रेष्ठ र कार्य सञ्चालन प्रमुख अजित मोहन रजिंतले प्रशिक्षण दिएका थिए। 

उत्कृष्टताका लागि दृढ संकल्प भन्ने मूल नारासहित सञ्चालन भएको तीनदिने तालिममा हालसम्मको लक्ष्यअनुसारको प्रगति, आगामी दिनका लागि रणनीतिक योजना, जोखिम व्यवस्थापनका विविध पक्ष, भाखा नाघेका कर्जा व्यवस्थापन, गुण्स्तरीय कर्जा लगानी, बचत वृद्धि, हालको वित्तीय बजारमा रहेको तरलताको समस्या, एनआईसी एशिया डीएनएलगायतका विषयमा छलफल साथै प्रशिक्षण गरिएको थियो। 

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत लक्ष्मण चालिसेले अहिलेको वित्तीय बजारको अवस्थालाई मध्य नजर गरी उच्च प्रतिफलसहित गुणस्तरीय सेवा प्रवाह गर्न कर्मचारीलाई निर्देशन दिएका थिए। प्रशिक्षणकै क्रममा प्रमुख व्यापार तथा कर्जा असुली अधिकृत अर्जुन श्रेष्ठले कर्मचारीलाई अप्ठ्यारो अवस्थामा उत्कृष्ट नतिजा ल्याउने गरी काम गर्ने योजना बनाउन सहज बनाउनै एनआईसी एशिया डीनए भएको बताएका थिए।