काठमाण्डौ । एनआईसी एशिया क्यापिटल लिमिटेडको छैटौँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ। 

काठमाण्डौको थापाथलीस्थित क्यापिटलको रजिस्टर्ड कार्यालयमा भएको सभाले सामान्य प्रस्तावअन्तर्गत आर्थिक वर्ष २०७८–७९ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०७९ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायत वार्षिक वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ। यसका साथै सभाले सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम चुक्तापुँजीको ५५ प्रतिशत (करसहित) का दरले हुन आउने रु. ११ करोड नगद लाभांश वितरण गर्ने प्रस्तावसमेत पारित गरेको छ। 

सभामा क्यापिटलका अध्यक्ष कपिल ढकालले क्यापिटलले आव २०७८–७९ मा रु. १२ करोड ८ लाख खुद मुनाफा आर्जन गरी प्रतिसेयर आम्दानी रु. ६०.३९ कायम गरी सञ्चालनमा रहेका मर्चेण्ट बैंकहरुमध्ये खुद मुनाफाका आधारमा पहिलो स्थान हासिल गर्न सफल भएको जानकारी गराए। उनले क्यापिटल स्थापना भएको ५ वर्ष ४ महिनाको छोटो अवधिमै हाल सञ्चालनमा रहेका ३० वटा मर्चेन्ट बैंकहरुमध्ये निक्षेप सदस्य सेवाअन्तर्गत ६ लाख डिम्याट खाता खोली पहिलो स्थान, म्युचुअल फन्ड सेवाअन्तर्गत एउटा खुलामुखी योजनासहित ५ वटा योजना सञ्चालन गरी म्युचुअल फन्डको संख्या तथा व्यवस्थापन गरेको रकमका आधारमा पहिलो स्थान र लगानी व्यवस्थापन सेवाअन्तर्गत ५७३ जना ग्राहकबाट रु. १ अर्ब ६७ करोडभन्दा बढी रकम संकलन गरी तेस्रो स्थान हासिल गर्न सफल भएको बताए। 

क्यापिटलले सञ्चालनमा आएको ५ वर्ष ४ महिनाको अवधिमै आफ्नो सेयरधनीलाई १४१ प्रतिशतभन्दा बढी रिटर्न वितरण गर्न सफल भएकोसमेत ढकालले जानकारी दिए। 

अत्याधुनिक प्रणालीको व्यवसायिक उपभोग गर्ने रणनीति अनुरुप संस्थाले डिम्याट खाता र मेरो सेयर खाता खोल्न, नविकरण गर्ने, खुलामुखी योजनाको इकाईको खरिद पूनखरिद तथा लगानी व्यवस्थापन सेवा समेत अनलाइनमार्फत गर्न सकिने व्यवस्था मिलाएको छ। 

क्यापिटलले प्रदान गर्ने सेवाहरुलाई छिटो छरितो बनाई ग्राहकको आवश्यकता र चाहनाअनुसार सेवा उपलब्ध गराउने मुख्य उद्देश्यका साथ काठमाण्डौ उपत्यकाभित्र कीर्तिपुर, चाबहिल र अनामनगरमा शाखा कार्यालय खोली क्यापिटलको सेवा विस्तार गरेको छ। 

यसका साथै निकट भविष्यमा काठमाण्डौ उपत्यका बाहिरबाट समेत शाखा कार्यालय खोली क्यापिटलको सेवा विस्तार गर्ने रणनीति लिएको छ। क्यापिटलले हाल सेयर रजिस्ट्रार, निष्कासन तथा बिक्री प्रबन्ध, सेयर प्रत्याभूति, लगानी व्यवस्थापन, निक्षेप सदस्य, संस्थागत परामर्शलगायतका मर्चेन्ट बैंकिङसम्बन्धी सम्पूर्ण सेवाहरु प्रदान गर्दै आइरहेको छ। 

यसका साथै एनआईसी एशिया बैंक म्युचुअल फन्डअन्तर्गतको पहिलो खुलामुखी योजना एन आईसी एशिया डाइनामिक डेप्ट फन्डमा सिस्टमेटिक इन्भेस्टमेन्ट प्लान र सिस्टमेटिक विथड्रल प्लान सञ्चालन गर्न लागेको छ। 

क्यापिटलले नेपाल धितोपत्र बोर्डबाट विशिष्टीकृत लगानी कोष सञ्चालन गर्नका लागि आसयपत्र प्राप्त गरिसकेको र यथाशीघ्र विशिष्टीकृत लागनी कोषअन्तर्गत प्राइभेट इक्विट/भेन्चर क्यापिटल सेवा प्रदान गर्ने योजना रहेको छ।