काठमाण्डौ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले आज म्याग्दी जिल्लास्थित एनआईसी एसिया बैंकको शाखा कार्यालयका शाखा प्रमुख विनोद सापकोटा र कार्यकारी सहायक प्रकाश आलेमाथि भएको सांघातिक आक्रमणको भर्त्सना गरेको छ। 

सिबिफिनले एक विज्ञप्ति जारी गर्दै एनआईसी एसिया बैंकका कर्मचारीहरुमाथि नियोजित रुपमा सांघातिक आक्रमण गरी गम्भीर घाइते बनाएको भन्दै उक्त घटनाको भर्त्सना गरेको हो। सिबिफिनले बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालय र कर्मचारीहरुमाथि दुव्र्यवहार गर्ने, लुटपाट गर्ने, कार्यालय बन्द गर्न धम्की दिनेजस्ता अराजक गतिविधि र आक्रमण गर्नेजस्ता कार्यहरु दिनानुदिन बढिरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको पनि जनाएको छ। 

निहीत स्वार्थ पूर्तिका लागि बैंकिङजस्तो संवेदनशील एवं अत्यावश्यक क्षेत्रमाथिको ज्यादती र निमुखा कर्मचारीको ज्यानै लिने उद्देश्यसहित घटाइएका यस्ता बर्बर र आततायी घटनामा संलग्न दोषीहरुलाई हदैसम्मको कारबाही गर्नसमेत सिबिफिनले नेपाल सरकार, गृह मन्त्रालय र मातहतका सुरक्षा निकायसमक्ष माग गरेको छ। ‘जाजरकोट जिल्लामा कर्मचारीमाथि गरिएको दुव्र्यवहार र मकवानपुर जिल्लास्थित कुमारी बैंकको शाखा कार्यालयमा गरिएको धरपकड र ज्यादतीको शृंखला आज ज्यान लिने गरी घटाइएको छ’, विज्ञप्तिमा भनिएको छ।

यसअघि वार्ता तथा संवादका माध्यमबाट कुनै पनि समस्याको उचित समाधान निकाल्नका लागि आवश्यक पहल गर्न र बैंकिङ सेवालाई भयरहित वातावरणमा सञ्चालनका लागि आवश्यक शान्ति–सुरक्षाको व्यवस्था मिलाउन पनि सिबिफिनले सम्बन्धित निकायमा अपिल गरेको विज्ञप्तिमा अवगत गराइएको छ। ‘बारम्बार अपिल गरिरहेकै बखतमा बैंकका कर्मचारीमाथि गरिएका यस्ता निर्मम एवं हिंस्रक घटनाले नेपाल सरकारको शान्तिसुरक्षाको व्यवस्थाको खिल्ली उडाएको र समग्र अर्थव्यवस्थामाथि नै प्रहार भएको अनुभूत भएको छ’, विज्ञप्तिमा भनिएको छ।

आन्तरिक तथा बाह्य कारणबाट देशको अर्थतन्त्र नै अत्यन्तै जोखिमपूर्ण अवस्थाबाट गुज्रिरहेको वर्तमान अवस्थालाई समेत मनन गरी बैंकिङ सेवालाई निर्वाध रुपमा सञ्चालन हुने वातावरण सिर्जना गर्न र आवश्यक शान्तिसुरक्षाको व्यवस्था मिलाउन सिबिफिनले सम्बन्धित निकायसँग माग गरेको छ।