काठमाण्डौ । लाखौँ ग्राहकमाझ गतिशील बैंकिङको अभ्यास गर्दै आइरहेको एनआईसी एशिया बैंकले Societe Maghrebine de Monetique (S2M) System सँगको सहकार्यमा आफ्नै पेमेन्ट स्विच (Electronic Fund Transfer (EFT) Payment Switch)  सञ्चालनमा ल्याएको छ। 

बैंकले हालै मात्र उक्त पूर्वाधारको सफलतापूर्वक कार्यान्वयन गरी बैंकको भुक्तानी प्रणालीमा आबद्ध गरेको छ। डिजिटल कारोबारमा आमग्राहकको उल्लेख्य उपस्थिति भइरहेको तथा उक्त संख्यामा उत्साहजनक वृद्धि हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै बैंकले कार्डबाट हुने कारोबारलाई थप विश्वसनीय एवं सहज बनाउनका निमित्त आफ्नै पूर्वाधार खडा गरेको हो। 

यस स्विचको मद्दतले यस बैंकका पीओएस तथा एटीएम टर्मिनलहरुमार्फत गरिने कारोबारलाई अन्तरआबद्धता स्थापित गरी कारोबारलाई सुरक्षित र सरलसमेत बनाउन ठोस टेवा मिल्नेछ। ‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीतिअनुरुप आधुनिक प्रविधिहरु आत्मसात गर्दै बैंकले सञ्चालनमा ल्याएको यस स्वीचको उच्चतम सदुपयोग गरी आमग्राहकमाझ नवीनतम प्रविधिमा आधारित विभिन्न डिजिटल प्रोडक्ट तथा सेवाहरु पुर्याउन मद्दत पुग्ने हुँदा वहाँहरुको दैनिक बैंकिङ अनुभवलाई नै अझ परिस्कृत बनाउनका लागि उक्त स्विच कोशेढुंगा सावित हुने बैंकले विश्वास लिएको छ।

एनआईसी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ सञ्जाल भएका बैंकहरुमध्येको बैंक हो। बैंकले मुलुकभर ३५९ शाखा कार्यालय, ४७३ एटीएम, १०७ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित शाखा सञ्जाल विस्तार गरेको छ। देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रुपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन बैंक सफल भएको छ। 

देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पुर्याउन उत्तरदायी बैंकिङको अभ्यास गर्दै स्थापनाकालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल रु. १९ अर्ब ९२ करोडभन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्षमा रु. ३ अर्ब ४१ करोडभन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाई समग्र वाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी कर दाखिला गर्ने बैंकको रुपमा स्थापित हुन बैंक सफल भएको छ। जुन समग्र देशको अन्य कम्पनीहरुको तुलनामा छैटौँ ठूलो योगदान रहेको कम्पनीहरुमध्येको हो। 

वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यानजस्ता बैंक तथा वित्तीय संस्थाको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरुमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्था नपुगेको ३४ भन्दा बढी स्थानीय निकायमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ। देशको कुल जनसंख्याको ८०% भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२% शाखा कार्यालयहरु स्थापना गरेको छ।